- श्रीविक्रम भण्डारी
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टको चारवर्षे कार्यकाल आउँदो असार ९ गते समाप्त हुँदै छ । विष्टको कार्यकाल समापनसँगै अहिले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव को हुने त्यसको व्यापक चर्चा–परिचर्चा चल्न थालेको छ । राखेपको सदस्यसचिव हुन अहिले वडाध्यक्षदेखि मन्त्री र प्रधानमन्त्रीको धाक लगाउने खेलकुदकर्मी र राजनीतिक कार्यकर्ताहरूको जमात उत्तिकै देखिएको छ । अझ कोठे, चोटे र चिया गफ गर्नेहरूका लागि नयाँ सदस्यसचिवको मुद्दा गसिपको लागि प्रमुख मुद्दा बनेको छ । अनुमान र अड्कलकै भरमा राखेप सदस्यसचिव फलानो हुन्छ, फलानो हुँदैन, फलानो भयो भने राम्रो हुन्छ, फलानो भयो भने नराम्रो हुन्छ भन्दै मुख रसिलो पार्दै आएका छन् । जुन अहिले खेलकुदसम्बद्ध खेलाडी, प्रशिक्षक, कर्मचारी र पदाधिकारीहरूको दिनचर्चाजस्तै बनेको छ । उनीहरू यस्तै गसिप गर्दै बेलुका एक पेगको सट्टा डबल पेग लिँदै गरुङ्गो मनलाई हलुको पार्दै आएका छन् ।
को होला त राष्ट्रिय खेलकुद परिषद्को नयाँ सदस्यसचिव ? चर्चा चल्नु स्वाभाविकै हो । यतिबेला सदस्यसचिवको पद पड्काउने दाउमा थुप्रै आकाङ्क्षी देखिएका छन् । उनीहरू पर्दा पछाडिबाट न्वारानदेखिको बल लगाउँदै कसरत गरिरहेका छन् । आफ्नो पहुँच पुग्ने ठाउँमा भनसुन गर्न दौडाहा गरिरहेका छन् भने नपुग्ने ठाउँमा पुग्नको लागि ‘आर्थिक सेतु’को निर्माण गर्न पनि तम्तयार देखिएका छन् । यस्तो अवस्थामा यतिबेला तातेका व्यक्ति सफल हुन्छ कि तातिराखेको व्यक्ति सफल हुन्छ त्यसले खेलकुदमा विशेष चर्चा पाएको छ । साँचो रूपमा भन्नुपर्दा अहिलेसम्म सदस्यसचिवको दाबेदारीको रूपमा कसैले पनि खुलेर दाबेदारी प्रस्तुत गरेका छैनन् । सबै आकाङ्क्षीहरू खेल बिग्रने हतासले गर्दा भित्री खेलमै लिप्त छन् । उनीहरू खेलकुदमन्त्री र प्रधानमन्त्रीको सामीप्य कसरी प्रदान गर्न सकिन्छ त्यसैको रणनीतिमा उनीहरूका नजिकका व्यक्तिहरूमार्फत आफ्नो भाग्य अजमाइरहेका छन् । अब कसैलाई वैशाखी बनाएर ‘आर्थिक सेतु’मार्फत सदस्यसचिव बन्न खोज्नेलाई खेलकुदमन्त्री र प्रधानमन्त्रीले कुन दृष्टिकोण र चश्माले हेर्छन् त्यसले खेलकुदको भविष्यको निर्माण गर्नेछ ।
यतिबेला खेलकुदमा कोरा र राजनीतिक कार्यकर्ताभन्दा पनि खेलकुद बुझेको र खेलकुदलाई राम्रोसँग हाँक्न सक्ने व्यक्तिको आवश्यकता छ । यसर्थमा कि नेपालले आगामी मङ्सिर १५ गते २४ गतेसम्म १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आयोजना गर्दै छ । १३औँ सागलाई सफलताको मूर्तरूप दिन राष्ट्रिय खेलकुद परिषद्मा अनुभवी सदस्यसचिवको आवश्यकता छ । यस्तो अवस्थामा राखेपका संरक्षक तथा प्रधानमन्त्री केपी शर्मा ओली र युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) अत्यन्तै गम्भीर रूपमा प्रस्तुत हुनुपर्ने देखिन्छ । किनकि १३औँ साग राज्यले गर्न लागेको हो, जसको विगुल गत साता मन्त्री सुनारले पत्रकार सम्मेलनको आयोजना गरेर बजाइसकेका छन् । मन्त्रीको यो विगुलले खेलकुदमा सकारात्मक प्रभाव पर्नुको साथै नेपालको चुनौतीलाई समेत बढाइदिएको अवस्था छ । १३औँ सागको सफलतापूर्वक आयोजना गरेर नेपालको मान, सम्मान र प्रतिष्ठालाई अन्तर्राष्ट्रियस्तरमा बढाउने चुनौतीसँगै सदस्यसचिवको चुनावमा पनि सरकार उत्तिकै खरो उत्रिनुपर्ने देखिन्छ । अब यस्तो परिस्थितिमा सरकारले कस्तो निर्णय गर्छ र खेलकुदलाई योग्य सदस्यसचिव दिन्छ त्यो प्रतीक्षाको विषय बनेको छ ।
यतिबेला १३औँ साग नेपालको लागि जति महत्वपूर्ण र चुनौतीपूर्ण छ, त्यति नै राखेपमा कुशल र अनुभवी सदस्यसचिवको आवश्यकता छ । जसले १३औँ साग सफलतापूर्वक सम्पन्न गर्न सरकारलाई पूर्ण रूपमा सहयोग गर्न सकोस् । यस्तो अवस्थामा यतिबेला नेकपा पार्टी र खेलकुदको नजरमा एउटै त्यस्तो योग्य व्यक्ति छन् ती हुन– वर्तमान सदस्यसचिव केशवकुमार विष्ट । विष्टको चारवर्षेकालको मूल्याङ्कन र विश्लेषण गर्दा सदस्यसचिव पदको लागि उनीभन्दा योग्य व्यक्ति अर्को देखिँदैन । यसर्थमा कि विष्टले आफ्नो चारवर्षे कार्यकालमा दुईवटा राष्ट्रिय खेलकुद प्रतियोगिता सातौँ र आठौँको सफलतापूर्वक आयोजना गरेर खेलकुदमा आफूलाई योग्य सदस्यसचिव भएको प्रमाणित गरिसकेका छन् । यसभन्दा अघि खेलकुदका पूर्वसदस्यसचिव शरदचन्द्र शाहले आफ्नो ११ वर्षे कार्यकालमा तीनपटक लगातार राष्ट्रिय प्रतियोगिताको आयोजना गरेका थिए । त्यसपछि नियमित रूपमा हुन नसकेको राष्ट्रिय प्रतियोगितामा ज्यान फुक्दै सदस्यसचिव विष्टले आफ्नो चारवर्षे कार्यकालमा दुईपटक राष्ट्रिय प्रतियोगिताको आयोजना गरेर इतिहास रचेका थिए । निरन्तर राष्ट्रिय प्रतियोगिता गर्न विष्टले जुन अदम्य साहस र आँट देखाए त्यो अहिले खेलकुदको लागि कोसेढुङ्गा साबित भएको छ ।
दुईटा राष्ट्रिय प्रतियोगिता र एउटा राष्ट्रिय च्याम्पियन सफलतापूर्वक आयोजना गर्नु विष्टको कार्यकालको सबैभन्दा सफल पाटो हो । त्यस्तै भौतिक पूर्वाधार निर्माणमा ५० वर्षमा नभएको कार्य विष्टको कार्यकालमा भएको छ । जसमा मुलुकभरिमा निर्माण भएका पूर्वाधार र अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशालालाई उदाहरणको रूपमा लिन सकिन्छ । यसैगरी विष्टकै कार्यकालमा नेपालले इन्डोनेसियामा सम्पन्न १८औँ एसियाली खेलकुदमा दोस्रोपटक ऐतिहासिक रजत पदक जित्न सफल भएको थियो । त्यस्तै, विष्टकै कार्यकालमा नेपालले विभिन्न खेलमा ११ सय अन्तर्राष्ट्रिय पदक जितेर कीर्तिमान कायम गरेको छ । विष्टको कार्यकालको महत्वपूर्ण पाटोको रूपमा खेलकुदभित्र विवाद, अराजकता र गुन्डागर्दीको अन्त्यलाई प्रमुख रूपमा लिन सकिन्छ । त्यस्तै, निजी क्षेत्रमा खेलकुद प्रतियोगिताको लहर र खेलकुदलाई विद्यालयस्तरदेखि विकास गर्नुले पनि चार वर्षमा विष्ट खेलकुदका नायक साबित भएका छन् । यस्तो अवस्थामा नयाँ सदस्यसचिवको खोजीमा केशवकुमार विष्ट नै ‘सर्वश्रेष्ठ विकल्प’ हुन् भन्दा अतिशयोक्ति नहोला ।
यतिबेला खेलकुदमा शरदचन्द्र शाहपछि सबैभन्दा सफल सदस्यसचिवको रूपमा केशवकुमार विष्टको नाम अग्रपङ्तिमा आएको छ । उनले आफ्नो चारवर्षे कार्यकालमा समग्र खेलकुदको विकास र विस्तारमा गरेको योगदानले पनि प्रमाणित गरेको छ ।
खेलाडी, प्रशिक्षक र पदाधिकारीले विष्टको काम कारबाही गर्ने शैलीको मुक्तकण्ठले प्रसंशा गरेका छन् । साथै विष्टको खेलकुदको अनुभवलाई मध्यनजर गर्दै र १३आँँै सागको सफल आयोजना गर्न विष्टलाई सरकारले पुनः सदस्यसचिवमा नियुक्ति गर्नुपर्ने धारणासमेत राखेका छन् । खेलकुदसँग सम्बन्धित व्यक्तिहरूको विष्टप्रति सकारात्मक धारणा राखेपछि अहिले विष्ट पुनः सदस्यसचिव हुने चर्चा चलेको हो । जसले सरकारलाई विष्टको कार्यकालको गम्भीरतापूर्वक मूल्याङ्कन गर्नुपर्ने बाध्यतासमेत खडा गरेको छ । अब खेलकुदमन्त्री विश्वकर्मा र प्रधानमन्त्री ओली विष्टप्रति कति सकारात्मक बन्छन् त्यो आगामी दिनमा देखिनेछ । यदि सदस्यसचिवको नियुक्तिमा गुटको राजनीति हावी भएन र खेलकुद भविष्यलाई आत्मसात् गरियो भने केशवकुमार विष्ट नै पुनः सदस्यसचिव हुने कुरामा लालमोहर लगाउन सकिन्छ ।
प्रतिक्रिया