मिस्टर फिटनेस तथा फिजिक्स शनिबार

मिस्टर फिटनेस तथा फिजिक्स शनिबार


फिटनेस फस्र्टको आयोजनामा पाँचौँ मिस्टर फिटनेस फस्र्ट तथा स्पोर्टस् फिजिक्स च्याम्पियनसिप चैत ३० गते शनिबार हुने भएको छ । फिटनेस प्रतियोगितामा ५ तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।

फिटनेसतर्फ ५५, ६०, ६५, ७० र ७५ केजीभन्दा माथिको तौल समूहबीचमा प्रतिस्पर्धा हुनेछ । यसमा फिटनेस फस्र्टका शाखाका खेलाडीले मात्रै सहभागिता जनाउन पाउनेछ । प्रत्येक तौल समूहको विजेता खेलाडीले १० हजार, उपविजेताले ५ हजार र तेस्रो हुनेले ३ हजार रुपैयाँ पुरस्कार पाउनेछ । यस्तै प्रत्येक समूहको विजेता खेलाडीसँग प्रतिस्पर्धा गराई प्रथम हुने खेलाडीले मिस्टर फिटनेस फस्र्टको उपाधि पाउनेछन् । ओभरअल विजेताले ५० हजार पुरस्कार पाउने आयोजकले जानकारी दिएको छ ।

यस्तै मेन्स फिजिक्स प्रतिस्पर्धामा १ सय ६५ सेन्टिमिटर मुनि र १ सय ६५ सेन्टिमिटर माथिका गरी दुई फरक–फरक समूहमा प्रतिस्पर्धा गराइनेछ । प्रत्येक उचाइ समूहका खेलाडीमा प्रथम हुनेले १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा करिब ४५ खेलाडी सहभागिता रहने बताइएको छ ।

सोही प्रतियोगिता दौराना विश्व शारीरिक सुगठन प्रतियोगितामा स्वर्णधारी महेश्वर महर्जनलाई सम्मान गरिने आयोजकले जनाएको छ । नैकापमा हुने प्रतियोगितालाई गोर्खा ट्विडले मुख्य प्रयोजन गरेको छ ।