नेपाल शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा सातौँ मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता वैशाख २० गते शुक्रबारदेखि हुने भएको छ ।
दुईदिने प्रतियोगितामा पुरुषतर्फ ६ तौल समूहमा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । करिब १ सय ३० खेलाडीको सहभागिता रहने बताइएको छ ।
जावलाखेलस्थित डीएभी स्कुलमा पहिलो दिन प्रि जजिङ राउन्ड हुनेछ । प्रत्येक तौलसमूहमा शीर्ष पाँच रहने खेलाडी फाइनलमा प्रवेश गर्नेछन् । फाइनलमा प्रत्येक तौलसमूहमा पहिलो स्थान हात पार्ने खेलाडीले पुनः मिस्टर हिमालय उपाधिका लागि भिड्ने छन् ।
विजेताले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछ । त्यस्तै हरेक तौल समूहमा शीर्ष तीन स्थानमा रहने खेलाडीले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार जित्नेछन् । फाइनल कमलादीस्थित प्रज्ञा प्रतिष्ठान हुनेछ । आयोजक संघका अध्यक्ष श्रेष्ठले आठौँ संस्करणदेखि मिस्टर हिमालयको विजेतालाई ५ लाख प्रदान गरिने घोषणा गरे ।
प्रतियोगितालाई काठमाडौं स्टिल कम्पनी प्रा.लि. ले मुख्य प्रायोजन गर्ने भएको छ । मुख्य प्रायोजनबापत योसहित आगामी ४ संस्करणका लागि ७ का दरले रकम उपलब्ध गराउने काठमाडौं स्टिलका प्रमुख कार्यकारी अधिकृत केशवराज पोखरेलले जानकारी गराए । उनले नेपाली शारीरिक सुगठनको प्रतिष्ठित प्रतियोगितामध्येको एक मिस्टर हिमालयसँग जोडिन पाउँदा खुसी लागेको बताए । ननिता बज्र फिट्नेस एवं विश्व शारीरिक सुगठन च्याम्पियनसिपकी रजत विजेता ननिता महर्जनले हरेक संस्करणका लागि नगद १ लाख आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
प्रतियोगिताकै दौरान प्रथम जुनियर पुरुष शारीरिक सुगठन, प्रथम पुरुष एथलेटिक्स फिजिक्स, दोस्रो पुरुष स्पोर्टस् फिजिक्स तथा दोस्रो महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता पनि हुनेछ । यो स्पर्धाको विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले १० हजार नगद पुरस्कार पाउनेछन् ।
प्रतिक्रिया