भाजपा कार्यकर्ताको गाली हानी हत्या

भाजपा कार्यकर्ताको गाली हानी हत्या


भारतीय जनता पार्टी (भाजपा) का एकजना कार्यकर्ताको पश्चिम बंगालमा गोली हानी हत्या भएको छ ।

भारतको पश्चिम बंगालमा हतियारधारी अज्ञात व्यक्तिले गोली हानेर ती व्यक्तिको हत्या गरेको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् ।

हत्या हुनेमा ३६ वर्षका चन्दन साउ रहेको बताइएको छ । उनीमाथि आइतबार राति भातपारा क्षेत्रमा आक्रमण भएको हो । घटनास्थल पश्चिम बंगाल प्रदेशको राजधानी कोलकातादेखि ३३ किलोमिटर टाढा पर्दछ ।

गोली लागेका साउलाई तत्कालै अस्पताल लगिए पनि चिकित्सकहरूले मृत घोषित गरेको एक प्रहरी अधिकारीले जानकारी दिए । घर फर्किरहेका बेला साउलाई दुईवटा मोटरसाइकलमा आएका चार व्यक्तिले गोली हानेको प्रहरीको भनाइ छ ।

हालै भारतमा सम्पन्न लोकसभाको चुनावी परिणाममा भाजपा एक्लैले बहुमत ल्याएको छ । भोलि बिहीबार नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्दै छन् ।