असहयोगको प्रयत्न गर्नेलाई विष्टको सहानुभूति

असहयोगको प्रयत्न गर्नेलाई विष्टको सहानुभूति


राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले प्रदेश ५ मा आयोजित राष्ट्रिय खेलकुद प्रतियोगिता सफलताका साथ सम्पन्न भएकोमा सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । त्यस्तै, असहयोगको प्रयत्न गर्नेप्रति सहानुभूति प्रकट गरेका छन् । विष्टले विभिन्न आशंका र अन्योलका बाबजुद समयमै आठौँ राष्ट्रिय भव्यतापूर्वक सम्पन्न भएकोमा प्रसन्नता प्रकट गरेका छन् । साथै सातौँ राष्ट्रिय सम्पन्न भएको दुई वर्षभित्रै आठौँको आयोजना गरेर ३३ वर्षपछि प्रदेश ५ र नेपालगञ्जले इतिहास रचेको पनि खुलासा गरेका छन् । यसको लागि विष्टले नेपालगञ्जलाई बधाईसमेत दिएका छन् ।

मुलुकको सबैभन्दा ठूलो खेलकुद महोत्सव सफल पार्न हजारौँ खेलाडी, अफिसियल, खेलप्रेमी, जनप्रतिनिधि, आमनेपाली त्यसमा पनि विशेषगरी नेपालगञ्जवासी, सञ्चारकर्मी, सुरक्षा निकायलगायतको प्रत्यक्ष अप्रत्यक्ष ठूलो सहयोग रहेको विष्टले बताएका छन् ।

यो महान् अभियान सबैको साथ–सहयोगले सम्पन्न भएको हो भन्दै सबै सहयोगी बधाईको पात्र भएको भन्दै सबैलाई हृदयदेखि अभिवादन दिएका छन् । त्यस्तै जसले चाहेर पनि सहयोग गर्न सक्नुभएन उहाँहरूप्रति पनि आभार र जसले असहयोग गर्ने प्रयत्न गर्नुभयो उनीहरूप्रति पनि सहानुभूति प्रकट गरेका छन् ।