
लण्डन / एनआरएनए युकेको चुनावी रौनकले साउथइस्ट लण्डनवासी नेपालीहरुलाई तताएको छ । वृद्धवृद्धा तथा युवाहरु हात हातमा फर्म लिएर आफ्ना पक्षका उम्मेदवारहरुलाई जिताउन लागिपरेका छन् । विद्यार्थी भिषामा बेलायत आएका विद्यार्थीदेखि पूर्व गोर्खाहरुलाई पनि चुनावी रौनकले छोपेको छ ।
साउथइस्ट लण्डनमा चुनावी चहलपहल बढ्नुमा स्थानीय उम्मेदवारहरुको सहभागिताले हो । १५ हजार बढी नेपालीको बसोबास रहेको यस क्षेत्रकाट उपाध्यक्ष महेन्द्र कँडेल चुनावी मैदानमा छन् । सबैको एकै मत छ, ‘दुई÷दुई कार्यकाल बिताइसकेका सक्षम उम्मेदवार कँडेललाई यस पटक जसरी भए पनि अध्यक्षमा जिताउनुपर्छ ।’ कँडेलले उपाध्यक्षमै रहि २ कार्यकाल सफलतापूर्वक निर्वाह गरिसकेका छन । कँडेल आगामी सेप्टेम्बर १५ मा हुने निर्वाचनमा भाग लिने मनस्थिति बनाएका मध्ये सबैभन्दा अनुभवी र सक्षम उम्मेदवार पनि हुन् ।
आइतबार साउथइस्ट लण्डनमा भेला भएका साउथइस्टबासी नेपालीहरुले अध्यक्षका प्रत्यासी महेन्द्र कँडेललाई सबैले मिलेर जिताउनु पर्ने समेत बताए । कार्यक्रममा सम्बोधन गर्दै स्थानीय व्यवसायी एवं सदस्यका प्र्रत्यासी उम्मेदवार ललित न्यौपानेले कँडेल अनुभवी एवं सक्षम उम्मेदवार भएकाले उनलाई जिताउन लागिपर्ने उद्घोष गरे । “उपाध्यक्षमा २ कार्यकाल बिताइसकेका कँडेल अनुभवी छन्”, न्यौपानेले भने, “एनआरएनएका अधुरा कामहरु उनका अनुभवले सजिलै पूरा हुन सक्छन् । मानिस भन्दा पनि काम गर्न को सक्षम र अनुभवी छ भन्ने हामीले बुझ्नुपर्छ ।”
एनआरएनए युकेका सदस्य दासुराम पाण्डेले एनआरएनए युकेको नेतृत्वका लागि आफूहरु तयारी अवस्थामा रहेको बताए । उनले क्षेत्रगत हिसाबले साउथइस्टवासी नेपालीहरुलाई महत्वपूर्ण अवसर आएकाले यस अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिएका थिए । एनआरएनएमा साउथइस्ट लण्डनबाट राइट क्याण्डिडेट जाने उल्लेख गर्दै उनले टिमलाई जिताउनु हामी सबैको दायित्व भएको उल्लेख गरे ।
“म पनि एनआरएनए युकेको अभियानमा नै हुनेछु, एनआरएनए आन्दोलनबाट बाहिरिने मेरो सोचाइ छैन”, पाण्डेले भने, “साउथइस्टबासीहरु एउटै टिम बनाएर जाने सोचमा छौं ।”
एनआरएनए युके उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी महेन्द्र कँडेलले एनआरएनएमा आफूलाई सेवा गर्ने अवसर दिन आग्रह गरेका थिए । “मलाई सेवा गर्ने मौका दिनुभयो भने म त्यो जिम्मेवारी पूरा गर्न तयार छु”, २ कार्यकाल उपाध्यक्ष रहिसकेका अनुभवी कँडेलले भने, “साउथइस्टबासी नेपालीको जित नै मेरो जित हुनेछ ।”
कँडेलको उम्मेदवारीलाई ग्रिनवीच फोरम नेपालका अध्यक्ष डा. राम अधिकारी, विजी नेसाका उपाध्यक्ष समेत रहेका एनपीसीसी साउथइस्ट लण्डनका अध्यक्ष भोज गुरुङ, नेपाल विद्यार्थी संघ युकेका प्रतिनिधिहरु, जि गेसा, तमुधिं साउथइस्ट लण्डन इकाई, मगर संघ साउथइस्ट लण्डन लगायतका प्रतिनिधिहरुले समर्थन गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
सामाजिक सञ्जाल फेसबुकमा समेत अध्यक्षका उम्मेदवार कँडेल निकै अगाडि छन् । यस्तै नेपालब्रिटेन डटकमले गरेको पोल सर्वेक्षणमा पनि उनी नै अगाडि थिए । अन्य उम्मेदवारभन्दा उनी यी दुवैमा निकै लोकप्रिय छन् । अध्यक्षका अन्य प्रत्यासीहरुमध्ये रामशरण सिंखडा निकै तल र अलोकप्रिय सावित भएका छन् ।
साउथइस्ट लण्डनमा चुनावी माहौल बनाउन आएका अध्यक्षका अर्का प्रत्यासी योगेन क्षेत्रीलाई साउथइस्टबासीले एनआरएनलाई विवादरहित बनाएर जान सुझाव दिएका छन् । अहिले महेन्द्र कँडेलकै पालो भएकाले उहाँको टिम मिलेर जाने सल्लाह दिएको एक सहभागीले बताए ।
प्रतिक्रिया