किशोरीहरूलाई लक्षित गर्दै राजधानीको पेप्सिकोलामा एकहप्ते आत्मरक्षा तालिम शनिबार (जेठ ११) देखि सुरु भएको छ । वर्तमान समय नेपाली समाजमा बालबालिकादेखि बयोवृद्धसम्मका महिलामाथि एकपछि अर्को गर्दै निरन्तर हिंसा भइरहेको अवस्थालाई मध्यनजर गर्दै उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
राजधानीको पेप्सिकोलास्थित क्यारियर विल्डिङ इन्टरनेशनल एकेडेमीले आफ्नो स्कुलमा अध्यनरत किशोरीहरूलाई आत्मरक्षा तालिम दिन लागिएको प्रधानाध्यापक हेम राईले जानकारी गराए ।
आत्मरक्षा तालिमको उद्घाटन गर्दै प्रधानाध्यापक राईले वर्तमान समयमा नेपालीका विभिन्न जिल्लामा महिलामाथि निकै हिंसा बढिरहेको भन्दै हिंसालाई निरुत्साहित गर्दै नवकिशोरीहरूमा आत्मबल बढाउनका लागि र हिंसामा परेका बेला आफुलाई कसरी बचाउन या जोगाउन सकिन्छ भन्ने जानकारी गराउन तालिम दिन लागेको बताए ।
असुरक्षाको त्रासलाई पराजित गर्दै किशोरीहरूलाई कसरी आत्मबलशाली बनाउने भन्ने ध्येयमा केन्द्रित रही आयोजित यो तालिमले उनीहरूको जीवनमा महत्वपूर्ण भूमिका खेल्ने पनि उनले बताए ।
त्यस्तै, प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका अध्यक्ष एवं नेपाल सेल्फ डिफेन्स एसोसिएसनका अध्यक्ष डीबी रानापालले मुलुकमा अहिले महिलामाथि निकै हिंसा बढिरहेकोमा दुःख व्यक्त गर्दै अबका दिनमा हाम्रा चेलीबेटीहरू हिंसामा नपरुन् भन्ने उद्देश्यले मुलुकका विभिन्न जिल्लाका स्कुलमा आत्मरक्षा तालिम प्रदान गर्दै महिलाहरुलाई सुरक्षित बनाउने अभियानको थालनी गर्दै आएको बताए ।
एकहप्ते तालिममा सीबीआईए स्कुलका पचास किशोरीको सहभागिता रहेको छ । किशोरीहरूलाई नेपाल सेल्फ डिफेन्स एसोसिएसन र नेपाल सेल्फ डिफेन्स मार्सल आर्ट नेपालकी प्रमुख सन्जु महर्जनले प्रशिक्षण दिनेछिन् । महर्जनलाई राधिका हमाल (ऐर) तिलक घिमिरे र हरिश क्षेत्रीले प्रशिक्षणमा साथ दिने बताइएको छ ।
उद्घाटन समारोहमा सन्जु महर्जनले आत्मरक्षास किशोरीहरुले कसरी आफुलाई बचाउन सक्छन भन्दै आत्मरक्षासम्बन्धी केही कला किशोरीका अभिभावकहरूलाई सिकाएकी थिइन् । कार्यक्रम आज (जेठ १२) देखि औपचारिक रुपमा शुरु हुनेछ ।
प्रतिक्रिया