अन्डाको मूल्य प्रतिक्रेट ५० ले बढ्यो

अन्डाको मूल्य प्रतिक्रेट ५० ले बढ्यो


अन्डाको मूल्य बढेपछि कृषकलाई राहत मिलेको छ । लागत मूल्यभन्दा निकै कममा अन्डा बिक्री गर्न बाध्य किसानलाई नेपाल अन्डा उत्पादक संघको नयाँ मूल्य निर्धारणले राहत मिलेको हो ।

संघका अनुसार किसानको फार्ममा ठूलो अन्डाको मूल्य प्रतिक्रेट रु. २५० तथा मध्यमखालको अन्डा प्रतिक्रेट रु. १८० तोकिएको छ । यसअघि ठूलो अन्डाको मूल्य प्रतिक्रेट रु. २०० र मध्यमको रु १३० रहेको संघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए । ‘उत्पादन लागत नोक्सानीमा थियो,’ उनले भने, ‘लागत मूल्यअनुसार अझै कम मूल्य हो,’ उनले बजारमा माग बढेसँगै अन्डाको मूल्य बढेको बताए ।

वैशाख २ गतेदेखि किसानको लागत मूल्यभन्दा निकै कम निर्धारण गरी अन्डाको मूल्य रु. २९० बाट घटाएर रु. २०० कायम गरिएको थियो । बजारमा अन्डा स्टक रहेको र तोकेकोभन्दा कम मूल्यमा बजारमा व्यापार भएपछि संघले प्रतिक्रेट रु. २०० मूल्य तोकेको जनाएको थियो ।

किसानको उत्पादन लागत मूल्य प्रतिगोटा रु. १० पर्छ । बजार मूल्य भने अन्डाको प्रतिगोटा रु. १२ पर्छ । केही वर्षअघि अधिकतमसम्म अन्डाको मूल्य प्रतिक्रेट रु. ३६० सम्म पुगेको थियो । ‘अन्डाको मूल्य घट्ने–बढ्ने भइरहन्छ,’ कँडेलले भने, ‘बजारको अवस्था हेरेर २५० देखि ३०० औसतमा मूल्य निर्धारण हुने गरेको छ ।’ कृषकबाट उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिसन खुवाउनुपर्ने भएकाले किसानले उचित मूल्य पाउन नसकेका हुन् । बिचौलिया प्रभाव घटाएर कृषक र उपभोक्तालाई लाभ पुग्ने गरी मूल्य निर्धारण गर्नुपर्ने किसानको माग छ ।

एक साताअघिसम्म लागत मूल्यअनुसार अन्डाको मूल्य नपाएको भन्दै चितवनका किसान आन्दोलित भएका थिए । नेपालमा दैनिक ४५ लाख अन्डा उत्पादन हुन्छ । यस पेसाबाट प्रत्यक्ष रूपमा एक लाख ५० हजारभन्दा बढी व्यक्तिले रोजगारी पाएका छन् । सात हजार बढी किसान लेयर्स कुखुरापालनमा संलग्न छन् । देशमा पोल्ट्री क्षेत्रमा भएको लगानीको आधा हिस्सा लेयर्समा रहेको अध्यक्ष कँडेल बताउँछन् । पोल्ट्री क्षेत्रमा रु. ८० अर्बभन्दा बढी लगानी रहेको छ ।