नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा सुवेदी निर्वाचित

नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा सुवेदी निर्वाचित


नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा नेपाल टेलिभिजनका दुर्गानाथ सुवेदी निर्वाचित भएका छन् । सुवेदी ‘हाम्रो खेलकुद डटकम’का प्रकाश तिम्सिनालाई १४ मतले पराजित गर्दै मञ्चको अध्यक्ष बनेका हुन् । सुवेदीले खसेको कुल ९६ मतमध्य ५५ मत प्राप्त गरेका थिए ।

मञ्चको साधारणसभाले सुवेदीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमितिको चयन पनि गरेको छ । जसमा प्रथम उपाध्यक्षमा सञ्जीव शिल्पकार निर्विरोध चयन भए । अन्य दुई उपाध्यक्षमा ध्रुव तुलाधार र निरञ्जन अधिकारी निर्वाचित भएका थिए । तुलाधरले ७१ र अधिकारीले ५७ मत पाएका थिए ।

त्यस्तै महासचिवमा निर्वाचित प्रज्ज्वल ओलीले ६३ र सचिवमा गोविन्द रेग्मीले ५८ मत प्राप्त गरेका थिए । दुवैले आफ्ना प्रतिद्वन्द्वीलाई झन्डै दोब्बर मतले पराजित गरेका थिए । कोषाध्यक्ष अञ्जन खड्का र महिला सदस्यमा मुना कार्की निर्विरोध निर्वाचित भएका थिए ।

तीन केन्द्रीय सदस्यको लागि सातजना मैदानमा उत्रिए पनि दिल तामाङ, हिमविक्रम केसी र अनिल मल्ल ठकुरीले बाजी मारेका थिए । मल्ल आफ्ना प्रतिद्वन्द्वीलाई एक मतले पराजित गर्दै सदस्यमा निर्वाचित भएका थिए ।