राष्ट्रिय पुरुष बास्केटबलको उपाधि शंकरदेवलाई

राष्ट्रिय पुरुष बास्केटबलको उपाधि शंकरदेवलाई


शंकरदेव क्याम्पसले खुला राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिताका उपाधि जितेको छ । वैशाख १९ गते बिहीबार अमृत साइन्स क्याम्पसमा भएको फाइनल खेलमा शंकरदेवले जेभियर कलेजलाई ६ स्कोरले पराजित गरे ।

शंकरदेवले पहिलो र तेस्रो क्वार्टरमा लिएको अग्रता नै जितको आधार बन्यो । पहिलो क्वार्टरमा १८–१० को अग्रता लिएको शंकरदेव दोस्रोमा क्वार्टरमा १२–१६ ले पछि परेको थियो । शंकरदेबले तेस्रो क्वार्टरलाई पुनः १४–१० ले आफ्नो पक्षमा लिन सफल भयो । अन्तिम क्वार्टरमा प्रवेश गर्दा ८ अंकको अग्रता लिएको शंकरदेव १९–२१ ले पछि परे पनि समग्रमा ६३–५७ को स्कोरमा जेभियरलाई पछि पार्दै च्याम्पियन बन्यो ।

शंकरदेवका लागि उत्कृष्ट खेलाडी चुनिएका रामकृष्ण घोतामेले २० स्कोरको योगदान दिए । त्यस्तै शंकरदेवका सौरभ श्रेष्ठले १२ स्कोर, कराँतेका च्याम्पियन दिवश श्रेष्ठले १० स्कोर गर्दा प्लेमेकर रबिन खत्री (मेट्रो) र आशिष बस्नेतले समान ९–९ स्कोरको योगदान गरेका थिए । प्रतियोगिताको हाइस्कोरकर्ता जेभियरका आयुष सिंहले फाइनल खेलमा पनि सर्वाधिक २१ स्कोर गरे पनि टिमलाई पराजयबाट जोगाउन सकेनन् । जेभियरकै विनेश न्यौपानेले १५ स्कोरको योगदान दिँदा अजय कुसवाहाले ९ स्कोर गरेका थिए ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजना तथा अमृत साइन्स क्याम्पस स्ववियुको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगिताको विजेता शंकरदेवले १ लाख ११ हजार र उपविजेता जेभियरले ५५ हजार ५ सय प्राप्त गरे । विजेतालाई मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ, नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह, अनेरास्ववियुकी केन्द्रीय उपाध्यक्ष सुनिता बराल, महासचिव ऐन महरलगायतले खेलाडीलाई पुरस्कृत गरेका थिए ।