कुस्तीमा ६ स्वर्ण जित्दै प्रदेश २ च्याम्पियन

कुस्तीमा ६ स्वर्ण जित्दै प्रदेश २ च्याम्पियन


प्रदेश २ ले आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष कुस्ती प्रतियोगितामा ६ स्वर्ण हात पार्दै अग्र स्थानमा रह्यो । प्रदेश २ ले ५७ केजी, ६१ केजी, ६५ केजी, ७९ केजी, ९२ केजी र १२५ केजीमा स्वर्ण हात पारेको हो । १० स्वर्णका लागि भएको प्रतियोगितामा प्रदेश ५ ले ७४ केजी, ८६ केजी र ९७ केजीमा गरी तीन र नेपाली सेनाले ७० केजीमा एक स्वर्ण हात पा¥यो ।

प्रदेश २ का नरेश यादवले ५७ केजीमा स्वर्ण हात पारे । उनले नेपाली सेनाका तिलक देउजालाई पछाडि पारे । तेस्रो स्थानमा प्रदेश ७ का पारश चन्द र प्रदेश ६ का दीपक बुढा रहे । यस्तै ६१ केजी तौलमा प्रदेश २ का जयमंगल यादवले प्रदेश ३ का जादुलाल यादवलाई पछाडि पार्दै स्वर्ण हात पारे । नेपाल प्रहरीका भागवत शाह र प्रदेश ७ का अर्जुन गुरुङले कांस्य पाए । ६५ केजीमा नेपाल प्रहरीका रितेशप्रसाद यादवलाई पराजित गर्दै प्रदेश २ का १२औँ साग कांस्य धारी सरोज यादवले स्वर्ण हात पारे ।

प्रदेश ६ का सोनाम रावत र प्रदेश ३ का शैलेन्द्र्रकुमार यादवले कांस्य पाए । ७९ केजी तौलमा प्रदेश २ का पुन्नीलाल राउतले स्वर्ण पाए । प्रदेश ३ का सुनिल कुमारा साहले रजत र प्रदेश ७ का विकास चन्द र प्रदेश ५ का जोगेन्द्र्र यादवले कांस्य पाए । ९२ केजी तौलमा प्रदेश २ का सुमिर साहले नेपाल प्रहरीका सागरकुमार यादवलाई पराजित गर्दै स्वर्ण हात पारे । प्रदेश ५ का कमरुद्दिन मियाँले कास्य पाए । १२५ केजी तौलमा प्रदेश २ का राज यादवले प्रदेश ७ का करण भट्टलाई पराजित गर्दै स्वर्ण हात पारे । नेपाल प्रहरीका रामधारीप्रसाद यादवले कांस्य पाए ।

प्रदेश ५ का वैजनाथ यादवले स्वर्ण हात पार्दा प्रदेश २ का मुक्तार आलमले रजत पाए । तेस्रो स्थानमा नेपाल प्रहरीका अब्दुल्ला मियाँ र प्रदेश ७ का भुवन चन्द रहे । यस्तै, ८६ केजीमा प्रदेश ५ का भुवनेश्वर यादवले प्रदेश ७ का सञ्जय तिखावरीलाई पराजित गर्दै स्वर्ण प्राप्त गरे । नेपाल प्रहरीका सविन्द्र प्र. यादव र प्रदेश १ का श्रीलाल राजवंशीले कांस्य पाए । यस्तै ९७ केजीमा प्रदेश ५ का रमेश गोतामेले स्वर्ण, प्रदेश २ का सन्दीपकुमार यादवले रजत र नेपाल प्रहरीका श्याम पटेलले कांस्य पाए । सुरेश चुनाराले ७० केजीमा पुरुषतर्फ एक मात्र स्वर्ण दिलाए । उनले प्रदेश २ का मनोजप्रसाद यादवलाई पराजित गरे । तेस्रो स्थानमा प्रदेश ५ का फसिल राउत गरी र नेपाल प्रहरीका दिपेश राउत कुँवर रहे ।


महिलातर्फ अघिल्लो दिन महिलातर्फ तीन स्वर्ण हात पारेको प्रदेश ७ ले कुलमा ६ स्वर्ण हात पा¥यो । प्रदेश ७ की नीरा आउजीले ६५ केजीमा स्वर्ण हात पारिन् । दोस्रो स्थानमा सेनाकी सुमित्रा मगर र तेस्रो स्थानमा पृजिन्ता तामाङ रहिन् । यस्तै प्रदेश ७ लाई स्वर्ण दिलाउने क्रममा ६८ केजी तौलमा विमला सुनारले स्वर्ण हात पारिन् । पुलिसकी निर्मला जागरीले रजत र प्रदेश ५ का शान्ति चौधरीले कांस्य पाइन् ।

यस्तै ७२ केजीमा लक्ष्मी खत्रीले स्वर्ण, पुलिसकी रेखा रावलले रजत र प्रदेश १ की सदीक्षा राईले कांस्य पाइन् । यस्तै सेनाकी सुशीला चन्दले ६२ केजीमा स्वर्ण हात पारिन् । उनले प्रदेश ७ की सपना चन्दलाई पछाडि पारिन् । तेस्रो स्थानमा प्रदेश १ की सिमरन थापामगर रहिन् । ७६ केजीमा प्रदेश १ की श्रीजासु गिरीले स्वर्ण पाइन् । प्रदेश ५ की लक्ष्मी डीसीले रजत र प्रदेश ७ की मल्लिका चन्दले कांस्य पाइन् । शनिबार भएको खेलमा प्रदेश ७ ले ५० केजी, ५३ केजी र ५५ केजीमा स्वर्ण हात पारेको थियो ।

प्रतियोगितामा पुरुषतर्फ रमेश गोतामे र महिलातर्फ प्रदेश १ की श्रीजासु गिरी उत्कृष्ट खेलाडी घोषित भए । विजयी खेलाडीलाई प्रदेश ५ का माननीय सांसद विष्णु पन्थी, नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक नवीन उप्रेती, उपनिर्देशक महेन्द्र राई र तुलसीकुमार महर्जन, नेपाल कुस्ती संघका अध्यक्ष नारायणदेव राणालगायतले पुरस्कार वितरण गरेका थिए ।