आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता आजदेखि

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता आजदेखि


आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको आज औपचारिक रुपमा उद्घाटन हुँदैछ । नेपालगञ्ज रंगशालामा आज राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गर्दैछिन् ।

वैशाख ११ गतेसम्म चल्ने प्रतियोगितामा एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा समावेश गरिएका ३५ खेलमा पाँच हजार २११ खेलाडीको सहभागिता रहेको छ । तीमध्ये दुई हजार ८ सय २५ पुरुष र दुई हजार ३८६ महिला खेलाडीको सहभागिता रहेको छ ।

प्रतियोगितामा ३ सय ७२ स्वर्ण, ३ सय ७२ रजत र ५ सय ६३ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा फुटबल, एथलेटिक्स, बक्सिङ, भारोक्तोलन, टेबलटेनिस, क्रिकेट, लन टेनिस, पौडी, सुटिङ, भलिबल, स्क्वास, तेक्वान्दो, जुडो, आर्चरी, कबड्डी, खोखो, उसु, बास्केटबल, ब्याडमिन्टन, साइक्लिङ, कराते, कुस्ती, फेन्सिङ, ट्रायथलन, प्याराग्लाइडिङ, गल्फ, ह्याण्डबल, बुद्धिचाल, सफ्टटेनिस, आइटिएफ तेक्वान्दो, सेपाकताक्रो, जिम्न्याष्टिक, शारीरिक सुगठन, फुलकन्ट्याक्ट कराते र हक्कीसहित ३५ खेलहरु समावेश गरिएका छन् ।

प्रतियोगिताका खेलहरु बाँकेमा १७, दाङमा सात, रुपन्देहीमा चार, बर्दियामा चार, ललितपुर, कास्की, कपिलवस्तु र काठमाडौँमा एक÷एक खेल आयोजना हुनेछ । बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याडबल, कराँते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइकिलिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल हुनेछन् ।

त्यसैगरी, दाङमा महिला फुटबल, एथ्लेटिक्स, कराँते, ब्याटमिन्टन, बास्केटबल, आइटिएफ तेक्वान्दो र महिला क्रिकेटका खेल हुनेछन् । यस्तै रुपन्देहीमा शारीरिक सुगठन, सफ्ट टेनिस, लङटेनिस, तेक्वान्दोका खेल आयोजना गरिनेछ । उता, बर्दियामा कबड्डी, बुद्धिचाल, खोखो, सेपाकताक्रोका खेल हुनेछन् भने ललितपुरमा स्क्वास, कास्कीमा प्याराग्लाइडिङ, कपिलवस्तुमा कुस्ती र काठमाडौँमा गल्फ प्रतियोगिता गरिने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।