अक्षय कोषकालागि रु ७५ लाख संकलन, १८ अगष्टको तयारी पूरा

अक्षय कोषकालागि रु ७५ लाख संकलन, १८ अगष्टको तयारी पूरा


rabindra-mishraलण्डन । आउंदो आइतबार अगष्ट १८ तारिखका दिन अल्डरशटमा हेल्प नेपाल नेटवर्कले स्थापना गर्न लागेको रु दश करोडको परोपकारी अक्षय कोषकालागि आयोजना गर्न लागिएको वृहत् सहयोग संकलन कार्यक्रमको तयारी पुरा भएको नेटवर्कले जनाएको छ।

बेलायतस्थित दाताहरुबाट अहिलेसम्म झण्डै पचहत्तर लाख रुपियां संकलन भैसकेको सहयोग संकलन अभियानका मुख्य संयोजक तथा हेल्प नेपाल नेटवर्क युकेका सल्लाहकार सूर्य गुरुङले बताउनुभयो।

अल्डरशटको दि कनाट स्कुल (Tongham Rd Aldershot, GU12 4AS) मा दिउंसो एक बजे कार्यक्रम शुरु हुनेछ। कार्यक्रमलाई हेल्प नेपाल नेटवर्कका संस्थापक अध्यक्ष रबीन्द्र मिश्रले पनि संबोधन गर्नुहुनेछ।

कार्यक्रमको अहिलेसम्मको तयारीको लेखाजोखा गर्न अगष्ट ११ तारिखका दिन फार्नबरोस्थित गोर्खा प्यालेस रेष्टुरेण्टमा बसेको बैठकमा मुख्य संयोजक गुरुङले अहिलेसम्मको तयारी बारे जानकारी गराउनुभएको थियो। त्यस्तै ७८ जना फण्डरेजिङ कोअर्डिनेटरहरुले अहिलेसम्म आफुहरुले संकलन गरेको सहयोगबारे जानकारी दिनुभएको थियो।

अगष्ट १८ को कार्यक्रम भव्यताकासाथ सम्पन्न गर्न झण्डै असी जना स्वयमसेवीहरुलाई विभिन्न जिम्मेवारी बांडफांड पनि गरिएको छ।

“हामीले बेलायतबाट मात्रै उक्त अक्षय कोषकालागि झण्डै एक करोड रुपियां सहयोग संकलन गर्ने लक्ष्य राखेका छौं। त्यसैले बेलायतस्थित सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई यो अभियानमा मन खोलेर सहयोग गरीदिनुहुन हामी हार्दिक अपील गर्दछौं,” गुरुङले भन्नुभयो।  उहांले यस पुनित काममा सहयोग गर्न चाहनुनुहुने सबै संघसंस्था तथा महानुभावहरुले हेल्पनेपाल युकेका फण्डरेजिङ कोअर्डिनेटरहरु संग सम्पर्क गर्न पनि आग्रह गर्नुभयो।

यसअघि अष्ट्रेलिया र न्युजिल्याण्डमा आयोजित विभिन्न कार्यक्रमहरुबाट रु दश करोडको अक्षय कोषकालागि रु एक करोड दशलाख भन्दा बढी रकम संकलन भएको थियो।

सन् १९९९ मा स्थापित नेटवर्कले शिक्षा, स्वास्थ्य तथा आपत्कालिन मानवीय सहायतका क्षेत्रमा अहिलेसम्म एकसय भन्दा बढी परियोजनाहरु पुरा गरिसकेको छ। विदेशमा बस्ने नेपालीहरुले प्रत्येक महिना दिएको एक पाउण्ड वा एक डलरबाट पनि नेपालमा थुप्रै काम गर्न सकिन्छ भन्ने उदाहरण सो संस्थाले प्रस्तुत गरेको छ।

थप जानकारीकालागि सम्पर्क:

सूर्य गुरुङ ०७७ ९५५१ ८२२८ (मो.)

सचिन श्रेष्ठ ०७८ ८८८१ २३१२ (मो.)