क्रिकेट, फुटबल र शारीरिक सुगठन खेलाडी पुरस्कृत

क्रिकेट, फुटबल र शारीरिक सुगठन खेलाडी पुरस्कृत


युवा तथा खेलकुद मन्त्रालयले क्रिकेट, फुटबल र शारीरिक सुगठन खेलाडीलाई बिहीबार नगद पुरस्कार प्रदान गरेको छ । पूर्वघोषित पुरस्कार खेलाडीलाई सिंहदरबारस्थित खेलकुद मन्त्रालयको सभाकक्षमा आयोजित कार्यक्रममा प्रदान गरिएको हो ।

गत माघमा यूएईमा नेपाल र यूएईबीच भएको तीन एक दिवसीय र ३ टी– २० क्रिकेट शृंखला जितेको नेपाली क्रिकेट टोलीका प्रत्येक खेलाडीलाई ५ लाखका दरले नगद पुरस्कार प्रदान गरियो । दुवै शृंखला नेपालले २–१ ले जितेको थियो ।

पुरस्कृत हुने क्रिकेट खेलाडीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, वसन्त रेग्मी, पवन सराफ, सन्दीप जोरा, भीम सार्की, प्रदीप ऐरी, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, विनोद भण्डारी, अविनाश बोहरा, रोहितकुमार पौडेल र मोहम्मद आरिफ शेख रहेका छन् ।

सोही अवसरमा प्रशिक्षक जगतबहादुर टमाटालाई ३ लाख तथा ब्याटिङ प्रशिक्षक उमेश भादुरसिंह पटवाल, फिजियो दिनेश भट्ट, ट्रेनर नन्डियाडा सुवास चन्द्र पात्रो र म्यानेजर रमन सिवाकोटीलाई समान २–२ लाख रुपैयाँ प्रदान गरियो ।

भारतको गुवाहटीमा भएको १२औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा स्वर्ण जितेको नेपाली पुरुष फुटबल टोलीका खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिइयो । नगद पुरस्कार प्राप्त गर्ने खेलाडीमा विकेश कुथु, एलन न्यौपाने, अमृतकुमार चौधरी, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी, कमल श्रेष्ठ, मनबहादुर तामाङ, जगजित श्रेष्ठ, विशाल राई, विक्रम लामा, हेमन गुरुङ, प्रकाश बुढाथोकी, सुनिल बल, रञ्जन विष्ट, सुमन लामा, अञ्जन विष्ट, नवयुग श्रेष्ठ र विमल घर्ती मगर छन् ।

स्वर्ण विजेता फुटबल टोलीका खेलाडीलाई पाँच लाख दिने भनिएकोमा यसअघि २०७३ साल साउन १३ गते जनही २ लाख रुपैयाँ मात्र दिइएको थियो । बाँकी रहेको ३ लाख प्रदान गरिएको हो । त्यस्तै गत डिसेम्बरमा थाइल्यान्डमा भएको १०औँ विश्व शारीरिक सुगठन प्रतियोगिताको पुरुष ७५ केजीमा स्वर्ण जितेका महेश्वर महर्जन पनि नगद पाँच लाख रुपैयाँबाट पुरस्कृत भए ।

क्रिकेटमा ९१ लाख, फुटबलमा ६० लाख र शारीरिक सुगठनमा ५ लाख गरी कुल १ करोड ५६ लाख रुपैयाँ वितरण गरिएको थियो । क्रिकेटमा ९ र फुटबलमा ४ जना मात्र उपस्थित थिए । कारणवश उपस्थित हुन नसकेका क्रिकेटको पुरस्कार प्रशिक्षक टमाटा तथा फुटबलको पुरस्कार अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पालाई हस्तान्तरण गरिएको थियो । गत माघ २५ गतेको मन्त्रिपरिषद् बैठकले तीनै खेलका खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो ।

खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पीताम्बर तिम्सिना र सदस्यसचिव केशवकुमार विष्टले खेलाडीलाई पुरस्कृत गरे ।