पाथीभरा राष्ट्रिय भलिबलको सेमिफाइनल समीकरण पूरा

पाथीभरा राष्ट्रिय भलिबलको सेमिफाइनल समीकरण पूरा


तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । वैशाख २४ गते मंगलबार भएको क्वार्टरफाइनल खेलमा सफलता हात पार्दै पुलिसले गण्डकी प्रदेश र आर्मीले एपीएफसँग सेमिफाइनलको प्रतिस्पर्धा पक्का गरेका छन् ।

ताप्लेजुङको साँघुस्थित नारायणी माविको खेलमैदानमा भएको पहिलो क्वार्टरफाइनलमा पुलिसले प्रदेश ३ लाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो । पुलिसले प्रदेश ३ लाई २५–११, २४–२६, २५–१५ र २५–१४ को सेटमा पराजित ग¥यो । दोस्रो क्वार्टरफाइनलमा गण्डकीले टीयू विश्वविद्यालय टिमलाई ३–० को सोझो सेटमा हरायो । गण्डकीले विश्वविद्यालयविरुद्ध २५–१६, २५–११ र २५–१७ को सहज निकालेको थियो ।

तेस्रो क्वार्टरफाइनल खेलमा आर्मीले प्रदेश २ लाई ३–० को सेटमा पराजित ग¥यो । आर्मीले प्रदेश २ माथि २५–१४, २५–१५ र २५–८ सेटको सहज जित निकालेको थियो । अन्तिम क्वार्टरफाइनलमा एपीएफले प्रदेश १ लाई ३–० कै सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । एपीएफले प्रदेश १ लाई २५–१५, २५–१४ र २५–२० को सेटमा पराजित गरेको थियो ।

जलजले युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गर्ने छ । उपविजेताले १ लाख ७६ हजार २५१ नगद प्राप्त गर्दा सेमिफाइनलमा पराजित दुई टोलीले नगद ५०–५० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १५ हजार पाउनेछन् । व्यक्तिगत विधामा उत्कृष्ट सर्भर, डिफेन्डर, ब्लकर, क्विकर, स्पाइकर र प्रशिक्षकले समान ७÷७ हजार पाउनेछन् ।