राष्ट्रिय पोसाकबिनाका नेपाली

राष्ट्रिय पोसाकबिनाका नेपाली


nisedhबहुप्रतीक्षित संविधान जारी भएको छ । जनताले बनाएको भनिएको संविधानमा राम्रा कुराहरू धेरै हुँदाहुँदै पनि राष्ट्रिय एकतालाई जोड्ने कुरालाई भने निमिट्यान्न पारिएको छ । तराई र पहाडलाई जोड्ने हिन्दूधर्म, पहाड र हिमाललाई जोड्ने बौद्धधर्म त संविधानमा अटेन नै, सबै नेपालीलाई एकतामा जोड्ने राष्ट्रिय पोसाक दौरा–सुरुवाल र सारी–चोलो पनि संविधानबाट हटाइयो । राष्ट्रिय एकताका प्रतीकहरू कसको ‘इन्ट्रेस्ट’ले र किन हटाइयो भन्ने कुराको जानकारी भने जनताले पाउन सकेनन्, सकेका छैनन् । जनताले बनाएको भनिने संविधानमा उल्लेख भएका र नभएका कुराहरूबारे सर्वसाधारणले जानकारी पाउने व्यवस्था भने नहुँदो रहेछ ।
राष्ट्रिय पोसाक कुनै पनि राष्ट्रको पहिचान र गौरव हो, राष्ट्रलाई माया गर्नेहरू राष्ट्रिय पोसाक, झन्डा, भाषालगायतका राष्ट्रियतासँग जोडिएका कुराहरूलाई सम्मान गर्छन् । विभिन्न मुलुकमा प्रायः महिला र पुरुषका लागि आफ्नै प्रकारको राष्ट्रिय पोसाक तोकिएको हुन्छ जसले उक्त देशको राष्ट्रिय पहिचानलाई इंगित गर्छ । महासभा चलिरहेको बेला संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय न्युयोर्क पुगियो भने विभिन्न रङ र अनेक ढङ्गका पोसाक लगाएका मानिस भेटिन्छन्, देखिन्छन् । सबैलाई उस्तै अनुभूति दिने मौसममा कसैले पातला पिलपिल परेका लुगा लगाइरहेका हुन्छन् त कसैले बाक्ला न बाक्ला हेर्दै उकुसमुकुस हुने प्रकारका, कतिले टाउकोमा अनेक आकारप्रकारका फेटाजस्ता, तर अरू नै केही गुथिरहेका देखिन्छन् त कतिचाहिँ पुरुषहरूले पनि टाउको छोपेका (महिलाले टाउको छोप्ने चलन धेरै ठाउँमा छ) र पाइतालासम्म पुग्ने लामा गाउनजस्तै पोसाक लगाएका । विभिन्न देशका मानिस र तिनले लगाएका राष्ट्रिय पोसाकहरूको रमिता नै हुन्छ त्यहाँ । तर, हाम्रो देशमा भने अब त्यस्तो कुनै राष्ट्रिय पोसाक छैन जुन पोसाकलाई हेरेर परैबाट नेपाली भनेर चिनियोस् । संविधानमा राष्ट्रिय गीत, झन्डा, चिह्न, रङ, जनावरलगायतका कुराहरू उल्लेख भए पनि राष्ट्रिय पोसाकलाई भने ‘डिलिट’ गरिएको छ ।
पहिलो संविधान सभाताका नयाँ नेपालका नाममा नेकपा माओवादीले राष्ट्रिय झन्डा फेर्ने प्रस्ताव गर्दा धेरै नेपालीको मनमा चोट लागेको थियो । व्यापक विरोधका कारण झन्डा फेर्ने कुराले मूर्तरूप लिन पाएन । नेपालको राष्ट्रिय पोसाकको रूपमा रहेको दौरा, सुरुवाल र ढाकाटोपीको अपमान यसबीचमा यति गरियो कि बिचरा दौरा–सुरुवाल सर्वोच्च अदालतसम्म पुग्यो । दौरा–सुरुवाललाई राष्ट्रिय पोसाक कायम राख्नुपर्ने सर्वोच्चको फैसलालाई केही समुदायबाट जलाउने कामसमेत भयो । दौरा–सुरुवालको हुर्मत लिँदालिँदा अन्ततः राष्ट्रिय पोसाकबाट हटाएरै छाडियो ।
हरेक पुराना कुरा र संस्कारहरू नराम्रा हँुदैनन् । विभिन्न मुलुकका इतिहासमा ठूला–ठूला परिवर्तनहरू भएका छन् । राजतन्त्र फालिएका देशहरू पनि धेरै छन्, तर राजतन्त्रको अन्त्य हुँदैमा सबै राष्ट्रिय पहिचानहरूलाई मेटाइँदैन । संसारमा धेरै मुलुकमा राजा–महाराजाहरू थिए, उनीहरूको पुस्तेनी शासन नरहे पनि इतिहासको कालखण्डमा उनीहरूले देशका लागि गरेको योगदानको मूल्याङ्कन, आफ्नो देश बचाउन अपनाएका रणनीतिहरूको सिकोजस्ता कुराहरू वर्तमानमा भइरहेकै हुन्छन् । नेपालको राष्ट्रिय पोसाक, झन्डाजस्ता कुरा राजाहरूको पालामा परिकल्पना गरिए पनि ती राजतन्त्रका होइनन्, नेपाल देशका पहिचान हुन् । जुन कुरामा प्रत्येक नेपाली (फेर्ने या नराख्ने प्रस्ताव गर्नेबाहेक) को आत्मीयता गाँसिएको छ, आफ्नोपन जोडिएको छ । राष्ट्रिय पोसाककै रूपमा रहेको सारी–चोलो दक्षिण एसियाली महिलाले लगाए पनि दौरा–सुरुवाल विश्वमै ‘युनिक’ थियो, छ । नेपालको राष्ट्रिय झन्डा पनि संसारमै फरक मानिन्छ । वास्तवमा युनिक हुनु–नहुनुसँग राष्ट्रियतासँग सम्बन्धित कुराहरूले खासै अर्थ राख्दैन पनि । हाम्रो झन्डालाई विश्वले राम्रो भन्नुको कारणचाहिँ के हो भने कतिपय देशका झन्डाहरूमा अङ्कित चिह्नहरू के हुन् भनेर अत्तोपत्तो पाउन नसकेपछि यसको अर्थ के हो भनेर सोध्नुपर्छ । तर, हाम्रो यति सजिलो छ कि चन्द्रमा र सूर्यलाई यो पृथ्वीमा जसले पनि चिन्छ र हाम्रो झन्डाको रङ र डिजाइनको संयोजन छुट्टै प्रकारको छ । हाम्रो राष्ट्रिय पोसाक पनि आकर्षक नै मानिन्थ्यो । जस्तो भए पनि आखिर राष्ट्रिय पोसाक हो, बूढीआमा राम्री भइनन् भनेर आधुनिक भनाउँदा छोराछोरीले हेला गर्न मिल्छ र ? तर, गरियो, हेला मात्र होइन, वृद्ध बाबुआमालाई डोकोमा बोकेर भीरबाट फालेको कथाझैँ गरी राष्ट्रिय पोसाकलाई फालियो ।
पहिलो संविधानसभामा सभासद्का रूपमा रहेका विभिन्न दलका प्रतिनिधिले पोसाकका नाममा अनेक झाँकी प्रस्तुत गरे पनि दोस्रो संविधानसभामा नेकपा एमालेले निर्णय नै गरेर सभासद्हरूले दौरा–सुरुवाल लगाउँदा अबचाहिँ दौरा–सुरुवालले संवैधानिक रूपमै राष्ट्रिय पोसाकको दर्जा पाउने भयो भन्ने ठानिएको थियो । राप्रपा नेपाल, काङ्ग्रेसका पनि केही सभासद्ले दौरा–सुरुवाल नै लगाउने गरेको देखिन्थ्यो । तर, संविधानमा दौरा–सुरुवाल र सारी–चोलो राष्ट्रिय पोसाक त हुन सकेनन् नै, कुनै पनि पोसाकलाई राष्ट्रिय पोसाकको मान्यता दिइएन । संसारका कुनै पनि मुलुकमा जसले जे लायो त्यही राष्ट्रिय पोसाक हुँदैन । राष्ट्रिय पोसाक एउटा निश्चित हुन्छ, जुन पोसाक औपचारिक कार्यक्रमहरूमा अनिवार्य लगाउनुपर्ने हुन्छ । राष्ट्रिय पोसाक भन्ने कुरा फेसनका लागि या कसैको इच्छाका कारण नभएर राष्ट्रिय पहिचानका लागि लगाइने कुरा हो ।
हामी एकातिर जातीयताको नाममा पुरानो पहिचान खोजिरहेका छौँ, कस–कसले कहाँ–कहाँ कहिले राज्य गरेका थिए, को कहाँ जन्मिएका थिए, को जनजाति थिए को के थिए भन्ने कुरालाई खोजी र संरक्षणको विषय बनाइरहेका छौँ भने पुराना राष्ट्रिय पहिचानलाई एक–एक गर्दै ध्वस्त पारिरहेका छौंँ । विश्वमै एक मात्र हिन्दूराष्ट्रको पहिचान खत्तम भयो नयाँ नेपालका नाममा सहियो, प्रधानमन्त्री, मन्त्रीहरूले राष्ट्रिय पोसाकबिनै औपचारिक कार्यक्रमहरू, औपचारिक भ्रमणहरूमा देशको प्रतिनिधित्व गरे नयाँ नेपालका नाममा चुपचाप बसियो । मुलुकमा राजनीतिक परिवर्तनको अर्थ राष्ट्रियतासँग जोडिएका कुराहरूमा धावा बोल्नु होइन । बहुजाति–बहुभाषी भएको हाम्रोजस्तो मुलुकमा सबै जातजातिका पोसाक आफ्नो संस्कृति कायम राख्नका लागि महत्वपूर्ण छन् । यति हँुदाहँुदै पनि सबै नेपालीको पहिचान कायम राख्न साझा राष्ट्रिय पोसाकको आवश्यकता छ । नेपालीको पहिचान दौरा, सुरुवाल, टोपी र सारी–चोलोसँग गाँसिए पनि यदि यो व्यावहारिक छैन भने फेर्न सकिन्थ्यो, जसरी राष्ट्रिय गीत फेरियो । फेरि राष्ट्रिय पोसाक भन्ने कुरा सधैँ लगाउनुपर्ने पनि होइन । औपचारिक कार्यक्रममा सहभागी हुँदा मात्र पनि राष्ट्रिय पोसाक लगाउन सकिँदैन भने त्यस्ता मानिसले मुलुकसँग सम्बन्धित कुनै पनि कार्यभार नलिएकै राम्रो । कसैले तिमीहरूको राष्ट्रिय पोसाक के हो ? भनेर सोध्यो भने अब हामीसँग त्यसको जवाफ हुनेछैन । सबै पोसाक राष्ट्रिय पोसाक भन्यो भने मानिस हाँस्नेछन् । नयाँ संविधानले धेरै कुरा दियो होला, तर अब हामी यस्तो देशका नागरिक हौँ जसको आफ्नो राष्ट्रको पहिचानसँग जोडिएको राष्ट्रिय पोसाक छैन ।