सत्यको अन्त्यष्टि-यात्रामा हामी !

सत्यको अन्त्यष्टि-यात्रामा हामी !


सबै टल्कने बस्तु ऐना हुँदैनन्, न चम्कने तत्व सबै सूर्य हुन्छन् ! तथापि हामी जीवनमा जे होइन त्यसैलाई ‘हो’ ठानेर पटक-पटक झुक्किइरहेका हुन्छौँ, भ्रममूक्त हुँदा समय घर्किसकेको हुन्छ, ब्यर्थमा समय बितिसकेको हुन्छ । खासगरी हल्ला/चर्चाका कुरालाई सूचनाको मुहान ठान्ने, ज्यान बचाउनुपर्छ भन्ने थाहा भएको तर बाँचेको ज्यान कुन प्रयोजनका निम्ति साँच्ने भन्ने फिटिक्कै ज्ञान नभएका मानिसहरू एउटै जीवनमा बारम्बार भ्रमित भइरहेका हुन्छन् । अर्थात्, यस्तो कोटिका मानिस झुक्किनकै निम्ति जन्मिएका हुन्छन्, जो आफ्नो विवेक प्रयोग गर्ने क्षमता राख्दैनन् ! हुन त जो मानिस भ्रममा बाँच्छ त्यस्तो मानिसको जीवन सत्य बुझ्ने या बुझ्न चाहनेहरूको भन्दा सुखद रहन्छ । मानौँ, यो वर्ष एक थोपा पानी आकाशबाट झरेन र चर्को खडेरी पऱ्यो भने ज्ञानबिनाका मानिस ‘यो वर्ष पानी परेन, अर्को वर्ष पर्छ’ भनेर ढुक्क हुन्छन् । तर ‘ग्लोबल वार्मिङ’बारे जानकार ब्यक्तिमा निकै छट्पटी किन बढ्छ भने ‘अब ग्लोबल वार्मिङको नराम्रो असर देखिन थाल्यो, कहिले र कति पानी पर्ने पनि निश्चित हुन्न र पानी पर्दै नपर्न पनि सक्छ’ भन्ने चिन्ता उभित्र पैदा हुन्छ । त्यसैले सत्य बुझ्ने भन्दा बुझ्दैनबुझ्ने मानिस आनन्दित रहन सक्छ, तर यो साधारण मानिसको हकमा हो, नीतिनिर्माण तहमै अज्ञानी मानिस हुँदाचाहिँ समाज र देशले यति दुःख भोग्नुपर्ने हुन्छ कि त्यसको केही अङ्श नेपाली जनताले यो समयमा भोग्नुपरिरहेको छ ।

अस्ति राणाशासन थियो, त्यसको कुरा अहिले यहाँ नगरौँ ! हिजो निर्दलीय पञ्चायती ब्यवस्था र राजाको सक्रिय शासन थियो, हामीले प्रजातन्त्रको वकालत गरेका थियौँ । पञ्चायतको विस्थापन गर्ने क्रममा पम्फादेवी नामको पात्र खडा गऱ्यौँ र उसले स्वीटजरल्याण्डको बैंकमा जम्मा गरेको अर्बौं रूपैयाँ फिर्ता ल्याउने आश्वासन बाँडेर जनता भड्कायौँ । तर प्रजातन्त्र स्थापनापछि न स्वीस बैंकमा राखेको भनिएको धन फिर्ता ल्याउने कार्ययोजना बनायौँ न झुठा सन्देश फैलाएर आम मानिसलाई दिग्भ्रमित गरेकोमा माफी नै माग्यौँ । यसले गर्दा राजनीतिमा जतिसुकै झुठ र नकारात्मक कार्य व्यवहार गर्न पनि मिल्छ र पाइन्छ भन्ने सन्देश प्रवाहित भयो, राजनीतिप्रति मानिसको अविश्वास र अनास्था बढ्न थाल्यो । पञ्चायती ब्यवस्थामा प्रजातान्त्रिक गुणतत्व थिएन भने त्यतिमात्र थपेर पञ्चायतमा भएका राम्रा पक्षहरूलाई निरन्तरता दिइएको भए सम्भवतः त्यसले नयाँ राजनीतिक संस्कारको विकास गर्थ्यो र मुलुक पनि लाभान्वित हुनसक्थ्यो । दृष्टान्तका निम्ति विभिन्न औद्योगिक प्रतिष्ठानहरूको स्थापना र देशलाई शान्तिक्षेत्र बनाउने प्रस्तावलाई लिन सकिन्छ । शान्ति र आत्मनिर्भरताका निम्ति पञ्चायतले पुऱ्याइदिएको योगदानलाई कदर गर्न या निरन्तरता दिन नखोज्नु/नसक्नुले देशमा नकारात्मकतालाई प्रश्रय मिल्यो ! अघिल्लो शासक, नीतिनिर्माता या निर्णयकर्ताको कामलाई शैलजा आचार्यले झलनाथ खनाल बसेको कुर्चिलाई भन्दापनि बढी घृणा र निषेध गर्ने संस्कारले हामीलाई सकारात्मक दिशातिर लैजाँदै नलैजाने भयो, मूल चिन्ताको विषय यही भयो ।

घृणाको ब्यापार बढ्दै जाँदा यतिबेला नेपालमा राजनीतिक क्षेत्रको बदनामी उत्कर्षमा पुगेको छ, कसैको कसैमाथि विश्वास र भरोसा छैन, जसले अर्कोलाई जति बढी गाली दिनसक्छ उसैलाई योग्य र इमान्दार ठान्ने संस्कृतिको विकाश भएको छ ।

कुनैबेला नेपालमा सञ्चारमाध्यमहरू दुर्बल थिए र सङ्ख्या पनि न्यून थियो, तर सञ्चारमाध्यममा आएका सन्देशलाई ब्रह्मवाक्य मानिन्थ्यो, सबैले विश्वास गर्दथे र पत्रपत्रिकामा छापिएकै सामाग्रीका आधारमा नीति/निर्णय प्रभावित हुन्थे । पत्रिकामै आइसकेपछि त्यसमा अविश्वास गर्ने भन्ने हुन्नथ्यो । तर अहिले कुनै सन्देश सार्वजनिक भयो भने बरु हल्ला/चर्चालाई पत्याउने गरिन्छ, यदि पत्रिकामा आएको भनियो भने ‘ए ! पत्रिकाको कुरा पो हो !? त्यसोभए होइन होला…’ भन्दै ‘पत्रिकामा आएको कुराको आधारमा पनि धारणा बनाउने हो त…’ भनेर मानिसको खिल्ली उडाइन्छ ! सञ्चारमाध्यमप्रति विश्वास गर्न नेपाली समाजले छोडेको छ, विश्वास गरिहाले पनि आफूलाई मनपर्ने कुरा आउँदा मात्र गरिन्छ । ‘प्रजातन्त्र र लोकतन्त्र’ मिलेर केही परिणाममुखी काम गरेका छन् भने राज्यको चौथो अङ्ग मानिने पत्रकारिता क्षेत्रप्रतिको विश्वसनीयता समाप्त गरिदिएका छन् । विधिवत दर्ता भएर, राज्यलाई कर तिरेर, खोज्दा फेलापर्ने कार्यालय राखेर, जिम्मेवार तथा योग्यता पुगेका ब्यक्तिलाई सम्पादक तोकेर गरिने पत्रकारिताको विश्वसनीयता करिव समाप्त गरिएसँगै सामाजिक सन्जाल भनिने ब्यक्तिगत मिडियाको प्रभाव भने अकल्पनीय ढङ्गले बिस्तार भएको छ । जो ब्यक्तिलाई जे मन लाग्छ सोही कुरा प्रचारप्रसार गर्ने र त्यसको जिम्मेवारी पनि लिनुनपर्ने सामाजिक सन्जालको आतङ्क माओवादीको आतङ्कलाई पनि माथ गर्नेगरी चर्कंदैछ !

साइबर सेना बनाएर भिडलाई आफूले चाहेको बाटोमा लैजाने आपराधिक कार्यले नेपाल र नेपाली समाजलाई बर्बाद गर्ने अब निश्चित भइसकेको छ । केही मानिसलाई आकर्षक पारिश्रमिक दिएर साइबर सेनाको रूपमा राख्ने, पक्षको सन्देश बढाइचढाइ बारम्बार सम्प्रेषण गरिरहने र आफ्नो प्रतिकुल सन्देश सत्य नै भएपनि उल्लिबिल्ली बनाएर खेद्ने क्रमको सुरुवात सामाजिक सन्जालको उदयसँगै भएको हो । हिजो सामाजिक सन्जाल नहुँदा एकसाथ दुईवटा पासपोर्ट प्रयोग गरिनुलाई गम्भीर अपराध मानिन्थ्यो, नेपालमा एकसाथ अनेक पासपोर्ट प्रयोग गरेर अनेकौँ अपराधमा संलग्न पहिलो चर्चित ब्यक्ति चार्ल्स सोभराज हुन् । अपराधअनुसारको सजाय भोगेर उनी कारावास मूक्त पनि भइसकेका छन् । तर एकैपटक कम्तिमा दुई पासपोर्ट प्रयोग गरेर अनेकौँ आपराधिक एवम् ठगी धन्धामा संलग्न चार्ल्स सोभराजपछिका दोस्रो ब्यक्तिलाई चाहिँ नेपाली मतदाताले राज्यसत्तामै पु¥याइदिए ! एउटा आपराधिक चरित्रका ब्यक्तिलाई नेता बनाउन कसैले सहयोग ग¥यो भने त्यो सामाजिक सन्जालले हो । जसको हातमा बलियो साइबर सेना हुन्छ समाजलाई चाहेको दिशामा डोऱ्याउने तागत तिनै ब्यक्ति या समूहमा रहन्छ ।

‘रेस्पन्सिबल’ अर्थात् आधिकारिक मिडियाको प्रभाव साँघुरिदै गएको वर्तमानमा अनधिकृत अर्थात् अनौपचारिक अर्थात् ब्यक्तिगत सञ्चारसाधनको प्रभाव यसरी बिस्तार भएको छ कि यो नै आतङ्कको एउटा रूप बन्दैछ । नेपालीहरू सोझा, सरल र निर्दोष (Innocent) मानिन्छन् ! शायद गहिरो भन्दा सतही, दूर भविष्यको भन्दा तत्कालको, सकारात्मक भन्दा नकारात्मक, आफ्नो राष्ट्रिय हितमा भन्दा अर्कैका निम्ति लड्न मनपराउने र सत्य खोजेर भन्दा झुठो प्रचारको सहयात्री बन्ने प्रवृत्ति भएकोले नेपालीलाई सरल या सोझा मानिएको होइन भन्न नसकिने अवस्था हाम्रा ब्यवहारहरूले दर्शाइरहेका छन् । छैठौं शताब्दीतिर चिनियाँ यात्री ह्वेन साङले नेपालीबारे गरेको टिप्पणीदेखि शताब्दीअघि नै फ्रान्सेली लेखक सिल्भा लेवीले हाम्रा बारेमा लेखेका कुराले हामी संसारकै बेबकुफहरूको कोटीमा पर्ने भएकोले पो हामीलाई सिधासादा भनिएको हो कि जस्तो पनि लाग्ने ! जे होस्, हामीलाई मित्रहरूले नचिनेका भएपनि वैरीहरूले राम्रोसँग चिनेका छन्, नेपालीलाई कसरी प्रयोग, उपयोग र दुरुपयोग गर्न सकिन्छ भन्ने तथ्यबोध भएका उनीहरूले हाम्रो मुर्ख्याइँलाई नै ‘क्वालिटी’ मानेर आवश्यकताअनुरुप हामीलाई परिचालन गरिँदैछ ।

सामान्यतया हरेक प्राणीमा आफ्नो स्वार्थ बुझ्ने क्षमताको विकाश भएको हुन्छ, मानिसमा यो क्षमता अलिक बढी नै निहित रहेको देखिन्छ । संसारमा देश अर्थात् राष्ट्रहरू अस्तित्वमा आएपछि सभ्य मानिसहरू राष्ट्रिय स्वार्थमै आफ्नो हित देख्ने भए । तर हामी नेपालीचाहिँ क्रान्ति र अग्रगमन शीर्षकअन्तर्गत आफ्नै राष्ट्रिय स्वार्थविपरीत निरन्तर क्रियाशील भइरहेका छौँ ! गलत नीतिगत ब्यवस्था जसले गरिदिएका हुन्, तिनैले नीति (ब्यवस्था) राम्रो तर नेतृत्व मात्र असफल, अयोग्य र खराब भन्ने भाष्य निर्माण गरिदिएका छन् । भारतलाई ज्यादा आलोचनात्मक दृष्टिकोण राख्नेहरूलाई देशभक्त र ‘महान् राष्ट्रवादी’ मानिए झैँ यतिबेला नेपालमा नेतालाई जसले ज्यादा गाली गर्नसक्छ उसैलाई ‘योग्य र क्षमतावान’ देख्ने महारोग पसेको छ । हो, विगत साढे तीन दशकभित्र हामीले जुन स्तरको बेथिति र विसङ्गतिको सामना गऱ्यौँ/गर्दैछौँ, त्यसका निम्ति नैतिकरूपले नेतृत्व नै जिम्मेवार हुन् । पटक-पटक परीक्षण भइसकेका नेताहरूमा सच्चिने आत्मबोध नभएको र तत्काल सक्किने अवस्था पनि नरहेकोले हामी एउटा घनघोर बिलखबन्दको स्थितिमा आइपुगेका छौँ । तर, नेतृत्वमात्र परिवर्तन गरेर समस्याको समाधान हुन असम्भव छ भन्ने बुझ्न नेपालीले खोज्दै खोजेनन्, योचाहिँ मुख्य समस्या हो ।

निर्दलीय पञ्चायती ब्यवस्थामा दलीय स्वतन्त्रता थिएन, अभिव्यक्ति स्वतन्त्रताको अभाव थियो, बाँकी पक्ष धेरै राम्रो रहेछ भन्ने हाम्रो प्रजातान्त्रिक अभ्यासले पुष्टि गरिदिएको छ । २०४७ देखि २०५२ सालसम्मको संसदीय प्रजातन्त्रले समृद्धिको नयाँ ढोका खोल्दै थियो, तर उक्त ब्यवस्थाका विरूद्ध षड्यन्त्रमूलक ढङ्गले हिंसात्मक सङ्घर्ष रचियो । अहिले स्थापित धर्मनिरपेक्ष, सङ्घीय गणतन्त्रात्मक ब्यवस्था समेटिएको संवैधानिक अभ्यासले मुलुकको एकता, अखण्डता, स्थायित्व र शान्तिलाई अभेद्य चुनौती दिइरहेको छ । तर देशको भन्दा पेटको चिन्ताले सताइएका नेपाली गम्भीर भन्दा सतही र मनोरन्जनात्मक कुराहरूबाट ज्यादा मोहित हुने गर्दछन् । देशको अस्तित्व कसरी सङ्कटमा परेको छ भन्ने विषयले भन्दा कसले कसलाई के भन्यो भन्ने कुराले महत्व पाउने र मूल्य भन्दा नगदलाई प्राथमिकता दिने देशका बासिन्दालाई आफूअनुकुल कसरी प्रयोग र परिचालन गर्न सकिन्छ भन्ने कलामा परायाशक्ति पारङ्गत छन् । त्यसैले सेता-पहेँला विदेशीलाई हितैषी मित्र ठान्ने, तर नेपालभित्रै भिन्न सांस्कृतिक समुदायका नेपालीलाई वैरी मान्ने परिस्थितिको सिर्जना जानाजान गरिएको छ । कसैले कसैमाथि आस्था, विश्वास र भरोसा नराख्ने जुन परिस्थितिको सिर्जना भएको छ यसले कालान्तरमा हामीलाई पुऱ्याउने भनेको द्वन्द्व र देश विघटनसम्म हो !

मुलुक बाह्यशक्तिको क्रीडास्थल बनेको छ, सङ्गै उनीहरू रणमैदान बनाउने दाउमा लागेको महसूस पनि गरिँदैछ । तर हामी परस्पर एकता भन्दा घृणा बढाउने प्रतिष्पर्धामा रमाइरहेका छौँ । राणाहरूले बाँकी जम्मैलाई निषेध गरे, त्यसपछि आएको काङ्ग्रेस पनि अन्य पक्षप्रति असहिष्णु रह्यो, पञ्चायतले अनेक विचार समूहप्रति वैरभाव राख्यो, दलहरू पनि जो सत्तामा पुग्छ उसैले मात्र न्याय र अवसर पाउने अभ्यासमा लागे, राजाले काङ्ग्रेस-कम्युनिष्टलाई निषेध गरेका थिए भने काङ्ग्रेस-कम्युनिष्ट पनि विपक्षी विचार समूहलाई निषेध गर्दैछन् । यसरी एउटा पक्षले अर्कोलाई निषेध गर्ने संस्कृतिलाई प्रजातन्त्र भनिदैन, यो निरङ्कुशतन्त्रकै एउटा रूप हो । हामी यस्तै ब्यवहारलाई प्रजातान्त्रिक संस्कृतिका रूपमा ग्रहण गर्दैछौँ, तर यस्तो गलत संस्कार र संस्कृति परिवर्तन हाम्रो मुद्दा बन्ने गर्दैन ।

यस सन्दर्भमा एउटा रोचक तर विचारणीय पक्ष के छ भने हिजो पन्चायतकालमा काङ्ग्रेस/कम्युनिष्टलाई अराष्ट्रिय तत्वको विशेषण दिइएको थियो, उनीहरू देशबाहिरको शक्तिबाट परिचालित र संरक्षित भएको ठानिन्थ्यो । त्यसैले पञ्चायती राज्यसत्ताले काङ्ग्रेस÷कम्युनिष्टका गतिविधिमाथि कठोर निगरानी राखेको थियो । यतिबेला मुलुकमा तिनै अराष्ट्रिय तत्व भनिएकाहरूको सर्वसत्ता कायम भएको छ । यिनले पनि आफूले स्थापना गरेको धर्मनिरपेक्षतासहितको सङ्घीय गणतन्त्रात्मक ब्यबस्थामाथि चुनौती देखेका छन् । जो राष्ट्रिय एकताको कुरा गर्छ, जो मौलिक नेपाली सभ्यता र इतिहास रक्षाको पक्षमा हुन्छन्, जसले राष्ट्रिय एकता र अखण्डताको एजेण्डा बोकेका छन्, तिनैलाई शत्रु ठान्ने र निगरानी राखेर हिँड्नुपर्ने भूमिकामा विद्यमान संस्थापन देखिन्छ । राष्ट्रवादी र देशभक्तहरूप्रति सत्ता-संस्थापनको दृष्टिकोण र ब्यवहारले उनीहरूलाई हिजो ‘अराष्ट्रिय तत्व’ विशेषण दिनुको कारण स्पष्ट गरिरहेछ । तर हामी यो कोणबाट हेरेर राजनीतिक संस्कार र संस्कृति सुधारको मुद्दा उठाउन खोज्दैनौँ !

प्रजातन्त्रमा कम्युनिष्ट प्रणालीमा जस्तो पार्टीको भूमिका सर्वोपरी र सधै सर्वोच्च हुँदैन, संसद र सरकार गठन प्रक्रियासम्म मात्र पार्टीको भूमिका मुख्य हुनसक्छ । विधिवत सरकार गठन भैसकेपछि हरेक निर्णयहरूमा सरकार नै निर्णायक हुनुपर्ने हुन्छ, तर यहाँ सरकार जसको बनेपनि पार्टीको भूमिका सर्वोच्च तुल्याउने अभ्यास हुँदै आएको छ । जबसम्म संसद् र सरकारले पार्टीको सर्वोच्चतालाई स्वीकार गरिरहनुपर्ने हुन्छ, तबसम्म देश बन्ने यात्राको थालनीसम्म हुनेछैन, तर यस्तो परम्परालाई परास्त गर्ने विषय मुद्दा बनिरहेको छैन ।

एउटा अर्को विचारणीय विषय के छ भने राष्ट्र, राष्ट्रिय एकता, स्वधर्म संस्कृति, अखण्डता, सार्वभौमिक सर्वोच्चता र राष्ट्रिय स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिनेहरू नेपालमा सेलिब्रेटी बन्दैनन्, या बन्न दिइँदैन ! बील गेट्सले चिया पिइदिएकै कारण कुनै चियावाला रातारात सेलिब्रेटी बन्ने, मौलिक नेपाली गीत गाउनेहरू उपेक्षित हुने र पश्चिमी भावभङ्गीमाका ऱ्याप हान्नेहरू राजनीतिका लागि समेत योग्य ठानिने, पृष्ठभूमि नहेरिकन कुनै एउटा अभिव्यक्ति या एक्सनकै भरमा ब्यक्तिको स्तुतिगान सुरु हुने स्थितिको सामना हामी गर्दैछौँ । अङ्ग्रेजी राम्रो बोल्नेलाई मात्र विद्वान् ठान्ने, दुई या तीन देशको राहदानी र नागरिकता पाउन र प्रयोग गर्नसक्ने ब्यक्तिमात्र लायक ठानिने, आफ्नो योग्यता देखाएर भन्दा अर्काको अयोग्यता औंल्याएर उचाई बढ्ने/बढाउने जुन परिस्थिति उत्पन्न भएको छ, यसले नेपाली राजनीति र नेपालको भविष्यप्रति गम्भीर चिन्ता बढाएको छ ।

विश्वका शक्तिशाली मुलुकहरू राष्टवाद र आर्थिक समृद्धिलाई मुख्य मुद्दा बनाएर राजनीति गर्दैछन्, तर हाम्रो प्राथमिकतामा न राष्ट्रवाद परेको छ न समृद्धि ! सत्तामा पुग्नेहरूको मात्र जीवन समृद्ध हुने देखिएपछि रोजगारी र आर्जनकै निमित्त पनि मानिसहरू यो या त्यो पार्टीमा आबद्ध भएका छन् । यसप्रकारको अस्वस्थ लक्ष्य हाशील गर्न राजनीतिकर्मीहरू अस्वस्थ प्रतिष्पर्धामा छन् । यस्तो स्थितिमा सामाजिक सञ्जालको बेलगाम प्रयोग कुन हदसम्म अस्वस्थ हुनसक्ला, त्यसको अनुमान गर्न सकिन्छ ।

सामाजिक सञ्जालको प्रभाव ब्याप्त रहेको यो समयलाई विवेचना गर्दा आगामी निर्वाचनहरूमा यसको निर्णायक प्रभाव पर्ने देखिन्छ । उम्मेदवारको इमानदारी, दूरदर्शिता, राष्ट्रभक्ति, योग्यता, क्षमता र उपलब्धताको आधारमा मतदान हुने सम्भावना न्यून हुँदैछ । सशरीर जनताका माझ पुग्ने र निश्चित प्रतिबद्धतासहित मत माग्ने परम्परा बिस्थापित भएर सोसल मिडियामा झिल्केगिरी दर्शाउन सक्नेहरू मतदाताको रोजाइमा पर्ने सङ्केतहरू देखापरिसकेका छन् । देशको शीर ठाडो पार्छु भन्नेहरू किनारा लाग्नुपर्ने र कपाल ठाडो पार्नेहरूलाई देश नै जिम्मा लगाउने तहको खहरे लहर नेपालमा उत्पन्न गराउन खोजिँदैछ । पुराना दल र नेताहरूको प्रयोजन सकिँदै जाँदा नयाँ अनुहारलाई अघिसारेर आफ्नो लक्ष्य हाशील गर्ने झेली खेलमा बाह्यशक्ति सामेल भइसकेको छ । यिनकै इच्छा र योजनामा सोसल मिडियालाई झिल्केगिरीका पक्षमा भरपुर प्रयोग या दुरुपयोग गरिँदैछ । त्यसैले अब सत्यको खोजी हुनेछैन, हल्लालाई नै सत्य ठान्ने अवस्थाको विकाश गरिँदैछ, र यही कारणसत्यको अन्त्यष्टि निकट तुल्याइँदै छ ! जय मातृभूमि ।