सुटिङ १० मिटर एयर राइफलमा सुस्मिताको कीर्तिमान

सुटिङ १० मिटर एयर राइफलमा सुस्मिताको कीर्तिमान


आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत सुटिङतर्फ महिला १० मिटर एयर राइफलमा प्रदेश ३ की सुस्मिता नेपालले वैशाख १० गते मंगलबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

२४० पूर्णांकमा २३४ अंक जोड्दै स्नेहा राज्यलक्ष्मी राणाले राखेप च्याम्पियनसिपमा बनाएको २३३ अंकलाई भंग गर्दै सुस्मिताले कीर्तिमानी स्वर्ण जितिन् । २२७ अंकमा आर्मीकी कल्पना परियार दोस्रो तथा २०३ अंकमा प्रहरीकी अस्मिता राई तेस्रो भए ।

नेपालगन्ज रंगशालास्थित सुटिङ रेन्जमा भएको प्रतियोगिताअन्तर्गत सोही स्पर्धाको पुरुषमा प्रदेश ५ का अर्नव घिमिरे पहिलो भए । उनले कुल २४० अंकमा २१६ अंक जोडे । २१४ अंक जोडेका प्रहरीका हरिबहादुर थापा दोस्रो तथा १९६ अंक जोडेका आर्मीका सुसे चौधरी तेस्रो भए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।