प्रधानसेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको चौथो संस्करण यही जेठ १९ देखि सुरु हुने भएको छ । नेपाली सेनाले खेलकुदको विकास र विस्तारमा महत्वपूर्ण योगदान दिँदै आएको स्मरण गराउँदै नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक सहायक रथी विज्ञानदेव पाण्डेले प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताले खेलाडीको क्षमता वृद्धि गर्दैै आपसी भाइचारा बढाउने बताए ।
प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले आठौं राष्ट्रिय खेलकुदमा प्रदेशिक खेलाडीको छनोट भैसकेकोले पुनः खेलाडी छनोट गर्न नपर्ने जानकारी गराए ।
सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा जेठ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय टिम नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफ र सात प्रदेश गरी १० टिमको सहभागिता रहने सैनिक तालिम तथा खेलकुद केन्द्रका केन्द्रपति महासेनानी शशी किरण रायमाझीले बताए ।
प्रतियोगिता लिग कमआउटका आधारमा सञ्चालन हुने र सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको महासेनानी रायमाझीले जनाए । आठ दिनसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले ३ लाख प्राप्त गर्दा उपविजेताले १ लाख ५० हजार र तेस्रोले ७५ हजार प्राप्त गर्ने छन् ।
प्रतियोगितामा सर्वोत्कृष्ट छानिने खेलाडीले पल्सर बाइक प्राप्त गर्ने केन्द्रपति शशी किरण रायमाझीले जानकारी गराए । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने छन् ।
प्रतियोगितामा अनुमानित २२ लाख खर्च हुने जनाइएको छ । मुख्य प्रायोजकको रुपमा इन्भेन्ट्मेन्ट बैंकले १५ लाख उपलब्ध गराउने आयोजकले बताइन्छ । प्रतियोििगतामा सहभागी हुने विभागीय टिमबाहेक अन्य प्रदेशका टिमको सम्पूर्ण खर्च आयोजकले व्यवस्था गर्ने बताइएको छ ।
प्रतिक्रिया