- श्रीविक्रम भण्डारी
बुख्याचाहरू खडा गरेर प्रदेश ५ मा सञ्चालन भइरहेको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनामा दखलअन्दाज गर्न खोजिए पनि त्यो प्रयास असफल भएको छ । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले आठौँ राष्ट्रियको उद्घाटन गर्दै लालमोहर लगाएपछि अहिले बुख्याचाहरू आठौँको मैदानबाट अलप भएका छन् । आठौँ हुन नदिन अन्तिम समयसम्म बुख्याचाले न्वारानदेखिको बल लगाएका थिए । तर, दृढ सङ्कल्पका साथ अगाडि बढेको राष्ट्रिय खेलकुद परिषद्ले आठौँको उद्घाटन वैशाख ५ गते तोकिएको समयमा राष्ट्रपति भण्डारीबाट गराएर राष्ट्रिय खेलकुदलाई निरन्तरता दिन सफल भएको छ । परिणाम, प्रत्येक दुई वर्षमा आयोजना हुने राष्ट्रिय खेलकुदमा अबदेखि प्रत्येक दुई वर्षमा आयोजना हुने भएको छ । जसको नजिरको रूपमा आठौँ राष्ट्रिय बनेको छ । लामो समयपछि पूर्वाञ्चलको विराटनगरमा ०७३ सालमा सातौँ राष्ट्रिय प्रतियोगिताको आयोजना भएको थियो ।
राष्ट्रिय प्रतियोगिताको आठौँ संस्करणसम्म आइपुग्दा यो प्रतियोगिता एउटा शहरमा मात्रै केन्द्रित नभई विकेन्द्रीकरण हुँदै प्रदेशका विभिन्न शहर र गाउँसम्म झाँगिन पुगेको छ । आठौँमा भइरहेका खेलहरूको प्रतिस्पर्धा हेर्दा योे कुरालाई आत्मसात् गर्न सकिन्छ । आठौँ राष्ट्रियमा समावेश ३५ खेल बाँके, बर्दिया, दाङ, कपिलवस्तु र रूपन्देहीमा हुनुले पनि यसलाई प्रमाणित गर्छ । मुलुक प्रदेशमा विभक्त हुनु र आठौँ राष्ट्रियलाई सोहीबमोजिम नौलो साँचोमा ढाल्दै प्रतियोगिताको आयोजना गरिनु आफैँमा चुनौतीपूर्ण थियो । यस्तो नौलो अवधारणाका साथ आयोजना हुने राष्ट्रिय प्रतियोगिताले आफ्नो औचित्य पुष्टि गर्न सक्छ या सक्तैन त्यो अहम् मात्र नभई प्रश्नचिह्नको घेरामा समेत परेको थियो । साँचो रूपमा भन्नुपर्दा यस्तो अवधारणाले आठौँको आयोजनामा ठूलो चुनौती थपेको थियो । तर, स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको विशेष सहयोगले अहिले आठौँको आयोजनामा ऐतिहासिक सफलता प्राप्त भएको छ । जसको खेलकुदका पदाधिकारीले मात्र नभई खेलाडीले समेत प्रशंसा गरिरहेका छन् । सबैले राष्ट्रिय खेलकुदको आयोजनामा होस्टेमा हैँसे गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।
आठौँ राष्ट्रिय प्रतियोगिता प्रदेश ५ का विभिन्न पाँचवटा शहरमा आयोजना हुने भएपछि आठौँको आयोजनाको लागि भौतिक पूर्वाधार विशेष चुनौती बनेको थियो । राष्ट्रिय खेलकुद परिषद् र प्रदेश ५ आयोजक कमिटीले अन्य पूर्वाधारहरूको निर्माण समयमै गरे पनि मुख्य रंगशाला नेपालगञ्ज रंगशालाको भीआईपी प्यारापिट समयमा निर्माण गर्न नसक्दा आठौँको मिति तीनपटक सरेको थियो । नेपालगञ्ज रंगशालाकै कारण आठौँको आयोजनासमेत धरापमा परेको थियो । तर, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले आठौँको आयोजनामा जुन सक्रियता, आँट र साहस देखाए त्यसले अहिले मूर्तरूप पाएको छ । प्रदेश ५ का विभिन्न शहरमा आठौँका खेलहरू सफलतापूर्वक आयोजना भइरहेका छन् । यति हुँदाहुँदै पनि आठौँको आयोजना हुनुपर्ने पौडीपोखरीको निर्माण समयमै हुन नसक्दा आयोजक चुकेको छ । वैशाख ८ गते उक्त पौडीपोखरीमा हुनुपर्ने खेलहरू अन्य ठाउँमा सारेर आयोजना गर्न आयोजक बाध्य भएको छ । सञ्चारकर्मीले पौडीपोखरीबारे जिज्ञासा राख्दा क्षेत्रीय अध्यक्ष भीम ओलीले ठोकुवाका साथ यसै पौडीपोखरीमा आठौँको आयोजना हुने बताएका थिए, जुन अहिले गलत साबित भएको छ ।
आठौँ राष्ट्रिय प्रतियोगिताको विश्लेषण गर्दा राष्ट्रिय प्रतियोगिता गाउँगाउँमा पुगेको अनुभव गर्न सकिने भए तापनि पूर्ण रूपमा तयार नभएका पूर्वाधारले गर्दा आठौँप्रति प्रश्न उठाउने ठाउँ प्रसस्त छन् । यस्ता पूर्वाधारप्रति खेलाडी, प्रशिक्षक र खेलकुदविज्ञहरूले आपत्तिसमेत प्रकट गरेका छन् । जुन खेलकुदको सर्वोपरि विकास र विस्तारका लागि सकारात्मक पक्ष मानिए पनि खेलकुदका पदाधिकारीले यसलाई आफ्नै तरिकाले विश्लेषण गरेका छन् । एक खेलकुद पदाधिकारीले भने, ‘भौतिक पूर्वाधारको निर्माणको लागि राज्यले कति लगानी गऱ्यो र सोबमोजिम पूर्वाधार निर्माण भए कि भएनन् त्यो महत्वपूर्ण हो ।’
‘आठौँ’को लागि अहिले जति पनि पूर्वाधार निर्माण भएका छन् त्यो शुरुवात मात्रै हो, जब यी पूर्वाधारले पूर्णता पाउनेछन् तब यिनीहरूको स्वरूप नै बदलिनेछ । जस्तै अहिले नेपालगञ्ज रंगशालाको स्वरूप बदलिएको छ । आठौँले जग हाल्ने कार्य गरेको अब यसलाई आधुनिक खेल सञ्चालन गर्न उपयुक्त थलो बनाउने जिम्मेवारी प्रदेशको काँधका आएको छ । दाङको रंगशाला, कोहलपुर, नवलपरासी र लमहीको क्रिकेट रंगशाला, खजुराको भलिबल ट्रेनिङ सेन्टर र नेपालगन्ज रंगशाला परिसरको पौडीपोखरी यसका उदाहरण हुन् । यदि भविष्यमा यी पूर्वाधारको स्तरोन्नति गर्न सकियो भने प्रदेश पाँचमा राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्न सकिने ती पदाधिकारीले दाबी गरे ।
अहिलेसम्म आयोजना भएका राष्ट्रिय प्रतियोगिता पूर्ण रूपमा पूर्वाधार निर्माण भएर आयोजना भएका थिएनन् । यो कुरामा आठौँ राष्ट्रिय पनि अछुतो रहन सकेन । अन्य राष्ट्रिय प्रतियोगिताभन्दा आठौँमा केही सुधार भएको देखिए पनि आर्थिक अभाव र पूर्वाधारका कारण आठौँ राष्ट्रिय पनि परम्परागत रूपमै आयोजना भएको थियो भन्दा अतिसयोक्ति नहोला । विगतमा सञ्चालन भएका राष्ट्रिय प्रतियोगिता र आठौँ राष्ट्रिय खेलकुदलाई तुलनात्मक रूपमा हेर्दा केही सुधार अवश्य भएको छ । तर, आयोजनाका लागि मात्रै आयोजना गरिएका विगतका राष्ट्रिय प्रतियोगिता र आठौँ राष्ट्रिय प्रतियोगिताको तुलना कदापि गर्न मिल्दैन । किनकि आठौँ राष्ट्रिय प्रतियोगिता जसरी गरिए पनि यसले राष्ट्रिय प्रतियोगिताको औचित्य पुष्टि गर्न सक्नुपर्छ । यसर्थमा कि यो प्रतियोगितालाई नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको मेरुडण्डको रूपमा पनि हेरिएको छ । यो प्रतियोगितामा सफलता हासिल गर्ने खेलाडीबाट अन्तर्राष्ट्रिय पदक जित्ने आशा पनि गरिएको छ ।
राष्ट्रिय खेलकुदले निरन्तरता पाउनु सबैभन्दा उपलब्धिको कुरा हो । यसो भन्दैमा राष्ट्रिय प्रतियोगिताको इथिक मर्नुचाहिँ हुँदैन । राष्ट्रिय प्रतियोगिता जुन प्रयोजनका लागि आयोजना गरिएको हो त्यसमा खरो उत्रिनैपर्छ । यहाँ उदीयमान खेलाडीले खेल्न अवसर पाए भन्दैमा मख्ख पर्नु आवश्यक छैन । यसर्थमा कि राज्यले यति ठूलो लगानी गरेपछि राष्ट्रिय प्रतियोगिताबाट ‘हिरो’ पनि जन्मिनुपर्छ । पौडी, एथलेटिक्स र भारोत्तोलनमा आफ्नो कीर्तिमान तोडेर आफैँले केही सेकेन्ड केही किलोको भार बढी उठाउँदैमा त्यसलाई राष्ट्रिय कीर्तिमान मान्न सकिँदैन । राष्ट्रिय कीर्तिमान त्यस्तो बनोस् जसले अन्तर्राष्ट्रिय पदक जित्न सकोस् । त्यसको लागि आठौँ राष्ट्रिय कत्तिको सहायकसिद्ध भयो त्यसको लेखाजोखा सम्बन्धित निकायले गर्नुपर्छ । अन्यथा राष्ट्रिय प्रतियोगिताको नाममा जस्तोसुकै राष्ट्रिय प्रतियोगिता गरे पनि त्यो राष्ट्रको लागि औचित्यहीन हुने प्रायः निश्चित छ । यतिबेला आठौँ राष्ट्रिय प्रदेश ५ मा सञ्चालन भइरहेको छ, यो खेलकुद र खेलाडीको लागि सकारात्मक पक्ष हो । तर, आठौँ राष्ट्रिय मुलुकका लागि कति उपलब्धिमूलक साबित हुन्छ त्यो सबैभन्दा महत्वपूर्ण कुरा हो ।
प्रतिक्रिया