सर्वोच्चद्वारा पूर्वमन्त्री पौडेल र सदस्यसचिव विष्ट निर्दोष साबित

सर्वोच्चद्वारा पूर्वमन्त्री पौडेल र सदस्यसचिव विष्ट निर्दोष साबित


पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र वर्तमान राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट निर्दोष साबित भएका छन् । चैत २७ गते माननीय न्यायाधीश ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले पौडेल र विष्ट निर्दोष भएको फैसला सुनाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मिति ०७२ भदौ २५ गते तत्कालीन खेलकुदमन्त्री पौडेल र ०७२ भदौ २७ गते राखेपका सदस्यसचिव विष्टलाई कारबाहीका लागि पत्राचार गरेको दुवै पत्र खारेज गर्दै उक्त संयुक्त इजलासले पौडेल र विष्ट निर्दोष भएको फैसला सुनाएको हो ।

सन् २०१४ मा कोरियाको इन्चोनमा सम्पन्न १७औँ एसियाली खेलकुद प्रतियोगितामा सेपाकताक्रोका खेलाडी भागेपछि तत्कालीन सेवाकताक्रो संघका उपाध्यक्ष केशवकुमार विष्टले खेलाडी भगाएको अरोप लगाउँदै तत्कालीन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले अख्तियारमा निवेदन दर्ता गराएका थिए ।

खेलकुद विकास ऐन, २०४९ को नियम १० ‘क’, राखेपले तयार पारेको राष्ट्रिय खेल संघ कार्य सहजीकरण कार्यविधि २०७० को परिच्छेद १० को दफा १०.४ को हवाला दिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १२ ‘ख’ बमोजिम तत्कालीन खेलकुदमन्त्री पौडेल र सदस्यसचिव विष्टसमेतलाई कारबाही गर्नू भनी अख्तियारले युवा तथा खेलकुद मन्त्रालयमा पत्राचार गरेको थियो ।

यो रिट निवेदनमा पौडेल र विष्टको तर्फ वरिष्ठ अभिवक्ता शम्भु थापा, तुलसी भट्ट र अधिवक्ता रमेश बडालले बहस गरेका थिए । त्यस्तै, राष्ट्रिय खेलकुदको तर्फबाट अधिवक्ता धनबहादुर श्रेष्ठले बहस गरेका थिए ।