तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल वैशाख २२ गतेदेखि हुने भएको छ । वैशाख १६ गते आइतबार धरानमा गरिएको पत्रकार सम्मेलन आयोजकले जानकारी गराएको हो ।
मैवाखोला गाउँपालिकास्थित नारायणी उमाविको खेलमैदानमा वैशाख २६ सम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशका सात टिम तथा विभागीय आर्मी, पुलिस, सशस्त्र र विश्वविद्यालयको एक टिम गरी जम्मा ११ टिमको सहभागिता रहनेछ ।
प्राकृतिक हिसाबले लालीगुराँसको राजधानी तिन्जुरे, मिल्के, जलजले हुँदै खेलस्थल मैवाखोला गाउँपालिका पुगिन्छ । नेपाल भलिबल संघ र जिल्ला भलिबल संघको प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगिताको नगद पुरस्कारको प्रायोजन ताप्लेजुङ जिल्ला निवासी हाल काठमाडौंमा बसोवास गर्दै आएका युवा व्यवसायीहरू, बलबहादुर तामाङ, ईश्वरी पौडेल, रमेश बरालले संयुक्त रूपमा गरेका छन् ।
प्रतियोगिताको विजेतालाई नगद ३ लाख ५१ हजार ५ सय ५ र उपविजेतालाई १ लाख ७६ हजार २ सय ५१ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । विधागत पुरस्कारतर्फ बेस्ट सर्भर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर, बेस्ट सेटर, बेस्ट सुइकर, बेस्ट ओपन स्पाइकर, बेस्ट कोचहरूलाई जनही सात हजार प्रदान गरिनेछ ।
प्रतियोगितको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार पाउनेछन् । प्रतियोगिताको प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’लाई नगद २ हजार प्रदान गरिने पत्रकार सम्मेलमा संयोजक दिवस चोङवाङले जानकारी दिए । प्र्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन गरिनेछ ।
प्रतिक्रिया