हामी कता जाँदै छौँ ?– बबिता बस्नेत

हामी कता जाँदै छौँ ?– बबिता बस्नेत


babita-basअहिले मुलुकका हरेक सहर अभावग्रस्त बनेका छन् । सहरका सडकदेखि भान्सासम्ममा अभाव छरिएको छ । पेट्रोलका कारण सडकमा गाडी चल्न सकेका छैनन् र पेट्रोलका लागि पम्पवरपर गाडी लाइन बसेकाले सडक खाली पनि छैनन् । भान्सामा ग्यासको अभावले चुलो बल्न छोडेको छ । जतिको बलेको छ त्यो पनि धिपधिपे मार्काको छ । पकाउने आगोको अभावले मानिस एक छाक मात्र तातो खान थालेका छन्, कतिले त दुई छाक नै चिउरा या यस्तै पकाउनुनपर्ने खानेकुरा खाएर गुजारा गरिरहेका छन् । पेट्रोलियम पदार्थको अभावको प्रभाव चौतर्फी परेको छ । बच्चाहरूको स्कुल, युवाहरूको कलेज, वृद्धाहरूको खाना मात्र होइन, हरेक पेसा र व्यवसायमा यसको असर छ । व्यापार–व्यवसाय ठप्प छ । गाउँका मानिसले बेच्न पाएका छैनन्, सहरका मानिसले किनेर खान पाएका छैनन् । संविधानको नाममा यो मुलुकमा नसोचिएको एउटा अचम्मको परिस्थिति सिर्जना भएको छ । सडकमा लाम लागेका यातायातका साधन देख्दा यस्तो लाग्छ, हामी कुनै कुरा सित्तैमा पाउनका लागि लाइन बसिरहेका छौँ ।
यो मुलुकमा नाकाबन्दी त यसअघि पनि धेरै भए, तर त्यतिबेलाका शासकहरू अलि दूरदर्शी थिए । जगेडा सामान धेरै थियो । हुनत, अहिलेजस्तो छ्यासछ्यास्ती सवारीसाधन पनि त्यतिबेला थिएनन् । जे थिए तिनको व्यवस्थापन गर्न सकिएको समय थियो । विगतले हामीलाई जे सिकाउन खोजेको थियो त्यो सिक्न नसक्दाको परिणाम अहिले भोगिरहेका छौँ । हामी केही नभएका जनता होइनौँ, यो नेपाल देशमा धेरै कुरा छ । हाम्रो प्रकृतिले जे दिएको छ, त्यसको सदुपयोग गर्न सकेको भए आजको परिस्थिति आउने थिएन । हामीसँग भएको जलस्रोतको सदुपयोग गर्न सकेको भए अहिले कसैले पेट्रोल नदिँदा हामी तिनलाई बिजुली काटिदिने हैसियतमा हुन्थ्यौँ । यद्यपि उनीहरूजस्तो छोट्टा बन्न हाम्रो स्तरले दिँदैनथ्यो, त्यसैले बदलाका लागि कुनै अरू नै बाटो अपनाइन्थ्यो होला । तर, अहिले त हाम्रो अवस्था यस्तो छ कि हामी चुपचाप बस्नुको अर्को विकल्प नै छैन । जनताको शिर यसरी झुकाउन बाध्य पार्नुमा कुनै छिमेकी या परदेशीको नभएर हाम्रै अदूरदर्शी नेताहरूको योगदान छ ।
यो मुलुकमा जनताले बनाउने संविधानका लागि धेरै कुरामा सम्झौता गरियो । विकासका कुराहरू वर्षौंदेखि छायामा परे । संविधानबाहेक अरू सबै कुरालाई गौण ठानेर दुई–दुईपल्ट संविधानसभाको चुनाव गरेर ल्याएको संविधान जनताको भने पनि यसले खासै जनताको हित गर्लाजस्तो देखिएको छैन । नेताहरूबाट सुरुदेखि नै संविधानका नाममा अनेक त्रुटिहरू भए । सबैभन्दा ठूलो त्रुटि त नेपालजस्तो देशमा सङ्घीयताको कुरा गर्नु र यस्ता विषयमा अनेक सम्झौता गर्नु नै थियो । संविधान बनाउने पहिलो अभिभारा भए पनि शक्तिको अभ्यासमा नेताहरू यसरी लागे कि प्रधानमन्त्री को बन्ने, राष्ट्रपति को बन्ने र को कुन पद र हैसियतमा पुग्ने भन्दाभन्दै संविधान घोषणा गर्ने बेलासम्म आइपुग्दा मुलुक यस्तो अवस्थामा पुग्यो । अन्ततः जुन प्रकारको संविधान बन्यो यसले मुलुक जोगिन मुस्किल छ । मुलुक जोगिनका लागि स्थायित्व आवश्यक हुन्छ, यो संविधान मुलुकको कुनै पनि क्षेत्रलाई स्थायित्व दिने खालको छैन । युनियनिजममा दिएको स्वतन्त्रताले कसैले यो मुलुकमा उद्योगधन्दा गर्न पाउने छैन । समाजवादउन्मुख भनेर यो संविधान विचारआधारित बनाइएको हुनाले कम्युनिस्टबाहेक अरूले अपनत्व महसुस गर्ने अवस्था छैन । यता मुलुकमा पूर्ण कम्युनिजम आउने अवस्था पनि छैन । त्यसैले यो संविधानमा टेकेर कुनै न कुनै प्रकारको अस्थिरता सिर्जना गरिरहने या भइरहने अवस्था देखिन्छ । जब नियत नै खराब हुन्छ त्यस्तो बेलामा यसमा राम्रा कुरा के छन् भनेर कसैले खोज्दैन नराम्रा र भत्काउने कुराहरू के–के छन् भनेर खोजिन्छ । निश्चित छ, यो संविधानमा भएका राम्रा कुराहरू खासै खाजिने छैनन् ।
संविधान आएपछि के–के नै होला भन्ने ठानेर वर्षौँदेखि संविधान कुरेर बसेका नेपालीले नयाँ संविधान लागू हुनै नपाई पेट्रोलियम पदार्थको अभाव भोगिरहेका छन् । यस्तो लाग्छ कि हामी त माग्ने हौँ, सित्तैमा कुनै कुरा मागिरहेका छौँ । तर, हामी मट्टीतेल, ग्यास, पेट्रोल, डिजेल केही पनि सित्तैमा मागिरहेका छैनौँ, आफ्नो दुःखको कमाइले किनिरहेका छौँ । बेच्नेको भन्दा किन्नेको हात माथि हुनुपर्ने हो, तर हामी सधैँ तल छौँ, कारण हामी धेरै कुरामा छिमेकीसँग निर्भर छौँ । मुलुकमा प्रजातन्त्रसँगै धेरै कलकारखाना बन्द भए ।
अहिले हामी त्यहीँ छौँ जहाँ धेरै वर्ष अघि थियौँ । समयक्रमसँगै झन्झन् कठिन परिस्थितितिर हामी धकेलिँदैछौँ । झन्झन् प्रजातन्त्र र विकाससँगै अघि बढ्नुपर्नेमा हामी कहाँ प्रजातन्त्रका नाममा लुटतन्त्र अघि बढ्यो । विकासका सबै पक्ष यसबीचमा छायामा परे । यसबीचमा जलविद्युत्को उत्पादन र बिक्री वितरण मात्रै गर्न पाएको भए पनि मुलुक कहाँ पुगिसकेको हुने थियो । व्यक्तिहरू धनी भए पनि मुलुकपछि पर्दै गयो । यो मुलुकमा धनी मान्छेको कमी छैन । बौद्धिक र सभ्य मानिसको कमी पनि छैन, तर त्यस्ता मानिसको कुनै प्रभाव पनि यहाँ छैन । एकपछि अर्को घटनाक्रमले पुस्ता बित्न लागिसक्यो, तर अहा… यो त गज्जब भयो भन्ने काम खासै देख्न पाइएको छैन । वर्षौंदेखि जहिले पनि ‘अब के होला ?’ को परिस्थितिबाट हामी गुज्रिरहेका छौँ । हामी कता जाँदै छौँ ? मुलुकको भविष्य के हो ? यो देशका नागरिकको भविष्य के हो ? राष्ट्रियताको गीत गाएर भोको पेट नभरिएकै कारण लाखौँ युवा अहिले बाहिर छन् । तिनको भविष्य के हो ? ग्यास पेट्रोल रोकेर छिमेकीसँग गरिएको व्यवहारलाई कसरी लिने ? नेपालीले अहिले राष्ट्रियताको सवालमा अलिकति पनि नडगमगाउन एकजुट भएका छन् । तर, कहिलेसम्म ? ग्यारेजमा रित्ता सवारीसाधन मात्र होइन, घरमा चिसा चुला पनि बढ्दै छन् । राष्ट्रियता र कूटनीति फरक कुरा हो । यो अस्तव्यस्त परिस्थितिबाट मुलुकवासीलाई मुक्ति दिन नेताहरूले कूटनीतिक पहल गर्नैपर्छ ।
विश्वको १७औँ पुरानो स्वतन्त्र राष्ट्रहरूमध्ये एक नेपाल अहिले कहाँ छ ? यो सानो तर पुरानो राज्यका नागरिक हामी कहाँ छौँ ? यो विषयमा अब छलफल र बहस गर्नैपर्ने भएको छ । त्यसो त, यो मुलुकमा धेरै विषयमा छलफल हुने गरेको छ । ‘फल’ कम र ‘छल’ बढी हुने बहसहरू धेरै भए, अब ‘फल’ धेरै र ‘छल’ कम हुने कुरा र काम गर्नुपर्नेछ ।