बेलायतमा इन्टरनेटमा अश्लिल सामग्री हेर्न नपाइने

बेलायतमा इन्टरनेटमा अश्लिल सामग्री हेर्न नपाइने


Cameron's internet speechएजेन्सी/बेलायतमा अब इन्टरनेटमा अश्लिल सामग्री हेर्न नपाइने भएको छ । बेलायत सरकारले छिट्टै नै इन्टरनेटमा अश्लिल सामग्रीको प्रशारण रोक्ने भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीका अनुसार बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले छिट्टै नै त्यस्तो घोषणा गर्दैछन् ।

बेलायतमा अब इन्टरनेट प्रदायक कम्पनीहरुले नै अश्लिल सामग्रीहरुलाई फिल्टर गरेर बन्द गर्नुपर्ने व्यवस्था लागू हुँदैछ । अनलाइनमा अश्लिल सामग्री हेर्नु बलात्कारजस्तै गैरकानुनी हुने पनि समाचारमा उल्लेख छ । प्रधानमन्त्री क्यामरुनले बच्चाहरुको मस्तिष्कमा नकारात्मक असर पुर्‍याउने अश्लिल सामग्री रोक्नका लागि घोषणा गर्दैछन् । जसअनुसार इन्टरनेट प्रदायक कम्पनीहरुलाई अश्लिल सामग्री फिल्टर गर्ने पद्धति लागू गर्नका लागि अक्टोबरसम्मको समय दिइने भएको छ ।

क्यामरुनले अबोध बच्चालाई अश्लिल सामग्रीको नकारात्मक असर पर्न नदिन, समाजमा बलात्कारका घटनाहरु रोक्नका लागि इन्टरनेटमा त्यस्ता सामग्री सहज रुपमा उपलब्ध नहुने व्यवस्था मिलाउन लागिएको घोषणाको तयारी गरिरहेको बीबीसीले समाचारमा जनाएको छ ।

बेलायत सरकारको यस्तो तयारीप्रति महिला अधिकारको क्षेत्रमा क्रियाशील संघ–संस्थाहरुले स्वागत गरेका छन् । उनीहरुले यसअघि नै इन्टरनेटमा अश्लिल सामग्री सहजै उपलब्ध नहुने व्यवस्था मिलाउन माग गर्दै आएका थिए ।

क्यामरुनले अश्लिलताका लागि कुनै स्थान नरहने घोषणा गर्ने तयारी गरेको पनि समाचारमा जनाइएको छ । क्यामरुनले आफ्नो सम्बोधनका क्रममा गुगललगायत सबै सर्च इन्जिनहरुको पनि अश्लिल सामग्री सहज उपलब्धतालाई रोक्नु कर्तब्य हुने बताउने छन् ।