कीर्तिमानी धावक रोकायको क्लबलाई ‘लेबल्स’को साढे दुई लाखको सहयोग

कीर्तिमानी धावक रोकायको क्लबलाई ‘लेबल्स’को साढे दुई लाखको सहयोग


लामो समयदेखि नेपालमा अन्तर्राष्ट्रिय स्तरका विभिन्न चर्चित ब्रान्डका खेलकुद पोशाख तथा खेल सामग्री बिक्रि वितरण गर्दै आएको रुट्स फेसन प्राली अन्तर्गत लेबल्स स्टोरले सधैं खेलकुदसंग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता जाहेर गरेको छ । वैशाख १७ गते दरवारमार्गमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त कुराको जानकारी गराएको हो ।

व्यवसायसंगै समाज र देशका लागि केहि गर्नुपर्छ भन्ने मान्यता राख्दै आएको लेबल्सले विगतका बर्षमा विपन्न खेलाडी, राष्ट्रिय फुटबल टीम, थ्रीस्टार क्लब, बक्सिङ, एथलेटिक्स र व्यावसायिक टीमहरुलाई खेल सामग्री र नगद प्रायोजन गर्दै आएको रुट्स फेसन प्राली (लेबल्स)का निर्देशक राजीव श्रेष्ठले जानकारी गराए । त्यस्तै नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोर्टस् अवार्डमा पनि लेबल्सले सहयोग गर्दै आएको निर्देशक श्रेष्ठले वताए ।

सन २००९ देखि प्रत्येक दुई बर्षमा रुट्स नेपाली प्रालीले पुराना जुत्तासंग नयाँ एडिडास जुत्ता साट्न पाउने ‘शु एक्सचेन्ज’ कार्यक्रम संचालन गर्दै आएको छ । उक्त कार्यक्रमलाई यो संस्करणमा पनि निरन्तरता दिदै १ मे देखि ३० मे २०१९ सम्म एक महिनाको लागि यो कार्यक्रम संचालन हुने जानकारी गराएको छ । एक्सचेन्ज कार्यक्रम अन्तर्गत सहभागि उपभोक्ताले पुरानो जुत्ता ल्याएर छोडेवाफत नयाँ जुत्ताको खरिदमा आकर्षक छुट पाउने छन् ।

सो कार्यक्रम अन्तर्गत ७ हजार ९ सय ९९ रुपैयाँसम्म मूल्यपर्ने जुत्ता खरिद गरेमा पुरानो जुत्ता ल्याउनेले २ हजार रुपैयाँसम्मको छुट पाउनेछन् । त्यस्तै उक्त रकम भन्दा बढी मूल्यको जुत्ता खरिद गरेमा ३ हजारसम्मको छुट पाउने छन् । एक्सचेन्ज गर्दा उपभोगताले जुनसुकै ब्रान्डका जुत्ता ल्याएर यो कार्यक्रममा सहभागिता जनाउन सक्ने जानकारी गराएको छ । त्यस्तै कम्पनीले प्रत्येक वर्ष एक्सचेन्जवाट प्राप्त जुत्ताहरु विभिन्न सामाजिक अभियानमा लागेका संस्थाहरुलाई प्रदान गर्दै आएको छ ।

कम्पनीले यो भन्दाअघि आयोजना गरेको सु एक्सचेन्ज कार्यक्रमवाट प्राप्त जुत्ता कर्णालीको सिडिएस पार्क, माइती नेपाल, न्यानो संसार संस्थाहरुलाई प्रदान गरेको थियो । त्यस्तै सन २०१७ मा गिनिस बुक अफ वल्ड रेकर्ड दुइ पटक आफ्नो नाम लेखाउन सफल तथा चर्चित धावक हरिबहादुर रोकायले संचालन गरेको कर्णाली स्पोर्टस क्लबलाई जुत्ताहरु प्रदान गरेको थियो ।

यसैगरि यो पटकको छैठौं संस्करणमा पनि कम्पनीले त्यस्ता पुराना जुत्ताहरु रोकायको क्लबलाई प्रदान गर्ने निर्णय गरेको छ । साथै रोकायको क्लबलाई आर्थिक सहयोग वाफत १ लाख नगद प्रदान गरेको छ । त्यस्तै स्पोर्टस क्लबले असार २७ गते आयोजना गर्न लागेको जुम्ला रारा अल्ट्रा म्याराथनको लागि १ लाख ५० हजारको प्रायोजन गरेको छ ।

सो कार्यक्रममा बोल्दै कीर्तिमानी धावक रोकायले कर्णाली कति विकट र कति समस्यावाट ग्रस्त छ यो कुरा सवैलाई थाहा छ भन्दै लेबल्सको यो सहयोग कर्णालीका खेलाडीका लागि विशेष हुने बताए । हामीले यो भन्दाअघि पनि सहयोग पाएका हौं, अहिले पनि पाएका छौं, त्यसको लागि लेबल्सलाई विशेष धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राख्छौं–रोकायले भने ।