आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत एघारौँ राष्ट्रिय सफ्ट टेनिसको पुरुष एकल फाइनलमा प्रदेश १ का युकेश योन्जनले स्वर्ण जिते । उनले प्रदेश ३ का प्रदीप खत्रीलाई ४–२ को सेटमा पराजित गर्दै स्वर्ण हात पारे । प्रदेश १ का रनिश तामाङ र प्रदेश ५ का सुरज चौधरी तेस्रो भए ।
महिला एकलमा प्रदेश ३ की चन्द्रमाया राईले एपीएफकी भगवती विकलाई ४–२ को सेटमा पराजित गर्दै स्वर्ण जितिन् । प्रदेश १ का श्रीया योन्जन र गण्डकी प्रदेशका प्रिती बरालले कांस्य पदक जिते ।
टिम इभेन्ट पुरुषमा प्रदेश १ ले स्वर्ण जितेको छ । प्रदेश १ ले नेपाल पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै स्वर्ण जितेको हो । प्रदेश ३ र प्रदेश ५ तेस्रो बने । टिम इभेन्टकै महिलातर्फ भने प्रदेश ५ ले नै स्वर्ण जितेको छ । प्रदेश १ लाई ४–२ को सेटमा पराजित गर्दै प्रदेश ५ ले स्वर्ण जितेको हो । गण्डकी प्रदेश र प्रदेश ३ तेस्रो भए ।
यसअघि भएको पुरुष युगलमा नेपाल पुलिसका कमल भण्डारी र नौबहादुर लुगेलीको जोडीले स्वर्ण हात पारेका हुन् । प्रदेश १ का युकेश योन्जन र आशिष बोहराको जोडीलाई ५–४ को सेटमा पराजित गर्दै स्वर्ण हात पारेका हुन् । प्रदेश ३ का प्रदीप खत्री र वृजेश पाण्डे तथा प्रदेश ५ का सुभम खनाल र सुरज चौधरीको जोडी तेस्रो भए ।
महिला युगलतर्फको खेलमा प्रदेश ३ का सुनिरा थापा र चन्द्रमाया राईको जोडीले स्वर्ण जितेका छन् । थापा र राईको जोडीले प्रदेश ५ का आश्मा भुसाल र रितिका चौधरीको जोडीलाई फाइनलमा ५–० को सेटमा पराजित गर्दै स्वर्ण आफ्नो नाममा पारे । प्रदेश १ का श्रीया योन्जन र जर्जिया चौधरीको जोडी तथा प्रदेश ४ का प्रीति बराल र सृष्टिका उदासको जोडी तृतीय भए ।
यसैगरी मिश्रित युगलतर्फको खेलमा प्रदेश ३ का चन्द्रमाया राई र निर्मल स्थापितको जोडीले स्वर्ण हात पारेका छन । राई र स्थापितको जोडीले फाइनलमा प्रदेश १ का युकेश योन्जन र जर्जिया चौधरीको जोडीलाई टाइब्रेकरमा ७–५ मा जित निकाल्दै स्वर्ण जितेका हुन् । आशिष बोहरा र श्रीया योन्जनको जोडी तथा सुरज चौधरी र रितिका चौधरीको जोडी तृतीय हुँदै कांस्य पदक पाएका छन् । सात इभेन्टमा गरी कुल ६८ जना खेलाडी सहभागी रहेका छन् ।
प्रतिक्रिया