कोही आसाममा गोठ पालेर वा कोइला काटेर कमाइ गरेर फर्कन्छ भने गाउँघरमा त्यसलाई आसामे भन्ने चलन छ । यसको अर्थ ऊ अब नेपाली रहेन भन्न खोजिएको होइन । त्यस्तै गरेर काठमाडौंमा केही दशक पहिलेसम्म नेपालको अर्को स्थानबाट पुगेकालाई ‘काँठे’, ‘पर्वते’ आदि भनिने गरिन्थ्यो । त्यति मात्र नभएर मध्ययुगको नगरसुरक्षाको औजारको रूपमा आवागमन निगरानी राख्न ‘राहदानी’को व्यवस्था पनि थियो । ‘राह’ भनेको बाटो अनि बाटोभरिको परिचयको निमित्त राहदानी शब्दको अर्थ यही हो । यो व्यवस्था राणाकालको अन्त्यसँगै समाप्त पनि भएको छ ।
जसरी परिचयको निमित्त माथ्लाघरे, गैराघरे आदि शब्द प्रयोग हुन्छन् तराईमा पनि यस्ता शब्दहरू परिचयको निमित्त प्रयोग हुने गर्दछन् । सप्तरीबाट मोरङमा कोही आयो भने नामको साथमा सप्तरिया शब्द पनि झुन्डिने गर्दछ । यस्तै क्रममा आविष्कार भएको शब्द हो ‘मदेश’ (अपभ्रंश हुँदै मधेस), जुन शब्दको अस्तित्व नेपालबाहेक अन्यत्र छैन । कोही भारतबाट आएर बसोबास गरेको परिवार छ भने तराईमा दुई–तीन पिँढीसम्म त्यसले ‘देशवाला’ भन्ने परिचय पाउने गर्दछ । यही स्थान परिचयको निमित्त प्रयोग गरिने गरेका शब्दको आधारमा वर्तमानमा नेपाली–नेपालीबीच भिन्नता देखाउने प्रयत्न हुनु सर्वथा अनुचित हो ।
बेलायती सेनामा भर्ना हुन जाने प्रमुख स्थान लाहौर थियो । त्यो अपभ्रंश हुँदै लाहुर भयो र बेलायती सेनामा जागिर हुनेलाई गाउँघरले लाहुरे भन्न थाल्यो । स्वतन्त्रता प्राप्तिपछि त्यो लाहौर पाकिस्तानमा प-यो । गोर्खा सैनिकको लोभ न बेलायतले छोड्यो न आधुनिक भारतले नै । नेपाली लाहुरे भइरहे लाहौर नै नगए पनि, अब के लाहुरेजति सबैलाई पाकिस्तानी भन्न मिल्छ र ? पक्कै मिल्दैन । अहिले ‘मदेसी’ भनिएकालाई त भारतसँग जोड्ने कुनै आधार नै छैन । किनभने नेपालबाहिर कतै मधेस नै छैन भने त्यो मधेस भन्ने भूभागका रैथाने नेपालीबाहेक अरू हुनै सक्दैनन् ।
यो कुरा प्रत्येक नेपालीले मनन गर्नुपर्ने कुरा हो । अहिले मधेसी भनिने गरेकाहरू जति अन्य भूभागका बासिन्दा नेपाली हुन् त्यति नै नेपाली हुन् । नेपालले गर्व गरेकी सीता त्यही भूभागमा जन्मेकी हुन्, जनक र बुद्धलाई उनीहरूको गाउँलेलाई नेपाली नमान्ने हो भने आफ्नो विभूति भनेर गौरव गर्ने ठाउँ नै छैन । भारतले अर्को नक्कली लुम्बिनी बनाएर बुद्धको जन्मभूमि भारत बनाउन खोज्यो भनेर ‘बुद्ध नेपालमा जन्मेका थिए’ भन्ने अभियान चलाउने नेपालीले त्यही बुद्धको गाउँलेलाई भारतीय भनेर भन्न मिल्छ र ?
हो, एक–अर्काको मुलुकमा बसाइँ सर्ने एक स्वाभाविक प्रक्रिया हो । त्यसै क्रममा कुनै बेलाका पहाडका रैथाने विश्वका विभिन्न मुलुकका नागरिक भएका छन् । त्यस्तै विश्वका अनेक मुलुकबाट आएर नेपालका नागरिक पनि नभएका होइनन् । नेपाल–भारतको पारम्पारिक सम्बन्धका कारणले नेपालबाट भारत र भारतबाट नेपालको आप्रवासनको मात्रा निश्चय पनि धेरै छ । यसो भन्दैमा कदकाठी, रंग, भेषभूषा आदि मिल्दोजुल्दो भयो भन्दैमा मधेसका बासिन्दालाई भारतीय भन्नु अनुचित हो ।
भारतीय सञ्चारमाध्यममा मधेसका रैथाने नेपालीलाई भारतीय मूलको वा भारतबाट गएर नेपालमा बसेको भनेर प्रचार गरिँदै छ त्यो बिलकुल असत्य हो । असत्य मात्र होइन बुद्ध भारतमा जन्मेका हुन् भनेजत्तिकै आपत्तिजनक पनि हो । भारतमा मधेस भन्ने भूभाग कहाँ छ र मधेसका रैथानेहरूलाई आफ्नो मूलको वा आफ्नो मुलुकबाट नेपाल बसाइँ गएको भन्ने दाबी गरिन्छ । हो, केही प्रतिशत सबै जात, वर्ग वा समुदायका व्यक्तिहरू एक मुलुकबाट अर्को मुलुकमा बसाइँ सरेका छन्, तर सम्पूर्ण समुदाय नै त्यस्तो होइन ।
सामान्यतया बसाइँ आउनेहरू रैथानेभन्दा चल्तापुर्जा हुने गर्दछन् । यदि त्यसो हुन नसकेमा नयाँ ठाउँमा आफ्नो अस्तित्व कायम राख्न सम्भव हुँदैन । यो कोरा भनाइ नभई चाल्र्स डार्बिनको विकासवादको सिद्धान्त हो । प्राकृतिक छनोटको निमित्त हुने अस्तित्वको सङ्घर्षमा योग्यको जित निमित्त यो सर्वमान्य सिद्धान्त हो, जो केवल मानवमा मात्र होइन सम्पूर्ण प्राणी जगत्मा लागू हुन्छ । केही नेपालीमा रहेको दृष्टिदोष जसले आफ्नै देशवासीलाई समान नागरिक नमानेर पहाडे, मधेसी, नेवार, पर्वते, खस, किरात आदि देख्छ, त्यसको आधार लिएर नेपाली–नेपालीबीच भेद ल्याउने काम निन्दनीय हो ।
आफ्नो एक उल्लेख्य हिस्सालाई केही भारतीय सञ्चारमाध्यमले आफूबाट अलग्याएर लैजान खोजेको कुरालाई बुद्ध भारतमा जन्मेका हुन् भनेजस्तै कुप्रचार मान्नैपर्ने हुन्छ । पाकिस्तानले आफूसँग आएका भारतीय मुसलमानलाई ‘मुहाजिर’ मान्यो । सात बहिनी भनिने राज्यका बासिन्दालाई अझैं पनि अपनाउन मिहिनेत गर्नुपर्दैछ । यस कुराको प्रमाणको रूपमा केही समयपूर्व त्यो प्रदेशको मन्त्रीको दिल्ली पढ्न बसेको छोराको बर्बरतापूर्ण हत्या सामुन्ने छ । त्यसैले नेपालीलाई सञ्चारमाध्यमले भारतीय भनेको आधारमा भारतीय हुन जाने छैनन् ।
नेपालीले नेपालीलाई आफूसरहको नागरिक स्वीकार गर्नैपर्दछ । मधेसका सबै रैथानेलाई भारतीय वा भारतीय मूलको भनेर गरिएको सञ्चारमाध्यमको कुराले सबैभन्दा धेरै आहत त्यही वर्ग भएको छ जसलाई जबर्जस्ती भारतीय भनेर दाबी गरिएको छ । यस कुराको निमित्त कसैलाई दोष दिनु उपयुक्त पनि हुँदैन, किनभने केही खोट सबैमा छ । नेपालीबाट नेपालीलाई आफूसरहको मान्न कन्जुस्याइँ भयो भने गुमाउने नेपालले नै हो । यसरी नेपालले गुमाएको कसैलाई चिठ्ठा प-यो भने त्यसमा उत्तेजित हुनुभन्दा नगुमाउनु नै श्रेयस्कर हुन्छ । नेपालीबीच घरझगडा लगाएर फाइदा लिने दाउ कसैको छ भने त्यो टिकाउ हुनेछैन ।
प्रतिक्रिया