राजनेताको प्रतीक्षामा मुलुक

राजनेताको प्रतीक्षामा मुलुक


leader– स्वयम्भूनाथ कार्की
सौभाग्य हो वा दुर्भाग्य हो, वर्तमानमा निवृत्त हुन लागेको पिँढीले आफ्नो जीवनकालमा धेरै परिवर्तन देख्न–भोग्न पायो । अझ भन्ने हो भने यो पिँढीलाई परिवर्तनको लत लागेको छ भने पनि फरक पर्दैन । श्री ३ को हुकुम नै कानुन हुने र त्यसको पालना राजादेखि रङ्कसम्मले गर्नुपर्ने अवस्था परिवर्तन भएर नेपालले करिब–करिब छाडातन्त्रजत्तिकैको स्वतन्त्रता उपभोग ग-यो । त्यसबेलाको अन्तरिमकालमा अनेकौँ प्रयोगहरू भए । हरेक प्रयोगसँगै सुरुमा राणा शासन हटाउन सहयोग गरेर लगाएको गुनको पुँजी लिएर भारत नेपालको सानोभन्दा सानो मामिलामा पनि थप सहयोग गर्न तत्पर भयो ।
बीपी कोइरालाले आफ्नो आत्मवृत्तान्तमा यस्तो सहयोगको चर्चा धेरै स्थानमा गरेका छन् । शासन–प्रशासनको नयाँ ढाँचाको जग राख्न भारतबाटै अधिकारीहरू बोलाइएको थियो । यस्तो भारतीय अधिकारीको राजदरबारमा पनि महŒवपूर्ण उपस्थिति रहने गरेको थियो । मोहनशमशेरको लेखिसकेको राजीनामा पनि रद्द गराउन सफल हुने गरेर भारतको पैठ भएको कुरा पच्न गाह्रो भए पनि बीपीले नै उल्लेख गरेका छन् । भगवान सहाय नामका राजदूतले त कार्यालयमा भेटछु भन्दा पनि नमानेर बिहान बगैँचामै आएर छोरीसँग खेलिरहेका प्रधानमन्त्रीलाई पत्रिकामा छापिएको लेखको आक्रोश पोखेका छन् ।
त्यसपछिको परिवर्तन कालमा भने सहयोग गर्ने मित्रराष्ट्र केवल भारत मात्र रहेन । निश्चय नै अरू मित्रहरू पनि नेपालको सहयोगमा रुचि लिने भएपछि आन्तरिक मामिलामा भारतबाट गरिने सहयोगको मात्रा घटेको पाइन्छ । तर, यो मात्रा फेरि अर्को परिवर्तनपछि पहिलेको भन्दा बढेर गएको अवस्था पनि यो पिँढीले देख्न–भोग्न पाएको छ । अति सर्वत्र बर्जियत भनेभैmँ वर्तमानमा भारतको चासो र चिन्ता नेपालीका निमित्त भारी हुँदै गएको छ । राणा, सङ्क्रमण, बहुदलीय प्रजातन्त्र, पञ्चायत, पुनः बहुदलीय प्रजातन्त्रमा रहेको स–सानो कुरामा पनि सहयोगको प्रवृत्ति कहिले कम र कहिले ज्यादा भएको थियो । त्यसपछिको सङ्क्रमणमा नेपाली नेतृत्वले खुलेरै भारतको सदाशयताबेगर नेपालमा केही हुन पनि सम्भव छैन भन्न थाले ।
यही सङ्क्रमणकालमा नेपालको इतिहासलाई संशोधन गर्ने गरेर केही बुद्धिजीवी अनि नेताहरूले नेपाल अर्धउपनिवेश हो सम्म पनि भन्न थाले । समय परिस्थितिले कुनै कुरामा केही मानेर अरू कुरामा केही लाभ लिएका उदाहरण विश्वभर पाइन्छन् । त्यस अवस्थालाई अहिले व्याख्या गर्नेगरेझैँ उपनिवेश भनिँदैन । लिच्छविकालमा स्रोङचङ गम्पोसँग भृकुटीको विवाह गर्दा पराजयले स्वतन्त्रताको मोल तिर्न नपरोस् भनेर लिइएको कदम थियो, अर्धउपनिवेश होइन । नेपाल हमेसा स्वतन्त्र रह्यो भन्ने कुरालाई गणतन्त्र सुरु हुने सङ्क्रमणकालमा अर्धउपनिवेश हो भनेर भनियो ।
यस कुराले चोट पु-याएको नेपालीको आत्मबलको कारण नै हो कि संविधानसभाले गणतान्त्रिक संविधान दिनेबित्तिकै उपनिवेश भएकोजस्तो अनुभूति गर्न नेपाली बाध्य छन् । लागू भएको संविधानको सुतक पनि नसकिँदै संशोधनको प्रस्ताव जाँदै छ भन्ने खबर सुन्नुपरेको छ । चाहे संशोधन होस् वा नहोस् कसैको कुनै कुरा नसुनेर नियम परिवर्तन गरेर ल्याएको संविधान कमजोर रहेछ भन्ने उदाहरण हो यो ।
संविधान कमजोर, नेतृत्व विवश, बुद्धिजीवी विकल्पहीन जनता उद्वेलित अवस्था एक मुलुकको निमित्त जीवन संरक्षण प्रणालीमा (भ्यान्टिलेटर) राखिएको बिरामीसरह हो । यस अवस्थामा हुने सानोभन्दा सानो चुक पनि बिमारीको इहलीला समाप्त गर्ने हुन्छ । यस्तो अवस्थामा बिमारीलाई अतिकुशल चिकित्सकको आवश्यकता हुन्छ भने मुलुकलाई एक राजनेताको । मुलुकलाई अहिले प्रतीक्षा छ त्यस्तो राजनेताको जो आफ्नो जीवनको, साखको पर्वाह नगरी मृत्युको पनि भय नराखी मुलुकको उद्धार गर्न अग्रसर होस् ।
यत्रो परिवर्तनहरूको साक्षी भएको वर्तमान पिँढीले के त्यस्तो राजनेता आफ्नै जीवनकालमा देख्न–पाउला त ? भनिन्छ सास छउन्जेल आश हुन्छ, त्यसैले सकारात्मक सोच राखेर आफ्नै जीवनकालमा फेरि अर्को राजनेताको प्रतीक्षा यो पिँढीले गर्दै छ । जुरेको छ वा छैन त्यो त भविष्यले बताउला, इतिहासमा यस्तै महासङ्कटले नै विश्व हल्लाउने राजनेता पैदा गरेको छ । के नेपालले मात्र नपाउला त ?