यहुदीहरूले आफ्नो समुदाय उपेक्षित र अपमानित हुनुको पीडा तीन सय वर्षसम्म जीवित राखिरहेर अन्त्यमा एउटा स्वतन्त्र यहुदी राष्ट्रको निर्माण गर्न सफल भए । भारतका मुस्लिम शासकले हिन्दू समुदायमाथि गरेका अन्याय र अत्याचारको जातीय पीडा र आक्रोश पाँच सय वर्ष जीवितै रहेर अन्त्यमा बाबरी मस्जितमाथि पोखियो । खुसी, हर्ष र सन्तोषको आयु क्षणिक र अल्पकालीन भए पनि मान्छेले पाएका पीडाको आयु युगान्तकारी हुन्छ । जातीय पीडा र अपमानको आक्रोश भनेको पैतृक सम्पत्तिको रूपमा एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै जाने अनुभूति हो । पाकिस्तानका भूपू प्रधानमन्त्री जुल्फिकर अली भुट्टोले एक हजार वर्षसम्म पाकिस्तान घाँस मात्रै खाएर पनि भारतसँग लडिरहनेछ भनेका थिए, उनको यो आक्रोश र पीडा दोस्रो–तेस्रो पुस्तालाई हस्तान्तरण भएको छ कि छैन समयले नै पुष्टयाइँ गर्न सक्ला ।
अपमान, आक्रोश र पीडाको ऐतिहासिक प्रसङ्ग उठाउनुको उद्देश्य केवल अहिले अपमानबोधबाट आक्रोशित बनिरहेका हिन्दूराष्ट्र र राजतन्त्रका हिमायती जनताको आत्मिक पीडा र असन्तुष्टि कति महिना वा वर्षसम्म कायम रहन सक्ला ? भन्ने प्रश्न उठाइदिनु मात्र हो । किनकि राजतन्त्रवादी र हिन्दूराष्ट्रवादीहरूको सफलता र असफलता उनीहरूको आक्रोश र असन्तुष्टि कहिलेसम्म कायम रहन सक्दछ भन्ने प्रश्नमाथि नै निर्भर हुनेछ । पछि चाहे जेसुकै भए पनि अहिले नयाँ संविधान घोषणा गरिएको रातमा बालिने बत्तीले भने हिन्दूहरूको आत्मालाई जलाइदिने कुरा निश्चित छ । बहुसङ्ख्यक हिन्दूलाई चुनौती दिएर उपहासको रूपमा बालिने बत्तीहरूको सुरक्षा पनि सम्भवतः प्रहरी र सेनाले नै गर्नुपर्नेछ । अपमान, उपेक्षा र चुनौती भनेको कुनै पनि स्वाभिमानी नागरिक र समुदायका निम्ति अभिशाप नभएर झन् सशक्त र उदीयमान बनाउने बरदान हो ।
नेपाली हिन्दूहरू र राजतन्त्रवादीहरू यदि साँच्ची नै स्वाभिमानी छन् भने संविधान निर्माताहरूले गरेको अपमान र उपेक्षा नै उनीहरूका निम्त अक्षय बरदान सावित हुनेछ । किनकि हिन्दूहरूको सहिष्णुता र असङ्गठित अवस्थालाई हेपेर लाद्न खोजिएको धर्मनिरपेक्षताले नै राष्ट्रव्यापी सञ्जाल भएको सशक्त हिन्दू सङ्गठन निर्माण गर्नमा सहयोग पु-याउनेछ । जुत्ताले कुल्चेको धुलो पनि माथि उठ्न बाध्य हुन्छ तल जाने ठाउँ नपाएर । विगतमा हिन्दूराष्ट्र रहँदाको अवस्थामा पनि सर्वधर्म सभभाव र समआदरको व्यवहार देखाइसकेका हिन्दूहरूका निम्ति अब यो धरातलभन्दा तल झर्नसक्ने गुञ्जाइस नै छैन । आफ्नो अस्तित्व स्थापित गर्नका निम्ति हिन्दूहरूले धर्म निरपेक्षतावादी नेता र पार्टीहरूमाथि हिंसात्मक दुव्र्यवहार नै गर्नुपर्ने आवश्यकता छैन । असी प्रतिशत हिन्दूहरूले धर्मनिरपेक्षतावादीहरूको सार्वजनिक सभा र समारोहलाई बहिष्कार मात्र गरिदिँदा पनि पर्याप्त हुन्छ । आन्दोलन गर्नेहरूमाथि प्रहरीको बल प्रयोग गर्न सजिलो भएझैँ बहिष्कारवादीहरूले राज्यले अभियोग लगाउन सक्नेछैन ।
सल्लाघारीभित्र अरू धेरै किसिमका बिरुवा भए पनि विविध वनस्पतिका आधारमा त्यो ठाउँको नामाकरण गर्न सजिलो नभएर नै बहुसङ्ख्यक सल्लाका आधारमा सल्लेरी भन्ने गरिएको हुन्छ । धेरै सल्ला भएको ठाउँलाई स्वाभाविक रूपमा सल्लेरी भन्न र मान्न सकिएझैँ हिन्दू धर्मावलम्बीको सङ्ख्या धेरै भएको राष्ट्रलाई हिन्दूराष्ट्र भन्न र मान्न किन नहुने ? हिन्दू जनताले दिएको बहुमतलाई यदि हिन्दूकै पहिचान र प्रतिष्ठाका विरुद्धमा प्रयोग गरिने हो भने नेपालका सम्पूर्ण हिन्दूहरू, गाई, गंगा र गीताको कसम खाएर धर्मनिरपेक्षतावादीलाई भोट नदिने भीष्म सङ्कल्प गर्न विवश हुनेछन् ।
नेपालका कुनै पनि किसिमका कम्युनिस्टले हिन्दू धर्मावलम्बीहरूलाई दार्शनिक युद्धमा जितिसकेका छौँ भन्ने भ्रममा नपरे हुन्छ । किनकि प्राचीनकालका कुनै–कुनै ऋषिमुनि र गीताका श्लोकहरूसमेत साम्यवादी विचारका थिए वा छन् भनेर कम्युनिस्टहरूको प्रतिरक्षा गर्दै यिनीहरूको प्रभाव र सङ्गठन विस्तार गर्नमा सहयोग गर्नेहरू आखिर हिन्दू नै थिए । यसर्थमा कम्युनिस्टहरूको अस्तित्व हिन्दूधर्मका दार्शनिकहरूको दृष्टिकोणमाथि निर्भर छ भने हिन्दू धर्मको अस्तित्व कम्युनिस्टहरूको सहानुभूतिमाथि निर्भर छैन ।
एउटा दृष्टिकोणबाट हेर्दाखेरि धर्मनिरपेक्षतावादी नेताहरूले हिन्दू समुदायलाई सशक्त रूपले सङ्गठित बन्न प्रोत्साहित गरिदिएका छन् । किनकि खतराको आभास नपाएसम्म कुनै पनि व्यक्ति, समुदाय र राष्ट्र जागरुक र प्रतिरक्षात्मक बन्न सकेको हुँदैन । हिन्दूराष्ट्र रहिरहँदासम्म त नेपालको हिन्दू समुदाय गहिरो निद्रामा सुतिरहेको थियो । हिन्दू समुदाय निदाइरहेको अवस्था भएर नै चोरबाटोबाट धर्मनिरपेक्षताको घोषणा सम्भव भएको हो । आफ्नो ऐतिहासिक, धार्मिक र सांस्कृतिक अस्तित्वका विषयमा खतरा महसुस गरिरहेको नागरिक समाजलाई राजनीतिक दर्शनको प्रभावले आकर्षित गर्न सक्दैन । भारतका अधिकांश वैज्ञानिक र विज्ञानका प्राध्यापकहरू धार्मिक सङ्घ÷सङ्गठनका सदस्य बनेर भाजपाका समर्थक बन्नुको कारण यही हो । नेपालको हिन्दू समुदाय हिजोसम्म राजनीतिक दर्शनको प्रभावमा थियो र परिवर्तन र परम्परालाई सँगसँगै लैजान चाहने मध्यमार्गी पार्टीलाई बलियो पनि बनाइरहेको थियो । तर, अब नेपालका हिन्दूधर्मावलम्बी नागरिकको राजनीतिक दर्शनका आधारमा नेता र पार्टीको मूल्याङ्कन नगरीकन धार्मिक दृष्टिकोणका आधारमा प्राथमिकता दिनसक्ने सङ्केत देखापरिरहेको छ ।
चिकित्सा विज्ञानका डाक्टर शेखर कोइरालाले पुरोहित्याइँका निम्ति हिन्दूधर्मको पक्षपोषण गर्नुभएको होइन । आत्माको आवाज र तर्कले जता लैजान्छ त्यसैतर्फ जाऊँ भन्ने मान्यताअनुसार नै डाक्टर कोइरालाले हिन्दू राष्ट्रका पक्षमा बोल्नुभएको हुन सक्छ । उहाँलाई अन्धविश्वासी र परिवर्तनविरोधी भन्ने दुस्साहस कसैले गर्न नसक्ला । किनकि धर्मसापेक्ष इजरायल राष्ट्रको आवश्यकता महसुस गर्ने यहुदीहरूको समूहमा अधिकांश डाक्टर, इन्जिनियर, वैज्ञानिकहरू नै थिए । संस्कार भन्ने शब्दले परिमार्जन, परिष्करण, प्रशाधनलाई बुझाउने हुनाले बौद्धिक रूपमा परिमार्जित र प्रशोधित भइसकेको व्यक्तिले मात्र धर्म र संस्कृतिको महत्व बुझ्न सक्दछ ।
संविधानले जनता र राज्यलाई व्यवस्थित गर्नुभन्दा सम्भाव्य बाधा–व्यवधानको समाधान खोजिसकेपछि मात्र संविधानको निर्माण गर्नु राम्रो हो । अहिले बनाइएका संविधानको अवस्था भूकम्प र पहिरोको मुखमा जानी–बुझी बनाइएका नौलो घरको जस्तो छ किनकि जातीय र क्षेत्रीय सरोकारको विद्रोहलाई नयाँ संविधानले आंशिक रूपमा शिथिल पार्ने प्रयत्न गरेको भए पनि धार्मिक विद्रोहको सम्भावनालाई टड्कारो रूपले सम्भाव्य बनाइदिएको छ ।
युद्धकालमा उठाइएका धेरै मुद्दामध्ये अधिकांश त माओवादी आफैँले त्यागिसकेको छ, सङ्घीयता र धर्मनिरपेक्षता पनि गलत रहेछ भनेर स्वीकार गर्ने समय आउन पनि धेरै वर्ष लाग्ने छैन । किनकि घोडालाई डो-याएर पानीनजिक त पु-याउन सकिन्छ तर पानी पिउन इच्छुक बनाउन सकिँदैन भन्ने उक्तिझैँ गृहयुद्ध र अशान्तिको त्रास देखाएर नेपाली जनतालाई सङ्घीयता र धर्मनिरपेक्षताका विरुद्धमा केही समयसम्म बोल्न नसक्ने बनाइए पनि सधैँभरिका लागि स्वीकारयोग्य बनाउन सकिनेछैन । केही नेताहरूको आत्मसन्तुष्टिका निम्ति मात्र जनतामाथि जबर्जस्ती लादिएको सङ्घीयता र धर्मनिरपेक्षताभित्रको वास्तविक उद्देश्यलाई नेपाली जनताले छिटै नै अनुभव गर्नेछन् ।
नियालेर हेर्दाखेरि माओवादीको राजनीतिक सफलता र हैसियत जनता, राष्ट्र र आफ्ना शुभेच्छुक मित्रहरूप्रति देखाइएको कृतघ्नता र धोखाबाट हासिल भएको देखिन्छ । किनकि माओवादीले आफ्ना शुभेच्छुक मित्रशक्तिलाई भन्दा देशभित्र र बाहिरका विरोधी शक्तिलाई धेरै उपलब्धि दिएको छ । माओवादीले आफ्नो कट्टर विरोधी मधेसलाई जुन उपलब्धि दिएको छ त्यसको तुलनामा जनजातिलाई दिन सकेन । माओवादीलाई सर्वप्रथम आतङ्कवादी घोषित गर्ने भारत, अमेरिका र युरोपियन देशहरूको स्वार्थलाई जुन अनुपातमा माओवादले पूरा ग-यो त्यसको तुलनामा नेपाललाई शून्य उपलब्धि भयो । खोजी–खोजी मारेर टाउको लिई आउनेलाई पुरस्कारको घोषणा गरेका काङ्गे्रस र एमालेलाई जुन किसिमको सम्मान र सद्भाव माओवादीले दिई आएको छ यसको तुलनामा माओवादीप्रति सहानुभूति राखेर सेना परिचालन गर्न इच्छुक नभएको राजा र राजतन्त्रले सम्मान र सद्भावको कुरा छोडेर धन्यवाद पनि पाउन सकेन । आफ्नो कुलधर्म, पूर्वजहरू र शुभचिन्तक मित्रहरूप्रति कृतघ्न बनेर प्राप्त गरिएको राज्य र शासनाधिकार धेरै दिनसम्म कायम रहन सक्दैन भनेर महात्मा विदुरले दुर्योधनलाई उपदेश दिने क्रममा भनेका थिए । आफ्नो धर्म, संस्कृति, इतिहास र ऐतिहासिक योद्धाप्रति कृतघ्न बनिरहेको माओवादीले बलिदानको बदलामा कृतज्ञता देखाउला भन्ने अपेक्षा नै गर्न मिल्दैन, रगतको पैँचो थुकले तिर्नुजस्तो कृतघ्नता अरू के हुनसक्ला ?
प्रतिक्रिया