आईटीएफ तेक्वान्दोमा आर्मीको वर्चश्व

आईटीएफ तेक्वान्दोमा आर्मीको वर्चश्व


आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत नेपालगञ्जमा सम्पन्न आईटीएफ तेक्वान्दोमा नेपाल आर्मी क्लब च्याम्पियन भएको छ । आर्मीले १६ स्वर्ण, २ रजत र ४ कांस्य पदक हात पारेको हो । ४ स्वर्ण, ९ रजत र ४ कांस्य पदक जितेको एपीएफ दोस्रो भएको छ । यसैगरी, ४ स्वर्ण, ७ रजत र १० कांस्य पदकसहित तीन नम्बर प्रदेश तेस्रो भयो ।

प्रतियोगितामा नेपाल आर्मी क्लबकी तुलसा राजथलाले तीन स्वर्ण पदक हात पारेकी छिन् । तेस्रो स्वर्ण जित्ने क्रममा उनले वैशाख १० गते मंगलबार ६१–६५ तौल समू्हमा स्वर्ण पदक जितिन् । सो समूहमा ५ नम्बर प्रदेशकी जानुका कँडेलले रजत तथा कर्णाली प्रदेशकी रमा रिजाल र श्वेता राईले कांस्य पदक जिते ।

महिलाकै ६५–७० किलो तौल समूहमा आर्मीकी कामना पुनले स्वर्ण पदक जितेकी छन् । तीन नम्बर प्रदेशकी डोल्मा गुरुङले रजत तथा गण्डकी प्रदेशकी बसन्ती बुढाथोकी र प्रदेश नम्बर एककी मिक्की गुरुङले कांस्य पदक जिते । ७० किलोमाथि आर्मीकी कायम लिम्बूले स्वर्ण पदक जितेकी छिन् । गण्डकी प्रदेशकी निकिता तामाङले रजत तथा ५ नम्बर प्रदेशकी सिर्जना चौधरी र ७ नम्बर प्रदेशकी सिर्जना सिजापतीले कांस्य पदक जिते ।

पुरुषको ७६–८० किलो तौल समूहमा ५ नम्बर प्रदेशका साजन पञ्चभैयाले स्वर्ण, ३ नम्बर प्रदेशका सुजन पुलामीमगरले रजत तथा आर्मीका विजय सुनुवार र गण्डकी प्रदेशका राजन रसाइलीले कांस्य पदक जिते । ८० किलोभन्दा माथि आर्मीका चाउची डंगोलले स्वर्ण पदक जित्दा गण्डकी प्रदेशका सुदीप आचार्यले रजत पदक जिते । ३ नम्बर प्रदेशका सागर बानियाँ र प्रदेश २ का शेरबहादुर सारु मगरले कांस्य पदक जिते ।