अस्ट्रेलियामा कार्यस्थलमा राम्रो वातावरण र ज्यालावृद्धिको माग गर्दै बुधबार आयोजित प्रदर्शनमा दशौँ हजार सहभागी भएका छन् । आगामी मे महिनामा हुन लागेको संसदको चुनावलाई पनि लक्षित गरी भएको उक्त प्रदर्शनका कारण मेलबर्न शहरको सार्वजनिक यातायात ठप्प भएको थियो ।
विपक्षी लेबर पार्टीले मजदुरको ज्यालामा सामयिक सुधार गर्ने भन्दै चुनावप्रचार गरिरहेको छ । पार्टीसँग आबद्ध मजदुर युनियनले अस्ट्रेलियालीको जीवनस्तर पछिल्ला ३० वर्षमा सबैभन्दा कमजोर अवस्थामा पुगेको दाबी गरेको छ । सत्तारुढ लिबरल–नेसनल गठबन्धनले भने कामदारको ज्याला बढाउन कम्पनीको कर कटौती गर्नुपर्नेमा जोड दिएको छ । प्रदर्शनमा सहभागी धेरै प्रदर्शनकारीले चम्किला कपडा लगाउनुका साथै ‘नियममा परिवर्तन गरौँ’ भन्ने नारा लेखिएका ब्यानर बोकेका थिए ।
राज्यका प्रधानमन्त्री ड्यानियल एन्ड्रुले अस्ट्रेलियालीहरूले ‘बाँच्न सक्ने ज्याला’ माग गरिरहेको बताए । ‘मानिसहरू क्रूद्ध भएका छन् । उनीहरू अहिले सडकमै निस्कनुपर्ने अवस्थामा पुगेका छन् ।’ यसै साताको यो दोस्रो ठूलो प्रदर्शन हो । पशुपक्षी अधिकारवादीहरूले पनि गत सोमबार आकस्मिक प्रदर्शन गरी सडक अवरुद्ध गरेका थिए ।
कतिपय लेबर पार्टीका समर्थकले मुलुकभित्र बढ्दै गएको आप्रवासीका कारण रोजगारीमा असर परेको तथा न्यूनतम ज्याला बढ्न नसकेको तर्क गर्न थालेका छन् ।
प्रतिक्रिया