आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भैरहवामा सञ्चालन भएको तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लब ११ स्वर्णसहित च्याम्पियन भएको छ । नेपाल पुलिसले ११ स्वर्ण तीन रजत र तीन कांस्य पदकसहित कुल १७ पदक जित्दै आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तेक्वान्दोतर्फ उत्कृष्ट बन्न सफल भएको छ ।
त्यसैगरी ६ स्वर्ण चार रजत र सात कांस्य पदकसहित १४ पदक जित्दै नेपाली सेनाको टिम दोस्रो भएको छ । अर्को विभागीय टिम एपीएफ क्लब दुई स्वर्ण, सात रजत र पाँच कांस्यसहित १४ पदक जित्न सफल भयो । स्वर्ण र रजतको २१–२१ पदकमध्ये १९ वटा स्वर्ण विभागीय टिमको पोल्टामा र रजतका २१ मध्ये १४ वटा विभागीय टिमले नै जितेका छन् ।
स्वर्णका बाँकी दुई पदक प्रदेश १ र प्रदेश ५ ले प्राप्त गरेका छन् । प्रदेश १ ले एक स्वर्ण, तीन रजत र पाँच कांस्य गरी कुल नौ पदकसहित चौथो स्थानमा रहँदा प्रदेश ५ ले एक स्वर्ण, एक रजत र तीन कांस्यसहित पाँच पदक जिती पाँचौँ स्थानमा रहे । त्यस्तै, प्रदेश २ ले एक रजत र चार कांस्य, प्रदेश ३ ले एक रजत, ६ कांस्य, सुदूरपश्चिमले एक रजत र तीन कांस्य तथा गण्डकी प्रदेशले चार कांस्य जित्न सफल भए ।
प्रतियोगितामा बेस्ट फाइटर पुरुषतर्फको पुरस्कार नेपाली सेनाका सक्षम कार्की र बेस्ट फाइटर (महिला)तर्फ नेपाल पुलिसकी रेजिना कार्की घोषित भई पुरस्कृत भए भने बेस्ट कोचको पुरस्कारबाट नेपाल पुलिसका रञ्जन श्रेष्ठ पुरस्कृत भए ।
वैशाख १० गते मंगलबार सम्पन्न विभिन्न ६ तौल समूहका खेलमध्ये पुरुष ५४ केजी तौलमुनि नेपाल पुलिसका मनोज मल्लले स्वर्ण, एपीएफका गणेश चौधरीले रजत पदक जिते । त्यसैगरी महिलाको ४६ केजीमुनि तौल समूहमा नेपाल पुलिसकी रेजिना कार्कीले स्वर्ण जित्दा सुदूरपश्चिम प्रदेशकी गीता कठेतले रजतमै चित्त बुझाइन् ।
पुरुषको ५८ केजीमुनि तौल समूहमा प्रदेश ५ का गोविन्दबहादुर आलेले स्वर्ण जित्दा एपीएफका चन्द्र रानामगरले रजत पदक जिते । महिलाको ४९ केजीमुनि तौलमा नेपाली सेनाकी युनिसा राईले स्वर्ण र एपीएफकी अस्मिता खड्काले रजत प्राप्त गरे ।
पुरुषको ८७ केजीमाथि नेपाल पुलिसका अनुज पुजारीले स्वर्ण जित्दा नेपाली सेनाका रामहरि महतले रजत जिते । महिला ७३ केजी तौलमाथि प्रहरीकी मनिता शाहीले स्वर्ण जितिन् भने एपीएफकी सुष्मा गुरुङले रजत जितिन् ।
प्रतियोगितामा विजेता खेलाडीलाई प्रमुख अतिथि संघीय इकाइ प्रहरी कार्यालय भैरहवाका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक राजेशलाल कर्ण, नेपाल तेक्वान्दो संघका केन्द्रीय सचिव नवीनकुमार श्रेष्ठ, केन्द्रीय सदस्य हीरा थापा, डब्लूटीएफका नेपाल प्रतिनिधि कोङयोङ दोल र नेपालका मुख्य प्रशिक्षक नन्दुकुमार राईले पदक, ट्रफी, प्रमाणपत्र प्रदान गरेका थिए ।
विजेता तथा उपविजेता टिम र उत्कृष्टहरूलाई नेपाल तेक्वान्दो संघ प्रदेश ५ का संयोजक कोसिस खड्का, उपाध्यक्षद्वय प्रकाशमान राजभण्डारी र परागदास गोर्खाली र रूपन्देही जिल्ला तेक्वान्दो संघका अध्यक्ष दीपेन्द्र्र बुढाप्रितले ट्रफी र पुरस्कार सौजन्य गरेका थिए । प्रतियोगितामा पुम्से र स्पाइरिङ विधामा गरी दुई सय ४२ खेलाडी सहभागी थिए ।
प्रतिक्रिया