जनकपुर विश्वका लागि प्रेरणा स्रोत : राष्ट्रपति

जनकपुर विश्वका लागि प्रेरणा स्रोत : राष्ट्रपति


राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी महोत्सवले नेपालको सामाजिक–सांंस्कृतिक समन्वय, राष्ट्रिय एकता र राष्ट्रिय अखण्डतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छिन् । जानकी नवमीका अवसरमा जानकी मूल समारोह समितिद्वारा सोमबार जनकपुरधामको जानकी मन्दिरमा आयोजित जानकी जन्ममहोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मौलिक मिथिला कला, कालिगढी र संस्कृतिको उत्कृष्ट नमुनाका रूपमा विश्वविख्यात जानकी मन्दिरको अवलोकनसहित पूजाअर्चना र दर्शनले आफ्नो मन प्रसन्न भएको बताइन् ।

प्राचीन मिथिलाको राजधानी सीताको जन्मभूमि ऐतिहासिक पुरातात्विक नगरीस्थित नौलखा मन्दिर परिसरमा आयोजित उत्सवले ‘बसुधैव कुटुम्बकम’को भावना थप सुदृढ पार्न मद्दत मिल्ने विश्वास व्यक्त गर्दै उनले संस्कृति र परम्पराको संरक्षण तथा सम्बद्र्धन सबैको कर्तव्य र पुर्खाले सुम्पिएको महत्वपूर्ण दायित्व भएकामा जोड दिइन् । उनले भनिन्, ‘यो पुण्यभूमि जनकपुर जहाँबाट विदेह राजर्षि जनक तथा महर्षि अष्टाबक्रले ज्ञानको ज्योति तथा शान्ति र सहिष्णुताको सन्देश फैलाए यसको महत्व चिरकालसम्म रहिरहनेछ ।’

राष्ट्रपति भण्डारीले यस क्षेत्रका ज्ञानी महर्षिहरूले दिएको ज्ञानको महत्व आज पनि उत्तिकै र यसलाई अनुसरण गर्न सकियो भने समाजमा देखिएका धेरै समस्या सजिलैसँग समाधान गर्न सकिने बताइन् । उनले प्राचीनकालमै शिक्षा र सभ्यतामा अग्रणी रहेको यस क्षेत्रमा कतिपय सामाजिक विकृति, विभेद र विसंगति विद्यमान हुनु चिन्ताको विषय हो भन्दै यसको अन्त्यका लागि हामी सबै क्रियाशील हुनु सामयिक रहेको स्मरण गराइन् ।

उनले गार्गी, मैत्रेयी अनुसूयाजस्ता विदुषीहरूको जन्मभूमि, कर्मभूमि एवम् तपोभूमिको रूपमा रहेको यो पावन क्षेत्र विश्वका लागि प्रेरणा स्रोत र जानकी मन्दिर मुलुकको ऐतिहासिक सांस्कृतिक धरोहर रहेको बताइन् । उनले वेदहरूको उद्गमस्थल यस पवित्र सांस्कृतिक पर्यटकीय क्षेत्र समृद्ध संस्कार र संस्कृतिका लागि अनुपम रहेको उल्लेख गरिन् । मैथिली साहित्यका मूर्धन्य व्यक्तित्व ज्योतिश्वर ठाकुर र महाकवि विद्यापतिको योगदानको स्मरण गर्दै मैथिली भाषा तथा साहित्यको श्रीवृद्धि तथा समृद्धका लागि थप कटिबद्ध हुनुपर्ने धारणा राखिन् ।

राष्ट्रपति भण्डारीले विदेह राजा जनकले कृषिकर्म महायज्ञको आयोजना गर्दा दिव्यगुणी सीताको जन्म भई विख्यात भएको यस भूमिले मुलुकको कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताउँदै अहिले यही भूमिमा कृषिको उत्पादन र उत्पादकत्वमा कमी आउनु दुःखको विषय भएको बताइन् । उनले चुरे क्षेत्रको वातावरण संरक्षणमा ध्यान दिई पर्यावरण सन्तुलन कायम गर्दै दिगो विकासको अवधारणासहित कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्न यस उर्वर भूमिको प्रचुर उपयोग गर्नुपर्ने औँल्याएन् । यहाँ अवस्थित अपार प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्दै आर्थिक समृद्धिमा अग्रसर हुन आह्वान गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय गौरव जानकी मन्दिर र यस समृद्ध भौतिक संरचना, श्रीसम्पत्ति एवं जलजमिन क्षेत्रको संरक्षण तथा सम्बद्र्धनमा सम्बद्ध जिम्मेवार निकायको ध्यान जानु आवश्यक रहेको उल्लेख गरिन् । उनले सामाजिक चेतना र जागरणको महत्वपूर्ण कार्ययोजना ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ अभियान प्रभावकारी ढंगले अघि बढिरहेकोमा प्रशंसा पनि गरिन् ।
rss