नेपालमा सर्वाधिक लोकप्रिय फुटबल खेलको विकासमा आधारभूत तहदेखि नै योगदान गर्ने उद्देश्यअनुरुप अखिल नेपाल फुटबल संघले विद्यालय स्तरको फुटबललाई विगतमा भन्दा व्यवस्थित गर्दै लैजाने निति लिएको जनाएको छ । फुटबल खेलको विकासका साथै विस्तार गर्दै यस खेललाई देशको ७७ वटै जिल्लामा पु¥याउने संघको लक्ष्य रहेको संघका महासचिव इन्द्रमान तुलाधरले जनाएका छन् ।
यसै क्रममा यस वर्ष संघले देशको सातवटै प्रदेशका ५२ जिल्लामा अन्तर स्कूल फुटबल प्रतियोगिता (छात्र–छात्रा)को आयोजना गर्ने भएको छ ।
बाउन्न जिल्लाका करिव १५ सय स्कूलहरूको सहभागितामा स्कूलस्तरीय फुटबल प्रतियोगिता सञ्चालन भइसकेपछि छनोट भएका स्कूलहरुबीच प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने संघले जनाएको छ । स्कूलस्तरीय फुटबल प्रतियोगिताको आन्तिम चरणको फुटबल प्रतियोगिताको रुपमा प्रदेशबाट छनोट भएका स्कूलहरूबीच राष्ट्रिय अन्तरस्कूल फुटबल प्रतियोगिता सञ्चालन हुनेछ । यस प्रतियोगिता (जिल्ला, प्रदेश र राष्ट्रिय स्तर)मा आयोजना गर्नको लागि अनुमानित एक करोड पचास लाख खर्च हुने अनुमान गरिएको छ ।
विद्यालय स्तरको यस फुटबल प्रतियोगिता आयोजना गर्नको लागि नेपालको प्रतिष्ठित व्यापारिक प्रतिष्ठान चौधरी ग्रुपले सहयोग गर्ने भएको छ । नेपालकै प्रख्यात व्यापारिक संस्था चौधरी ग्रुपको उत्पादनसँग हातेमालो गर्दै देशको सर्वाधिक लोकप्रिय खेल फुटबल अघि बढ्ने संघले जनाएको छ ।
यस सिलसिलामा मंगलबार अखिल नेपाल फुटबल संघ र चौधरी ग्रुपबीच फुटबल खेलको विकाश तथा विस्तारको लागि ऐतिहासिक सम्झौता भएको छ ।
प्रतिक्रिया