जापानका माकोतो ओदाकुराले प्रथम एसियन कप ट्राइयाथलन च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । माकोतोले निर्धारित ट्राइयाथलनको स्प्रिन्ट विधामा २० किलोमिटर साइक्लिङ, ७५० मिटर स्विमिङ र ५ किलोमिटरको दौड ५४ मिनेट ५७ सेकेन्डमा पार गर्दै स्वर्ण हात पारेका हुन् । उनी विश्व वरीयतामा ६३औँ र एसियन टेरिटोरीमा दोस्रो स्थानमा रहेका खेलाडी हुन् । दोस्रो स्थानमा रहेका पोल्यान्डका डान मेसिन्तोसले ५४ मिनेट ३४ सेकेन्ड र तेस्रो स्थानमा रहेका दक्षिण कोरियाका जी ह्वान किमले ५५ मिनेट २ सेकेन्डमा दूरी पूरा गरेका थिए ।
पोखरामा आयोजित च्याम्पियनसिपको महिलातर्फ कोरियाकी ए जिन पार्कले १ घन्टा २ मिनेट ५६ सेकेन्डका साथ स्वर्ण हात पारिन् । जापानकी कोनामी युसियुदाले १ घन्टा ३ मिनेट ५१ सेकेन्डमा साथ रजत र नाओमी ताकामिनेले १ घन्टा ४ मिनेट ५५ सेकेन्डका साथ रजत पाए ।
यस्तै, सातौँ दक्षिण एसियाली ट्राइयाथलन च्याम्पियनसिपअन्तर्गत नेपालका वसन्त थारूले स्वर्ण हात पारे । उनले एक घन्टा ३ मिनेट ५८ सेकेन्डमा दूरी पूरा गरे । दोस्रो स्थानमा लोकेशकुमार बाबुजी रहे । उनले १ घन्टा ७ मिनेट १३ सेकेन्डमा दूरी पार गरे । तेस्रो स्थानमा रहेका नेपालका नितेश मानन्धरले १ घन्टा ८ मिनेट ३४ सेकेन्डमा दूरी पार गरेका थिए ।
महिलातर्फ पहिलो र दोस्रो स्थानमा भारतका प्रग्न्या मोहन र मोनिका मुकेशभाइ नागपुरेले प्राप्त गरे । मोहनले १ घन्टा ९ मिनेट २३ सेकेन्डमा र नागपुरेले १ घन्टा १२ मिनेट ४७ सेकेन्डको समय निकाले । त्यस्तै, तेस्रो स्थानमा आएकी नेपालकी सोनी गुरुङले १ घन्टा १८ मिनेट ४९ सेकेन्डको समय लगाइन् ।
नेपालका खेलाडीको मात्र प्रतिस्पर्धा रहेको दुवाथलनमा सेनाका हिमाल टमाटाले स्वर्ण हात पारे । उनले ५ किलोमिटर दौड, २० किलोमिटर साइक्लिङ, २.५ किलोमिटरको दौड ५७ मिनेट १४.३० सेकेन्डमा पूरा गरे । यस्तै दोस्रो स्थानमा रहेका नेपाली सेनाका ५७ मिनेट ३७.४७ सेकेन्ड र तेस्रो स्थानमा रहेका एपीएफका किरणकुमार मल्लले ५७ मिनेट ५८.१७ सेकेन्ड लगाए ।
महिलातर्फ एपीएफकी हुमा बुढामगरले १ घन्टा १० मिनेट ४५.२२ सेकेन्ड, एपीएफकै निर्जता ताम्राकारले १ घन्टा ११ मिनेट ३८.३३ सेकेन्ड र दाङकी अनिषा चौधरीले १ घन्टा २२ मिनेट ०५.०५ सेकेन्डमा साथ पहिलो दोस्रो र तेस्रो स्थान हात पारे ।
प्रतियोगितामा नेपाल, जापान, कोरिया, काजाकिस्तान, लिथुनिया, पोल्यान्ड, अस्ट्रेलिया, भारत र बंगलादेशका पुरुषतर्फ १९ र महिलातर्फ आठ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । विजयी खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पुरस्कार वितरण गरेका थिए ।
प्रतिक्रिया