आगो निभाउन उडेको हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु

आगो निभाउन उडेको हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु


मेक्सिकोमा भएको हेलिकोप्टर दुर्घटनामा परी पाँच सैनिकसहित ६ जनाको मृत्यु भएको छ ।

जंगलमा लागेको आगो निभाउन गएको हेलिकोप्टर शुक्रबार दुर्घटनामा परेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । देशको उत्तरी क्वेरेतारो प्रदेशमा पर्ने दुर्गम पहाडी क्षेत्रमा हेलिकोप्टर दुर्घटना भएको राष्ट्रपति अन्द्रेस म्यानुयल लोपेज ओब्राडोरले जानकारी दिए ।

एमआई– १७ हेलिकोप्टर छिमेकी सान लुइस पोटोसी प्रदेशको भाल्ले मेर्डेबाट घटनास्थलतर्फ गएको थियो । आगो निभाउनका लागि हेलिकोप्टरमा २५ सय लिटर (६६० ग्यालेन) पानी पनि लगिएको एक सैनिकले जानकारी दिएका छन् ।

अति दुर्गम क्षेत्रमा दुर्घटना भएकाले थप र आधिकारिक विवरणहरू आउन बाँकी नै रहेको जनाइएको छ । ‘दुर्घटनाको खबरले हामीलाई स्तब्ध बनाएको छ, घटनामा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली र आफन्तप्रति सहानुभूति व्यक्त गर्दछौँ,’ एक सार्वजनिक समारोहमा राष्ट्रपति ओब्राडोरले भने ।

वर्षा नभएकाले अत्यधिक गर्मी भई पछिल्लो समयमा मध्यमेक्सिकोमा जंगली जनावरलाई गाह्रो भएको र आगलागीका घटनाहरू पनि भइरहेको अधिकारीले जनाएका छन् ।