एपिएफले जित्यो क्रिकेटको स्वर्ण

एपिएफले जित्यो क्रिकेटको स्वर्ण


आठौँ राष्ट्रिय प्रतियोगिता अन्तर्गत क्रिकेटतर्फ एपिएफले बाजी मारेको छ । बाँकेको कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाईनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै एपिएफले उपाधिमाथि कब्जा जमाएको हो ।

त्यसैगरी महिला विधामा समेत एपिएफले बाजी मारेको छ । कोहलपुर क्रिकेट मैदानमा भएको फाईनल खेलमा टस जितेर ब्याटिङमा उत्रिएको एपिएफले पहिलो पारीमा १ सय १० रन जोड्न सफल भएको थियो । अनुभवी खेलाडीहरुको बर्चश्व रहेको एपिएफमा नयाँ खेलाडीहरुको प्रस्तुती उल्लेखनीय रह्यो ।

टिमका लागि अनिल शाहले ४ चौकाको मद्दतले सर्वाधिक ३१ रन जोडेका थिए । शंकर रानाले २३ रन जोडे । राष्ट्रिय टिमका प्रभावशाली खेलाडी शरद भेषवाकरले ९ रन जोड्दा भुवन कार्कीले ११ रन जोडेका थिए । बसन्त रेग्मीको नेतृत्वमा उत्रिएको एपिएफलाई रोक्ने क्रममा नेपाल पुलिस क्लबका ललित नारायण राजवंशीले ३ विकेट लिएका थिए भने सागर ढकालले २ तथा दिपेन्द्र सिंह ऐरी र मंजित श्रेष्ठले समान १-१ विकेट लिए ।

१ सय ११ रनको लक्ष्य पछ्याएको नेपाल पुलिस क्लव ७८ रनमै समेटियो । सुरुवाती ब्याट्सम्यान सुनिल धमलाले १५ रन जोडेपनि अन्य खेलाडीहरु क्रिजमा जम्न सकेनन् । सुरुवाती ओभरमै धर्मराएको पुलिसलाई कप्तान मंजित श्रेष्ठले लयमा ल्याउने प्रयास गरेका थिए । श्रेष्ठले ३६ बलमा १ छक्का र २ चौका प्रहार गर्दै २९ रन जोडेपनि टिमलाई जिताउन सकेनन् ।

पुलिसलाई दवावमा राख्ने क्रममा एपिएफका बलर कमलसिंह ऐरीले ३ विकेट लिएका थिए भने एपिएफका कप्तान बसन्त रेग्मी र सरद भेषवाकरले समान २–२ विकेट लिएका थिए । त्यसैगरी भुवन कार्की र अमरसिंह रौटेलले समान १–१ विकेट लिए ।