भारतमा नक्कली मदिरा सेवनबाट सत्रको मृत्यु

भारतमा नक्कली मदिरा सेवनबाट सत्रको मृत्यु


भारतको उत्तर प्रदेशमा नक्कली मदिरा सेवन गरेका कारण १७ जनाको मृत्यु हुनुका साथैै अन्य ४० जना उपचारको क्रममा रहेका अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

उत्तर प्रदेशको राजधानी लखनउबाट करिब ५८ किलोमिटर पूर्वको बाराबंकी जिल्लास्थित रामनगर क्षेत्रमा उक्त घटना भएको हो ।

रामनगर प्रहरी चौकीमा कार्यरत एक प्रहरी अधिकारीले नक्कली मदिरा सेवन गरेका कारण ६ जनाको मृत्यु भएको हिजो जनाएका थिए । आज सो सङ्ख्या बढेर १७ पुगेको एक प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् ।

स्थानीय मिडियाले हिजो नै मदिरा सेवनका कारण १२ जनाको मृत्यु भएको बताएका थिए । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख प्रकट गर्दै बिरामीको उपचारमा सक्दो सहयोग गर्न स्थानीय प्रशासनलाई आदेश दिएका थिए ।

सन् २०११ को डिसेम्बरमा पनि पश्चिम बंगालमा नक्कली मदिरा सेवनका कारण एक सय ७२ जनाको ज्यान गएको थियो । भारतका उत्तर प्रदेश, आसाम, उत्तराखण्ड, बिहार र पश्चिम बंगाललगायतका राज्यमा प्रचलनमा रहेको हानिकारक घरेलु मदिरा सेवनले वर्षेनी धेरैको ज्यान जाने गरेको छ ।