बलेकै हो त गणतन्त्रको दियो ?– ई. महेन्द्र पराजुली

बलेकै हो त गणतन्त्रको दियो ?– ई. महेन्द्र पराजुली


bicharविश्वको इतिहासमा अपवादको रूपमा हुने दोस्रो संविधानसभा नेपालको हकमा सफल भएको छ । नेपालको इतिहासमा २०७२ साल भदौ ३० गते दूरगामी महत्वको दिन भएको छ । एकपल्ट संविधानसभा असफल भएपछि दोस्रो संविधानसभाले संविधान बनाएर जारी गरेको उदाहरण संसारमा विरलै पाइन्छ । पहिलो संविधानसभा हठात् विगठित भई लगातार आठ वर्षको आरोह–अवरोह तथा उतार–चढावपछि नेपालको तरल राजनीतिसँगै सङ्क्रमणकालको अन्त्य भएको छ । मुलुक गम्भीर दुर्घटना हुनबाट बचेको छ । संविधानसभाबाट संविधान बनाउने ६५ वर्षदेखिको जनताको भावना, चाहना र पुरानो सपना पूरा भएको छ । संविधान निर्माणसँगै जनादेशको पनि सम्मान भएको छ । विश्वका लागि उदाहरण र अनुकरणीय बनेको छ नेपालको दोस्रो संविधानसभा । आफ्ना जनप्रतिनिधिमार्फत नेपाली जनता आफैँले लेखेको संविधान घोषणा भई जारी हुनु ऐतिहासिक उपलब्धि हो । दोस्रो संविधानसभाले आफ्नो अभिभारा पूरा गरेको छ । नेपाल एउटा युगबाट अर्को युग र नयाँ चरणमा प्रवेश गरेको छ । विश्वको लागि नमुना बनेको विस्तृत शान्तिसम्झौताले पूर्णता पाएको छ । राजनीतिक मुद्दा समाप्त भएको छ । देशको अबको एजेन्डा भनेको आर्थिक मुद्दा हुनुपर्दछ ।
नेपालको संवैधानिक इतिहासमा ०४७ सालमा जारी भएको नेपालको संविधान २०४७ लाई विश्वकै उत्कृष्ट संविधान मानिन्थ्यो । नेपाली जनताको रगत–पसिनाले सिञ्चित ०७२ साल असोज ३ गते घोषणा भई जारी भएको नेपालको संविधान २०७२ को जग भनेको ०४७ को संविधान नै हो । संविधान भनेको साध्य होइन साधन मात्र हो । संविधान जड होइन, गतिशील दस्ताबेज हो । संविधान सम्झौता हो । समयको अन्तरालसँगै आवश्यकताअनुसार संविधानमा संशोधन भई नै रहन्छ । देशको इतिहासमा एक युगमा एकपल्ट आउने ऐतिहासिक महत्वको दिन बनेको छ ०७२ साल असोज ३ गते । ०७२ साल असोज ३ गते घोषणा भई जारी भएको नेपालको संविधान २०७२ ले ०६५ साल जेठ १५ गते देखि कार्यान्वयनमा आएको गणतन्त्रलाई संस्थागत गरेको छ, परिवर्तनलाई आत्मसात् गरेको छ । हाम्रो धार्मिक मान्यताअनुसार सोम खेती बुध घर भन्ने चलन छ । बुधबार देशको संविधानको संशोधित विधेयक पारित भएको छ संविधानसभाबाट । यसलाई शुभसङ्केतको रूपमा लिन सकिन्छ ।
नेपालको संविधान ०७२ ले जनताको सर्वोच्चता र सम्प्रभुता स्थापित गरेको छ । गणतन्त्र, सङ्घीयता, समावेशी ÷समानुपातिक सिद्धान्त, आमा र बाबु दुवैको नामबाट नागरिकता, स्वतन्त्र न्यायपालिका, विभिन्न संवैधानिक आयोगहरूको व्यवस्था, नेपालको संविधान २०७२ का प्रमुख उपलब्धि हुन् । संविधानले मुलुकको शान्ति र समृद्धिको आधारशिला खडा गरेको छ । नेपालको संविधान २०७२ अग्रगामी हुँदाहुँदै पनि यसमा केही कमी–कमजोरी पक्कै पनि छन् । विश्वको एकमात्र हिन्दूराज्यको पहिचानलाई नेपालको संविधान २०७२ ले मेटाइदिएको छ । धर्मनिरपेक्षताको सट्टा धार्मिक स्वतन्त्रता हुनुपर्दछ भन्ने ८० प्रतिशतभन्दा माथिका हिन्दूहरूको संवेदनामाथि कुठाराघात गरेको छ । संविधानसभाबाट कतिका माग सम्बोधन भए वा भएनन् भन्ने तर्क तथा विश्लेषण आ–आफ्नै होलान्, बहस हुँदै जाला । संविधानको घोषणा सँगसँगै संविधानका धाराहरू कार्यान्वयनमा आइसकेको हुँदा सम्बोधन नभएका आफ्ना मुद्दाहरूलाई थाती राख्दै नेपालको संविधान २०७२ लाई सम्पूर्ण नेपालीले अपनत्व र स्वामित्व ग्रहण गर्नुपर्दछ । कुनै पनि किसिमको तुष राख्नुहुँदैन ।
गाईलाई नेपालको संविधान २०७२ ले राष्ट्रिय जनावर मानेको छ । धर्मनिरपेक्षता भन्नाले ‘सनातनदेखि चलिआएको धर्म, संकृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्दछ’ भनी धर्मनिरपेक्षताको व्याख्या तथा राज्यबाट सनातन धर्मको संरक्षण गर्ने त्यस्तै गरेर धर्मपरिवर्तन गराउने कार्यलाई गैरकानुनी मानिने उल्लेख छ संविधानमा । नहुनु मामाभन्दा कानो मामा निको भनेजस्तै हिन्दूहरूले यो संवैधानिक व्यवस्थालाई उपलब्धिको रूपमा लिनुपर्दछ । राष्ट्रिय महिला आयोग र दलित आयोगलाई संवैधानिक मान्यतासहित थारू, मुस्लिम, मधेसी तथा आदिवासी जनजातिको माग पनि सम्बोधन भएको छ मधेसी, थारू, आदिवासी जनजाति र मुस्लिम आयोगहरूको संवैधानिक व्यवस्थाबाट ।
नेपालको संविधान २०७२ घोषणा भएको दिन असोज ३ गते कहीँ ब्ल्याकआउट हुनु, केहीले कालो दिनका रूपमा लिनु, मुखमा कालो पट्टी बाँधेर कालो झन्डासहित मौन जुलुस प्रदर्शन गर्नु, नयाँ संविधान जलाउने तथा च्यात्ने कार्य गर्नु, संविधानलाई राष्ट्रघाती र मुलुक विभाजनको दस्ताबेज हो भन्नु तराई–मधेस लोकतान्त्रिक पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल, तराई–मधेस सद्भावना पार्टी, राजेन्द्र महतोको पार्टी, मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चा, त्यस्तै गरेर अन्य दलहरूका यस्ता भनाइ र गतिविधि कतिको उचित हो ? इतिहासले लेखाजोखा गर्नेछ । नेपालको संविधान २०७२ को संशोधित विधेयकमाथि संविधानसभामा मतदानको क्रममा राप्रपा नेपालले संशोधित विधेयकको विपक्षमा मतदान गरेर संविधानसभाप्रति सम्मान प्रकट गर्दै संविधानको अपनत्व ग्रहण गरी संविधानसभामा आफ्नो मत दर्ज गरायो । प्रजातान्त्रिक मूल्य, मान्यता र आदर्शप्रति प्रतिबद्ध रहँदै नेपालको संविधान २०७२ लाई आलोचनात्मक समर्थनसमेत ग-यो राजावादी पार्टी राप्रपा नेपालले समेत । मधेसकेन्द्रित केही दल त विखण्डनकारी र तराई–मधेसको नाममा कलङ्क नै भए–भए, संविधानसभा बहिष्कार गरेर विजयकुमार गच्छदारले गम्भीर गल्ती गरे । संविधानसभामा फर्कन तयार भएका गच्छदारलाई तगारो लगाई बाटो छेक्ने काम गरेर नेकपा एमालेका अध्यक्ष क. ओली र नेकाका वरिष्ठ नेता देउवाले झन् ठूलो गल्ती गरे । ढिलो–चाँढो गच्छदार संविधान सभामा फर्कनुपर्दछ । गच्छदारसहित अन्य आन्दोलनरत पक्ष र दलहरू पनि देशको मूल प्रवाहमा आउनुपर्दछ ।
ऐतिहासिक अवसरलाई राष्ट्रिय उत्सवको रूपमा मनाउँदै देशभरि नै हर्षोल्लास र खुसीको लहर छाएको छ । नेपालको संविधान २०७२ घोषणा भएसँगै अधिराज्यभरि दीपावली हुँदै गर्दा देशकै केही भागमा ब्ल्याकआउट भएको छ । संविधान च्यातिएको छ, जलाइएको छ । अप्रिय घटनासमेत घटेका छन् । सङ्घीय गणतन्त्रको दियो त बल्यो, तर दियोमा तेल अपुग भयो कि ? हाम्रो धार्मिक मान्यताअनुसार दियोमा बिजोडी बाती राखेर दीप जलाउनु अपसगुन मानिन्छ । जोडी बाती राखेर दीप प्रज्वलन गर्नु शुभ मानिन्छ । नेपाली काङ्ग्रेस, नेकपा एमाले र एनेकपा माओवादीले तीनवटा बाती राखेर दीप जलाउन लागेकै बेला हिन्दूधर्मको हिमायती राप्रपा नेपालले एउटा बाती थपेर दीप प्रज्वलन गर्न सहयोगी भूमिका निभायो । सङ्घीयताका सात ढोका खोलेर प्रमुख दलहरू नेपाली काङ्ग्रेस, नेकपा एमाले र एनेकपा माओवादीले देशलाई निकास दिए । वार्ताको एउटा ढोका पनि खुला राख्दै बिनाआग्रह पूर्वाग्रह तीन पार्टीले असन्तुष्ट आन्दोलनरत पक्षहरूसँग सहमतिको अरू थप प्रयास गर्नुपर्दछ । जंघार त-यो लौरो बिर्सियो भन्ने उखान चरितार्थ गर्नुहँुदैन काङ्ग्रेस, एमाले र एमाओवादीले । त्यस्तै गरेर आन्दोलनरत पक्षले पनि आँखीझ्यालबाट मात्र नचिहाएर धम्कीको भाषा मात्र नबोली वार्ताको ढोकामा बिनासर्त प्रवेश गर्नुपर्दछ । द्वन्द्व, अशान्ति, हत्या–हिंसाको बाटो समस्या समाधानको बाटो होइन । अशान्ति, हत्या, हिंसाको बाटो चोर बाटो हो भने वार्ताको बाटो मूल बाटो हो । राष्ट्र र राष्ट्रियता, देशको स्वतन्त्रता अनि भौगोलिक अखण्डतामाथि कुनै शक्तिसँग पनि सम्झौता हुन सक्तैन ।
संविधानसभाबाट संविधान निर्माणको क्रममा अन्त्यतिर आएर नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा एमाओवादी तीन ठूला दलबीच अभूतपूर्व एकता देखियो । पार्टीगत स्वार्थदेखि माथि उठेर तीन ठूला दलले आफ्ना पार्टीका एजेन्डा थाती राख्दै एकता, सहकार्य र सम्झौताको बाटो रोजे । नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओली र नेकपा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल राजनेताको कसीमा खरो उत्रिए । सफल नेतृत्वदायी भूमिकामा रहे पार्टीका उपल्लो तहका अन्य नेता । सुशील, केपी र प्रचण्डले लिडरसिपको स्टेटमेनसिप प्रदर्शन गरी आफ्नो कद उचो बनाए । पार्टी तथा सरकार सञ्चालनमा असफल भए पनि कद त सुशील कोइरालाको सार्क शिखर सम्मेलन, प्राकृतिक प्रकोपको व्यवस्थापन र दातृ निकायको सम्मेलनले बढाएकै हो । ०६२÷६३ को जनआन्दोलनको बेला सक्रिय भूमिकामा नरहेका ओली नेकपा एमालेको अध्यक्ष भएपछि उनको कद बढेकै हो । बृहत् शान्तिसम्झौतापछि क. प्रचण्डको कद ह्वात्तै बढेकै हो । प्रधानमन्त्रीको पदमा आसिन भएपछि प्रचण्डको कद ओरालो लाग्न केही बेरै लागेन । नेतात्रय सुशील, केपी र प्रचण्डले नेपाललाई सङ्घीय गणतान्त्रिक नेपालको संविधान दिएर नेपाली जनताको मन जित्दै आफ्नो कद उचो बढाएको देखिए तापनि उनीहरूले आगामी दिनमा खेल्ने भूमिकाले उनीहरूको कद र योगदानको निर्धारण गर्ने तथा इतिहासले मूल्याङ्कन गर्नेछ । सबै बाधा, अड्चन चिर्दै, छिचोल्दै संविधानसभाबाट नेपालको संविधान २०७२ निर्माण गर्न सक्षम ठहरिए सभासद्हरू ।
विद्रोही नेता बृहत् शान्तिसम्झौतामा हस्ताक्षरकर्तामध्येका एक हस्ताक्षरकर्ता कहिले नायक त कहिले खलनायकको भूमिकामा रहेका क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ संविधान निर्माण गर्ने हकमा इमानदार ठहरिए, उनको भूमिका प्रशंसनीय रह्यो । ०६३ साल असार २ गते विद्रोही नेताको रूपमा प्रधानमन्त्रीनिवास बालुवाटार छिरेका प्रचण्ड कहिले प्रधानमन्त्रीको रूपमा त कहिले पार्टी अध्यक्षको रूपमा समेत बालुवाटार र संविधानसभा भवन बानेश्वरमा छिर्दै निस्कँदै, अनन्तः ०७२ साल भदौ ३० गते संविधानसभा भवन बानेश्वरबाट संविधान निर्माणसँगै बाहिर निस्किएर आफू तथा आफ्नो पार्टीको साख जोगाउँदै सुरक्षित रूपमा अवतरित भए । केही हदसम्म भए पनि उनी तथा उनको पार्टीलाई लागेको कालो दाग मेटाए । पहिलो संविधानसभा चलाउन असफल भई आलोचित बनेका सभामुख सुवासचन्द्र नेम्वाङ दोस्रो संविधानसभा सञ्चालनमा काविल देखिए । हरेक जाति र समुदायले लगाउने सबै पोसाक राष्ट्रिय पोसाक भएको संसद्मा रुलिङ गरेका सभामुख नेम्वाङले संविधानसभा भवन नयाँ बानेश्वरमा राष्ट्रिय विशेष समारोहबीच नेपालको संविधान २०७२ घोषणा हुने औपचारिक समारोहमा राष्ट्रिय पोसाक अथवा जातजातिका भेषभूषा झल्कने पोसाकमा उपस्थित हुन सभासद्हरूलाई रुलिङ गरेर पहिला आफूले रुलिङ गरी गरेको गल्ती सच्याए । उपसभामुख ओेनसरी घर्ती ओहदाअनुसारको भूमिका निभाई महिला पनि सक्षम छन् भन्ने सन्देशसहित उदाहरण प्रस्तुत गर्न सफल भइन् । संविधानसभाको बैठकमा लामो समयसम्म स्वास्थ्यको कारण अनुपस्थित हुने सभासद्को पङ्क्तिको अग्रस्थानमा नाम लेखाउने नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओली भएको सभामुखले संविधानसभाको बैठकमा ओलीको नाम वाचन गरे । अहिले नै केपीको यस्तो अवस्था छ भने देशको प्रधानमन्त्रीको वागडोर सम्हालेपछि उनी मात्रै थप अरू बिरामी हुने हुन् कि उनीसँगै देशले पनि बिरामीको नियति भोग्नुपर्ने हो ? त्योचाहिँ पर्खनैपर्ने हुन्छ । शुभकामना छ केपीले चाँडै स्वास्थ्यलाभ गरून् । सिंहदरबारमा फोटो झुन्ड्याउने मात्र होइन, सफल प्रधानमन्त्री बनून् ।