साविकको विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । ताप्लेजुङको साँघुमा वैशाख २३ गते सोमबार भएको खेलमा पुलिसले प्रदेश नम्बर १ र आर्मीले त्रिभुवन विश्वविद्यालय टिमलाई पराजित गर्दै क्वार्टरफाइनलको यात्रा तय गरेका हुन् ।
साँघुस्थित नारायणी माविको खेलमैदानमा भएको पहिलो खेलमा प्रदेश नम्बर १ लाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस समूह ‘ए’बाट क्वार्टरफाइनलमा पुगेको हो । पुलिसले प्रदेश १ लाई २५–८, २५–१८ र २५–९ को सेटमा पराजित ग¥यो । अब पुलिसले मंगलबार (आज) प्रदेश ३ सँग खेल्नेछ । प्रतियोगितामा आठ टोली सहभागी भएको कारण प्रदेश १ पनि क्वार्टरफाइनलमा पुगेको छ ।
यस्तै आर्मीले विश्वविद्यालय टिमलाई ३–० को सोझो सेटमा नै पराजित गऱ्यो । आर्मीले विश्वविद्यालय टिमलाई २५–१३, २५–१३ र २५–१५ को सेटमा पाखा लगायो । अब आर्मीले प्रदेश नम्बर २ सँग खेल्नेछ ।
जलजले युवा क्लबको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत सशत्र प्रहरीको एपीएफले प्रदेश ३ लाई ३–० को सोझो सेटमा पराजित ग¥यो । एपीएफले प्रदेश ३ लाई २५–१६, २५–१५ र २५–२४ को सेटमा हरायो । अब एपीएफले मंगलबार प्रदेश १ सँग खेल्नेछ । त्यस्तै गण्डकी प्रदेशले प्रदेश २ लाई ३–० को सोझो सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गऱ्यो । गण्डकीले प्रदेश २ लाई २५–१६, २५–१५ र २५–१६ को सेटमा हरायो । अब गण्डकीले वविश्वविद्यालयसँग प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गरिरहेको आयोजक क्लबका अध्यक्ष दिवश लिम्बूले जानकारी गराए । प्रतियोगिताको विजेताले नगद तीन लाख ५१ हजार पाँच सय प्राप्त गर्नेछ । यस्तै उपविजेताले एक लाख ७६ हजार २५१ नगद प्राप्त गर्दा सेमिफाइनलमा पराजित दुई टोलीले नगद ५०–५० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १५ हजार पाउनेछन् । व्यक्तिगत विधामा उत्कृष्ट हुने सर्भर, डिफेन्डर, ब्लकर, क्विकर, स्पाइकर र प्रशिक्षकले समान ७–७ हजार पाउनेछन् ।
प्रतिक्रिया