माथिल्लो तामाकोसी आर्थिक सङ्कटमा, १० अर्ब ऋण खोज्दै

माथिल्लो तामाकोसी आर्थिक सङ्कटमा, १० अर्ब ऋण खोज्दै


जडित क्षमता ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना आर्थिक संकटमा पुगेको छ । अनुमान गरिएभन्दा लागत बढेपछि अपुग रकम जुटाउन छलफल सुरु भएको बुझिएको छ ।

आयोजना निर्माणका लागि अपुग रकम जुटाउन मुख्य लगानीकर्ता कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानसंग छलफलमा जुटेका छन् । प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजनाको बाँकी काम सम्पन्न गर्न अझै १० अर्ब रुपैयाँ रकम अपुग हुने भएपछि सरकार तथा ऋण लगानी गर्ने संस्थासंग छलफल थालेको समाचार बाहिर आएको हो ।

आयोजनामा शुरुमा ४१ अर्ब रुपैयाँ अनुमान गरिएपनि आयोजनाको समय र लागत दुवै बढेपछि थप रकम आवश्यक पर्ने देखिएको आयोजनाले जनाएको छ । अहिले आयोजना निर्माणको लागत बढेर ब्याज बाहेक ४९ अर्ब रुपैयाँ पुगेको छ । गोप्य स्रोतका अनुसार आयोजनाको समय र लागत बढ्दा निर्माण अवधिको ब्याज मात्रै २० अर्ब रुपैयाँ पुगेको छ । रकमको समस्या आएपछि तत्कालका लागि भनेर संचय कोषले आयोजनालाई १ अर्ब रुपैयाँ ब्रिजलोन उपलब्ध गराएको छ । यसमध्ये ५० करोड रुपैयाँ दिइसकेको कोषका प्रशासक तुलसी गौतमले जानकारी दिए । उनका अनुसार नेपाल विद्युत प्राधिकरणको प्रत्याभूति (ग्यारेन्टी)मा सो ब्रिजलोन उपलब्ध गराएको गराइएको हो ।

अहिले आयोजनाको काम ९८ प्रतिशतको हाराहारीमा सकिएपनि तामाकोसीले थप रकम मागेको बुझिएको छ । तामाकोसीले कोषसंग ५ अर्ब, लगानी कोष र बिमा संस्थानसंग ५ गरी कुल १० अर्ब रुपैयाँ मागेको हो । आगामी कात्तिकभित्रै आयोजना निर्माण सक्नुुपर्ने चुनौती पनि तामाकोसीसँग छ ।