क्याप्टेन विजयको बोलीमा लगाम नलाग्दा…

क्याप्टेन विजयको बोलीमा लगाम नलाग्दा…


प्रख्यात एक नेपाली उखान छ, जसलाई जस्ताको तस्तै यहाँ उद्धृत गर्दा अलिक अश्लील हुन सक्छ, त्यस उखानको सार सन्देशचाहिँ बोली र चरित्र जोगाउनु भन्ने छ । अर्को उखान पनि छ, त्योचाहिँ जस्ताको तस्तै लेख्न पनि मिल्छ- ‘बोल्न पाएँ भन्दैमा प्याच्च नबोल्नु, बस्न पाएँ भनेर थ्याच्च नबस्नु ।’ अर्थात्, बोली-व्यवहार गर्दा सोचविचार गरेर मात्र गर्नु ।

सायद यस्ता नेपाली उखानको मर्म नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामाले बोध गरेनन्, परिणमतः बोलीकै कारण जहाज उडाउने उनको लाइसेन्स रद्द हुन पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका प्रवक्ता समेत रहेका पाइलट पुराना विजय लामाको लाइसेन्स सस्पेन्ड गरिदिएको छ।

जथाभावी सार्वजनिक अभिव्यक्ति दिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले क्याप्टेन लामासँग स्पष्टिकरण मागेको थियो । केही दनअघि नेपाल एयरलाइन्सको दुबई उडान क्यान्सिल भएको सन्दर्भमा लामाले मिडियामा अन्तर्वार्ता दिँदै विवादास्पद अभिव्यक्ति दिएको प्राधिकरणको आरोप छ । गम्भीर सुरक्षा चासो उत्पन्न भएको सो मामलाबारे चित्तबुझ्दो जवाफ नआएपछि क्यानले उनको लाइसेन्स रद्द गर्ने निर्णय गरेको हो। लाइसेन्स सस्पेन्स गरिए पनि कहिलेसम्मको निम्ति भन्ने खुलाइएको छैन ।

ज्ञातव्य छ, अन्तर्राष्ट्रिय उडानको जिम्मेवारीसमेत बोकेका पाइलट लामालाई प्रवक्ताको जिम्मेवारी दिनु गलत भएको भन्ने अनौपचारिक धारणा पछिल्ला केही दिनयता प्राधिकरणभित्रैबाट सार्वजनिक गरिँदै आएको थियो । यसआधारमा लामालाई प्रवक्ताबाट हटाउने उद्देश्यले उनलाई विवादमा तानिएको अनुमान गर्न सकिन्छ । यसबारे क्याप्टेन लामाको जवाफ प्रतीक्षाको विषय बनेको छ ।