श्रीलंका विस्फोट अपडेट : १०५ को मृत्यु, ४५० भन्दा बढी घाइते

श्रीलंका विस्फोट अपडेट : १०५ को मृत्यु, ४५० भन्दा बढी घाइते


श्रीलंकाको राजधानी कोलम्बोका प्रतिष्ठित तथा विलाशी होटेल एवं गिर्जाघर (चर्च)मा आइतबार भएका शृंखलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या १०५ पुगेको प्रहरीले जनाएको छ । विस्फोटमा परी अरू ४५० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

पहिलो विस्फोटन राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानीनजिकको सेन्ट सेबास्टियन चर्चमा भएका थिए । सेन्ट एन्थोनी विस्फोटमा कम्तीमा १६० जना घाइते भएका र उनीहरूलाई उपचारका लागि कोलम्बो नेसनल अस्पतालमा भर्ना गरिएको छ ।

चर्चमा विस्फोट भएलगत्तै राजधानीका तीनवटा होटेलमा पनि आक्रमण भएको प्रहरीले जनाएको छ । राजधानी कोलम्बोका सांग्र्रिला, सिनमन ग्रान्ड र किङ्सबरी होटेलमा पनि विस्फोट भएका छन् ।
मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको एक चर्चमा पनि विस्फोट भएको छ ।

बाट्टिकोलोवा अस्पतालका एक अधिकारीले चर्चमा भएको विस्फोटबाट घाइते भएका तीन सयभन्दा बढी व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको बताएका छन् ।

सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा चर्चको छाना ध्वस्त भएको देखिएको छ । चर्चको भुँइ टुटेफुटेका टाइल, भाँचिएका काठपात र रगत लतपतिएको देखिएको छ । तर, यी तस्बिरको प्रामाणिकता पुष्टि हुन बाँकी छ ।

बौद्धमार्गी बहुल श्रीलंकामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । गिर्जाघरहरूमा विस्फोट हुँदा इसाई धर्मावलम्बीहरू इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी रहेको बताइएको छ । अहिलेसम्म उक्त घटनाको जिम्मेवारी कसैले लिएको छैन ।