यस्तो किन भयो ?

यस्तो किन भयो ?


nisedhसंविधान जारी भएलगत्तै अघोषित नाकाबन्दी भएपछि मुलुकमा अनेक प्रतिक्रिया देखिएका छन् । नेपालीको राष्ट्रवाद छताछुल्ल भएको छ, जे–जे परे पनि सहने, तर कसैको सामु नझुक्ने भन्ने टिप्पणीहरू सार्वजनिक भइरहेका छन् । आखिर किन यस्तो भयो या भइरहेको छ भन्नेतर्फ भने सोचिएको छैन । मुलुकलाई यो अवस्थासम्म पु-याउनुमा नेपाली नेताबाहेक अरूको कम हात रहेको छ । पुरानै रणनीतिअनुसार बाहिरियाले जे–जे भन्दै गए हाम्रा नेताले त्यही–त्यही गर्दै गए । भारत भनेर पनि नहुने रहेछ, त्यहाँभित्र पनि अनेकौँ प्रकारका शक्तिकेन्द्रहरूले छिमेकीलाई के गर्ने भन्ने रणनीति बनाउँदा रहेछन् भनेर बुझ्न भारतीय खुफिया एजेन्सी ‘र’का पूर्व प्रमुखहरूले लेखेको पुस्तकहरू पढ्नुपर्ने हुन्छ । पुस्तकहरूमा उल्लेख भएअनुसार खुफिया एजेन्सीहरू पुरानो सत्ताको नीतिसँग बढी सहमत देखिन्छन् । पुरानो सत्ताको डिजाइनअनुरूप भारतको नेपाल नीति अहिलेसम्म चलिरहेको छ भनिन्छ । जसअनुरूप नेपालमा नेपालका नेताहरूलाई नै प्रयोग गरेर खेल्नु पहिलो रणनीति थियो । जुन रणनीति सफल पार्न सबैभन्दा पहिला राजसंस्था फाल्नु जरुरी थियो । देश बाँकी रहे राजा रहने हुँदा राजाहरू सधैँ राष्ट्रवादी हुन्छन् । नेताहरूलाई जस्तो राजालाई प्रयोग गर्न सकिँदैनथ्यो, त्यसैले राजसंस्था एकप्रकारले बाधक थियो । राजसंस्था त फाल्ने, तर कसरी ? राजसंस्था फाल्नका लागि नेपाली नेतालाई नै प्रयोग गर्नु जरुरी थियो । राजसंस्था फाल्नका लागि विभिन्न रङ र रूपका नेताहरू जन्माइए र प्रयोग गरिए । जसले अहिलेसम्म राजसंस्था आफैँले फालेकोझैँ गरी भाषण गरिरहेका छन् । एउटा मन्दिरको पुजारी परिवर्तन गर्न नसक्नेले राजसंस्था फाले होला भनेर बुझ्नु हाम्रो गल्ती थियो । हामी नेपाली यति मूर्ख छौँ कि राजसंस्था किन फालियो भनेर बुझ्न अझै सकिएको छैन ।
हिन्दूराष्ट्र नेपाल मुलुकको अर्को पहिचान थियो । कुनै बेला कसैलाई पशुपतिनाथमा छिर्न नदिएको ‘इगो’का कारण बहुसङ्ख्यक हिन्दू धर्मावलम्बी हुँदाहुँदै पनि राजसंस्थासँगै हिन्दू धर्मलाई निमिट्यान्न पारियो । तर, हिन्दूधर्म राष्ट्र मेट्नुमा पश्चिमाहरूको पनि त्यत्तिकै हात छ । हात जस–जसको भए पनि प्रयोग त आखिर नेपाली नै भए, नेपालकै संसद् भयो । अहिले मधेस र मधेसीलाई जुन रूपमा प्रयोग गरिएको छ, त्यसैगरी हिन्दू धर्मबारे अडिग रहन लगाउन सक्थ्यो, तर पुरानो ‘इगो’ यसको एक मात्र कारण रह्यो जसका कारण हिन्दूराष्ट्रको पहिचान बनाउन खोजिएन । नत्र मधेसी सभासद्हरूले हिन्दूराज्यको विपक्षमा ताली बजाउने भन्ने कुरा सम्भव नै नहुने कुरा हो । तराईवासीहरू हिन्दू धर्मप्रति अगाध आस्था राख्छन् । अहिले पहाडका डाँडाकाँडा चर्चले भरिए पनि तराईमा चर्चहरू त्यति धेरै छरिन सकेका छैनन् । यसको एक मात्र कारण तराईवासीको हिन्दू धर्मप्रतिको आस्था र कट्टरता हो, तर एकजना पनि मधेसी सभासद्ले हिन्दू धर्म राष्ट्रका पक्षमा आवाज उठाएनन् । अहिले भारतमा भारतीय जनता पार्टीको सरकार छ, तर त्यहाँ राज्य संयन्त्रमाथि भाजपाको पकड बन्न बाँकी नै रहेको देखिन्छ ।
राजसंस्था र हिन्दू धर्ममाथिको प्रहारपछि अर्को रणनीति जातीय र क्षेत्रीय सद्भाव भड्काउने हुन सक्छ । जातीय र क्षेत्रीय सद्भाव भड्काउन सबैभन्दा राम्रो एजेन्डा सङ्घीयता हुन सक्थ्यो । यति सानो देशमा सङ्घीयताको कुरा कसरी उठाउने ? गाह्रो थियो, तर माओवादीको उदयले यसलाई सहज बनाइदियो । यसैका लागि माओवादीले सेल्टर र अन्य सुविधा पाए । सङ्घीयताको नाममा नेपालमा विषवृक्ष रोप्ने पुरानो रणनीतिलाई माओवादीमार्फत अगाडि ल्याउन डिजाइनरहरू सफल भए । संविधानका नाममा अहिले जे भइरहेको छ, यो त कास्टिङ मात्रै हो । अब यो मुलुकमा जे हुन्छ त्यो सङ्घीयताका नाममा हुन्छ । जातीय–क्षेत्रीय सद्भाव भड्काउन सुरु भएपछि अबको निसाना नेपाली भाषा हुन्छ । अब चाँडै नै नेपाली भाषाविरुद्धका अभियान सुरु हुन सक्छन् । किनभने नेपाली भाषा मात्रै अब यस्तो कुरा बाँकी रह्यो जसले नेपालीलाई एकताबद्ध गर्न सक्छ या गरेको छ । राष्ट्रिय एकता दिवसलाई संविधानबाट ‘डिलिट’ किन गरियो ? हामी नेपालीले सोचेका छौँ ? अँ हँ छैन । खासमा भन्ने हो भने हामीलाई मतलब पनि छैन, तर एकता दिवस बडो सुझबुझका साथ हटाइएको छ । दुःख लाग्छ, हामीले यस्ता विषयमा कोसँग प्रश्न गर्ने ? एकताका प्रीतकहरू राष्ट्रिय पोसाक, दिवसलगायतका कुरा हटाएपछि अबको चरण नेपाली भाषामाथिको हमला हुनेछ । हिमाल, पहाड र तराई जोड्ने एक मात्र माध्यम नेपाली भाषालाई छरपष्ट बनाएपछिको निशाना नेपालका राजनीतिक दलहरू हुनेछन् भन्ने लाग्छ । किनभने राजनीतिक दलहरूको नेटवर्क हिमाल, पहाड, तराई सबैतिर र गाउँ–गाउँसम्म छ । राष्ट्रिय राजनीतिक दलहरूलाई क्षेत्रीय, भाषिक, जातीयलगायतका दलमा परिणत गर्दासम्म राष्ट्र यति कमजोर भइसकेको हुनेछ कि सम्हाल्नै नसक्ने प्रकारको परिस्थिति पनि हुन सक्नेछ ।
विश्वका १७ वटा मुलुक स्वतन्त्र रहँदा नेपाल स्वतन्त्र सार्वभौम राष्ट्र थियो । हिजो मरिचमान सिंहको पालामा नाकाबन्दी हुँदा गज्जब भयो भनेर नेपाली नागरिकता बोकेका मानिसले नै नाकाबन्दी गर्नेको प्रशंसा गरे । त्यसपछि जे–जे भयो जगजाहेर छ । लोकतन्त्रका लागि गरिएको १२ बुँदा आफ्नै घरमा गर्नुपथ्र्यो कि छिमेकी कहाँ ? १२ बुँदेमा के राख्नुपर्ने, के नराख्ने सबै उतै तय भयो । नेताहरूले ताली बजाएर त्यसलाई कार्यान्वयन गर्ने कुरामा प्रतिबद्धता जनाए । यस्ता अनेक कुरा छन् जहाँ हाम्रो घरको मामिला छिमेकीले तय गरे । जब हामी घरको समस्या सुल्झाउन छिमेकीको सहारा लिन्छौँ अवश्य नै त्यो सुल्झिनेभन्दा उल्झिने बढी हुन्छ । धेरै कुरा बिग्रिसकेको छ, तर सम्हाल्नै नसक्ने अवस्थामा हामी छैनौँ । अहिलेको नेतृत्वसामु पहिलेभन्दा बढी चुनौती छन् । कारण, साँच्चिकै मुलुक र जनताप्रति इमानदार भएर यो मुलुकको भविष्यलाई हेर्ने हो भने विगतमा आफैँले बनाएका खाडलहरू पुर्नु छ । यो सबै नेपालीलाई समेटेर अघि बढ्ने बेला हो । सिद्धान्त, जात, वर्ग वा वादभन्दा मुलुक ठूलो हो । सबै नेपालीलाई समेटेर मुलुकलाई जोगाउनु अहिलेको नेतृत्वको दायित्व हो । यदि कुनै नेताले मुलुकलाई सर्वोपरी ठानी कदम अगाडि बढाउछ भने त्यस्तो नेतृत्वको साथ दिनु हामी सबै नागरिकको कर्तव्य हो । तर, देशलाई केन्द्रबिन्दुमा राखेर सोच्ने नेता भने अहिलेसम्म देखापरेका छैनन्, दुःखद् पक्ष यही नै हो ।