आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत १४औँ राष्ट्रिय उसुमा आर्मीले सर्वाधिक १४ स्वर्ण जितेको छ । आर्मीले थप एक रजत र तीन कांस्य पनि जित्यो । एपीएफले पाँच स्वर्ण, आठ रजत र पाँच कांस्य हात पाऱ्यो । प्रहरीले दुई स्वर्ण, एक रजत र पाँच कांस्य प्राप्त गऱ्यो । २२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी एक स्वर्ण कर्णाली प्रदेशले हासिल गऱ्यो ।
वैशाख १० गते मंगलबार थाउलोमा दुई तथा सान्सौंमा ६ गरी आठ स्पर्धाका फाइनल भएका थिए । थाउलोको महिला चियन सु छियाङ सुमा एपीएफकी कविता थापामगर पहिलो भइन् । कविताले १८.०५ अंक जोडिन् । सुदूरपश्चिम प्रदेशकी अलिसा खाती दोस्रो तथा आर्मीकी मुना शिरीषमगर तेस्रो भए । पुरुष ताव सु कुन सुमा आर्मीका विश्व बुढामगरले स्वर्ण जिते । उनले १८.९ अंक जोडे । एपीएफका कुमार सिन्जाली दोस्रो तथा प्रदेश ५ का राजीव तामाङ तेस्रो भए ।
सान्सौंको महिला ५२ केजीमा आर्मीकी एलिना चौधरीले सुदूरपश्चिम प्रदेशकी गौरी घर्तीमगर, ५६ केजीमा प्रहरीकी जुनी राईले एपीएफकी कमला बोहरा तथा ६० केजीमा आर्मीकी लुमन्ती श्रेष्ठले एपीएफकी निशा विकलाई फाइनलमा पराजित गर्दै पहिलो भए ।
महिला ६५ केजीमा एपीएफकी मनीषा रावतले प्रहरीकी पूजा गुप्तालाई, ७० केजीमा आर्मीकी विन्दु पुनमगरले प्रदेश १ की तनुजा सुन्दासलाई र ७५ केजीमा आर्मीकी शिलु डंगोलले गण्डकीकी अनिशा आलेमगरलाई फाइनलमा पाखा लगाउँदै स्वर्ण जिते ।
प्रतिक्रिया