आठौँ राष्ट्रिय खेलकुदअन्तर्गतको ट्राइयाथलन पोखरामा हुने

आठौँ राष्ट्रिय खेलकुदअन्तर्गतको ट्राइयाथलन पोखरामा हुने


ट्राइयाथलन र पाराग्लाइडिङका कारण गण्डक प्रदेश पनि आठौँ राष्ट्रिय खेलकुदको आयोजकमा गनिने भएको छ । प्रदेश ५ मा आयोजना हुने आठौँ राष्ट्रिय खेलकुदअन्तर्गतको ट्राइयाथलन र पराग्लाइडिङ प्रतियोगिता पोखरामा आयोजना हुने भएपश्चात् गण्डक प्रदेश पनि आठौँ आयोजनाको भागीदारमा गनिएको हो । पूर्वाञ्चलमा आयोजना भएको सातौँ प्रतियोगिताको अन्तिम दिन आठौँ राष्ट्रिय खेलकुद आयोजना हुने स्थलको रूपमा तत्कालीन पश्चिमाञ्चल क्षेत्रले दाबेदारी प्रस्तुत गरे तापनि अन्तमा मध्यपश्चिमाञ्चलले प्रतियोगिता आयोजना गर्ने अवसर प्राप्त गरेको थियो ।

पूर्वाधारका अभावका कारण आठौँ राष्ट्रियअन्तर्गतको प्याराग्लाइडिङ र ट्राइयाथलन पोखरामा हुने भएका छन् । ट्राइयाथलन पनि पोखरामा नै आयोजना हुने भएपछि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दुई खेल पोखराले आयोजना हुनेछन् । नेपालगञ्जमा हुने भनिएको ट्राइयालन पोखरामा सारिएको जानकारी नेपाल ट्रायथोलन संघका अध्यक्ष नीलेन्द्र्रराज श्रेष्ठले जानकारी दिएका हुन् । प्रतियोगिता यही चैत ३० गते हुने भएको छ । ‘हामीले प्रदेश ५ को परेवा तालमा ट्रयथोलन आयोजना गर्ने भनेका थियौँ, तर उक्त स्थल धार्मिकलगायत अन्य विविध कारणले उक्त स्थानमा हुन सकेन अनि पूर्वाधार भएको पोखरामा गर्ने सोच बनाएका हौँ,’ अध्यक्ष श्रेष्ठले भने ।

नेपालगञ्जमा हुन नसकेपछि काठमाडौंमा गर्ने भनिए पनि पूर्वाधारको अभावले पोखरा नै उत्कृष्ट स्थलको रूपमा चयन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । ट्राइयाथलनका लागि १५ सय मिटरको पौडी पोखरी आवश्यक रहेको हुन्छ तसर्थ हामीले पोखरालाई उचित स्थलको रूपमा लिएका हौँ । अध्यक्ष श्रेष्ठले संघले हरेक वर्ष आयोजना गर्दै आइरहेको एसियन ट्राइयाथलन च्याम्यिनसिपलाई अन्तर्राष्ट्रिय ट्राइयाथलन महासंघले मान्यता प्रदान गरेकोले अब उक्त प्रतियोगिता एसिया कपको रूपमा सञ्चालन हुने बताए । अप्रिल २७ अर्थात् २०७६ वैशाख १४ गते दक्षिण एसियामा नै पहिलोपटक ट्राइयाथलनको एसिया कप पोखरामा आयोजना हुनेछ ।

पोखरामा एसिया कपसहित साउथ एसियन ट्राइयाथलन च्याम्पियनसिपसहित दुईवटा इभेन्टहरूसँगै सञ्चालन हुनेछन । साउथ एसियन ट्राइयाथलन च्याम्पियनसिप भने सातौँपटक हो । एसिया कपका लागि एसियाबाट मात्रै नभई विश्वभरिका ट्राइयाथलन खेलाडी पोखरा आउने अध्यक्ष श्रेष्ठले बताए । चैत ३० गते हुने राष्ट्रिय खेलकुदबाट समेत उक्त प्रतियोगिताका लागि नेपाली खेलाडीको छनोट गरिनेछ ।

प्रतियोगितामा ट्राइयाथलन, दुआथलन र मिक्स टिम रिले गरी तीनवटा इभेन्ट हुने अध्यक्ष श्रेष्ठले बताए । जसमा ट्राइयाथलनअन्तर्गत स्प्रिन्टमा साइक्लिङ २० किलोमिटर, स्विमिङ ७५० मिटर ५ किलोमिटरको दौड हुनेछ भने दुआथोलन स्प्रिन्टमा ५ कि.मि. दौड, २० किलोमिटर साइक्लिङ, २.५ किलोमिटरको दौड हुनेछ । मिक्स डबल्समा २–२ जना महिला र २–२ जना पुरुषको टिमले प्रतिस्पर्धा गर्नेछन् । आयोजकले प्रतियोगिताको लागि गौरीघाटदेखि मुस्ताङ चोकसम्मको स्थललाई तोकेको छ ।

यही चैत ३० गते हुने आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत कुल ४७ जना खेलाडीको सहभागिता रहनेछ । राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि चार प्रदेशका खेलाडीको दर्ता हुनुपर्नेमा समयमा नै खेलाडीले आफ्नो प्रदेशबाट दर्ता नगरेका कारण खुला प्रतिस्पर्धा गराइन लागिएको हो । ट्राइयाथलनमा सोझै खेल्ने अवसर भएकाले पनि खेलाडीको संख्या बढ्न सक्ने श्रेष्ठले बताएका छन् ।

अहिलेसम्म नेपाली सेनाबाट १२, सशस्त्रको एपीएफ क्लबबाट १४, प्रदेश ३ बाट ७, गण्डकी प्रदेश बाट ५, प्रदेश ५ बाट ६, प्रदेश ६ बाट १, जाजरकोटबाट १ र रुकुमबाट २ जना खेलाडीको सहभागिता निश्चित भइसकेको छ । जसमध्ये १७ जना महिला खेलाडी रहेका छन् ।

फेवातालको पानी प्रदूषित छ नि भन्ने प्रश्नमा अध्यक्ष श्रेष्ठले फेवातालको पानी अन्तर्राष्ट्रिय महासंघमा परिक्षण गराइसकेको बताए । उनले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता हुनुपूर्व अन्तर्राष्ट्रिय महसंघमा पानीको परिक्षण गर्नुपर्ने अनिवार्यता रहेकोले पानीको शुद्धता परीक्षण गराइएको जानकारी दिँदै भने, ‘फेवातालको पानी सोझै पिउन मिल्दैन, तर पौडीका लागि कुनै हानिकारक छैन ।’ यो सबै परीक्षणबाट प्रमाणित भइसकेको उनले बताए ।