- श्रीविक्रम भण्डारी
गौरिका, गौरिका, गौरिका ! यतिबेला आमखेलप्रेमीको मुखमा झुन्डिएको नाम हो यो । नेपाली खेलकुदमा यो नाम साँच्चिकै प्यारो र कर्णप्रिय बनेको छ यतिबेला । ‘गौरिका’ शब्दको उच्चारण हुनेबित्तिकै सबैले चर्चित पौडीखेलाडी गौरिका सिंहलाई स्मरण गर्न थालेका छन् । गौरिकालाई यसरी स्मरण गरिनुमा अन्य कुनै कारणले नभई उनको ‘कारनामा’ प्रमुख कारण हो । गौरिकाले कारनामा नै यस्तो गरेकी छिन् जसले अहिले उनी आमखेलप्रेमीको मुटुको ढुकढुकी र प्रेरणाको स्रोत बन्न पुगेकी छिन् । वर्तमान अवस्थामा नेपाली खेलकुदको आशाको किरणको रूपमा देखिएकी गौरिकाले आफ्नो १६ वर्षे उमेरमा जुन चमत्कारपूर्ण प्रदर्शन गरेकी छिन् त्यो आमखेलप्रेमीको मानसपटलमा एउटा सुन्दर तस्बिरको रूपमा स्थापित भएको छ । जसलाई उनीहरू अविष्मरणीय बनाउन चाहन्छन् ।
प्रश्न उठ्न सक्ला, आखिर त्यस्तो के कारनामा गरिन् त गौरिकाले ? उत्तर सहज छ, जसको उत्तर आमनेपाली जसले पनि दिन सक्छ – ‘आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गौरिकाले जितेको १२ स्वर्ण भनेर ।’ गौरिकाले पौडी खेलमा गरेको प्रदर्शन, बनाएको कीर्तिमान र पाएको सफलता अहिले आठौँ राष्ट्रियको शान गर्वको कुरो बनेकोे छ । १२ इभेन्टमा सातवटामा राष्ट्रिय कीर्तिमान कायम गर्दै १२ स्वर्ण जितेकी गौरिकाले आठौँ राष्ट्रियमा व्यक्तिगत सफलता र कीर्तिमान मात्र नभई अन्तर्राष्ट्रिय खेलमा पौडीमा नेपाललाई पदक दिलाउन सक्ने खेलाडीको रूपमा समेत आपूmलाई खडा गरेकी छिन् । जुन अहिले नेपाली खेलकुदको लागि सुखद र गौरव गर्ने पाटो बनेको छ । गौरिकाको यो गौरवशाली प्रदर्शनले सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषद् र नेपाल पौडी सङ्घसमेत थप चुनौती प्रस्तुत गरिदिएको छ ।
गौरिकाले आफ्नो व्यक्तिगत तर्फबाट आपूmले गर्ने कार्य गरिसकेकी छिन् । अब उनलाई पोलिस गर्ने कार्य राज्यले गर्छ कि गर्दैन त्यो अहम् बनेको छ । गौरिकाको सुधारिएको प्रदर्शन हेर्दा उनले यो भन्दा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्ने प्रस्ट छ । यस्तो अवस्थामा गौरिकालाई राज्यले हेर्नुपर्ने दृष्टिमा आमूल परिवर्तन गर्ने मात्र होइन यथाशीघ्र जिम्मेवारी रूपमा प्रस्तुत हुनु आवश्यक भइसकेको छ । यदि राज्य गौरिकाको यो प्रदर्शनमा गम्भीर बनेको खण्डमा केही महिनापश्चात् नेपालमा आयोजना हुन गइरहेको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा गौरिकाले स्वर्ण पदक जित्ने प्रायः निश्चित छ । यसर्थमा कि योभन्दा अघि भारतको गुहावटी र सिलोङमा सम्पन्न भएको १२औँ सागमा गौरिकाले रजत पदक जितेर आफूलाई स्वर्ण पदक जित्न दाबेदार खेलाडीको रूपमा प्रस्तुत गरिसकेकी छिन् । यसपटक १३औँ साग नेपाल आयोजना हुँदै छ, यदि गौरिकालाई समयमै राज्यले वैदेशिक प्रशिक्षणको लागि उचित व्यवस्था गरे नेपालको झोलीमा स्वर्ण पदक पर्ने कुरालाई नकार्न सकिँदैन ।
कुनै खेलमा व्यक्तिगत रूपमा १२ स्वर्ण जित्नु आफैँमा कीर्तिमान हो । अझ जितेका १२ स्वर्णमा सातवटा कीर्तिमानसहित जित्नु अर्को कीर्तिमान हो । आठौँ राष्ट्रियमा कीर्तिमान नै कीर्तिमान बनाएर कीर्तिमानको झण्डा गाडेकी गौरिकाको खेलजीवनलाई यहाँसम्म पु¥याउन कत्तिको लगानी गरेको छ त्यो घामजस्तै छर्लङ्ग छ । साँचो रूपमा भन्नुपर्दा नेपालमा खेल्ने वातावरण बनाउनुबाहेक राज्यले गौरिकाको लागि सुकोसमेत लगानी गरेको छैन । अहिलेसम्म गौरिकाले राष्ट्रको छातीमा जति राष्ट्रिय, अन्तर्राष्ट्रिय पदक झुन्ड्याएकी छिन् त्यो उनको नितान्त व्यक्तिगत मिहिनेत र परिश्रमको फल हो । गौरिकाले विदेशमै बसेर पनि आफ्नो राष्ट्रको लागि जसरी पसिना बगाएकी छिन् र रगत सुकाएकी छिन् त्यसको प्रतिउत्तरमा राज्यले उनको हौसला बढाउने कार्यमा सकारात्मक भइदिए पनि पुग्छ । गौरिकालाई निसङ्कोच खेल्ने वातावरण तयार गरिदिए पुग्छ । गौरिकाका अभिभावकलाई आफ्नो राष्ट्रप्रति गौरवको अनुभूति गर्न सक्दो सहयोग गरिदिए पुग्छ । सबैले बुझेको कुरा हो उनीहरूको चाहना योभन्दा बढी छैन ।
एउटा राष्ट्रिय खेलाडी उत्पादन गर्न राज्यले कति लगानी गर्छ, कति स्वदेशी, विदेशी प्रशिक्षण गराउँछ र त्यसको प्रतिफल कस्तो पाउँछ त्यो कुरा कसैबाट छिपेको छैन । नेपालको परिप्रेक्ष्यमा गौरिका अपवाद हुन् जो पूर्णरूपमा आफ्नो अभिभावकमा डिपेन्ड छिन् । यो राज्यको लागि सुखद र महत्वपूर्ण कुरा हो । तर, विडम्बना ! राज्यले अहिलेसम्म के कुरालाई आत्मसात् गर्न सकेको छैन । गौरिकाको प्रतिभालाई मध्यनजर गर्दै जस्तोे सुविधा प्रदान गर्नुपथ्र्यो त्यसमा चुकेको छ । साँचो रूपमा भन्नुपर्दा खालि अन्तर्राष्ट्रिय प्रतियोगितामा गौरिकाबाट पदकको आस मात्रै लगाएर बसेको छ । जुन गौरिकाको लागि मात्र नभई नेपाली खेलकुदको लागि समेत दुर्भाग्य बनेको छ । केही पाउन केही गुमाउनु पनि पर्ने सर्वोपरी मान्यतालाई समेत सम्बन्धित निकाय र राज्यले आत्मसात् गर्न सकेको छैन ।
यस्तोे अवस्थामा अन्तर्राष्ट्रिय प्रतियोगिता (दक्षिण एसियाली, एसियाली र ओलम्पिक)मा एउटा पदक जित्न लाखौैँ, करोडौँ लगानी गर्ने अन्य राज्यहरूको तुलनामा नेपालले खेलकुद र खेलाडीको विकास र विस्तारको लागि कस्तो कार्य गरिरहेको छ सोझै अनुमान लगाउन सकिन्छ । गौरिका आठौँ राष्ट्रिय प्रतियोगिताकी सबैभन्दा सफल खेलाडी हुन् । अब सम्बन्धित निकायले गौरिकाको खेलको स्तरोन्नतिका लागि कस्तो रणनीति अख्तियार गरेको छ त्यो अहिले चासोको विषय बनेको छ । तर, सबैलाई थाहा छ, नेपाली खेलकुद र खेलकुदका पदाधिकारी, आफ्नो स्वार्थसिद्ध भएपछि उनीहरूले गर्ने व्यवहारबाट आमखेलाडी परिचित छन् । यस्तो अवस्थामा गौरिकाप्रति भविष्यमा कस्तो व्यवहार होला त्यसको चर्चा नगर्नु नै बेस होला । राष्ट्रिय प्रतियोगितामा गौरिकाको ऐतिहासिक प्रदर्शनपछि राज्यको दायित्व के बन्छ र राज्यले आफ्नो दायित्वमा कसरी खरो उत्रिनुपर्छ त्यो सायद भनिराख्नुपर्ने कुरा होइन ।
राष्ट्रिय प्रतिभा जो अन्तर्राष्ट्रिय खेलमा असरदार सावित भइरहेको छ र भविष्यमा पनि हुन सक्छ त्यस्ता प्रतिभाहरूको पहिचान गरी सम्बन्धित निकायको सिफारिसमा राज्यले उचित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षणको व्यवस्था गर्नुपर्छ । यहाँ विभिन्न घोषणा हुन्छ, तर व्यवहारमा सिन्कोसमेत भाँचिँदैन । भोलि यो कुरा आठौँ राष्ट्रियमा कीर्तिमान बनाउने र स्वर्ण पदक जित्ने खेलाडीहरूमा पनि लागू नहोला भन्न सकिँदैन । कीर्तिमानी खेलाडीलाई पुरस्कार दिएर सम्मानको नाउँमा झारा टार्ने कार्य गरेर आँखामा छारो हाल्नु र भ्रमको खेती मात्रै गर्नु हो । यसको सट्टा ती खेलाडीलाई उचित प्रशिक्षणको व्यवस्था गरी नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको लागि तयारीमा होम्न सके सुनमा सुगन्ध हुने कुरामा सायदै कसैको दुईमत होला ।
प्रतिक्रिया