- श्रीविक्रम भण्डारी
क्रिकेटको महाकुम्भ विश्वकप क्रिकेट प्रतियोगिता २०१९ को शुभारम्भ जेठ १६ गते बिहीबारदेखि हुँदै छ । जेठ १६ देखि असार २९ गतेसम्म सञ्चालन हुने विश्वकप क्रिकेट प्रतियोगिता इंग्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्दै छन् । विश्वकपको यो १२औँ संस्करणमा विश्वका चर्चित १० टिमको सहभागिता रहेको छ । जसमा आयोजक इंग्ल्यान्ड, अस्ट्रेलिया, भारत, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज, बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् । यो विश्वकपका कुल ४८ खेलमध्ये ४५ खेल लिग चरणमा हुनेछन् । प्रतियोगिताको पहिलो खेल जेठ १६ गते आयोजक इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच हुनेछ । यस्तै फाइनल खेल असार २९ गते क्रिकेटको मक्काको रूपमा परिचित लर्डसमा हुनेछ ।
यतिबेला विश्वकप क्रिकेटको चर्चाले शिखर छोएको छ । चर्चा–परिचर्चासँगै विश्वकपको १२औँ संस्करण कसले जित्ला अड्कलबाजी शुरु भएका छन् । इंग्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्न लागेको विश्वकपमा क्रिकेटका पण्डितहरूले यसपटक आयोजक इंग्ल्यान्डलाई प्रमुख दाबेदार मानेका छन् । क्रिकेटको जननी मानिने इंग्ल्यान्डले अहिलेसम्म विश्वकपको ट्रफी उचाल्ने अवसर पाएको छैन । तीनपटक विश्वकपको फाइनलमा पुगेर पनि इंग्ल्यान्डको विश्वकप क्रिकेटको उपाधि जित्ने सपना अधुरै रहेको छ । यो विश्वकपमा अन्य राष्ट्रका टोलीभन्दा इंग्ल्यान्डलाई सशक्त मानिएको छ । त्यस्तै, अन्य दाबेदार टोलीको रूपमा अस्ट्रेलिया र भारतलाई हेरिएको छ । वेस्टइन्डिज र दक्षिण अफ्रिका बलियो टिमको रूपमा देखिए पनि क्रिकेट पण्डितहरूले यी राष्ट्रलाई दाबेदारको रूपमा राखेका छैनन् ।
विश्वकप क्रिकेटको सबैभन्दा बढी उपाधि जित्ने राष्ट्र अस्ट्रेलिया हो । अस्ट्रेलियाले अहिलेसम्म पाँचपटक विश्वकपको उपाधि जितेर आफूलाई अग्रपङ्क्तिमा राखेको छ । अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७, र २०१५ मा विश्वकपमाथि कब्जा जमाएको थियो । अस्ट्रेलिया अब पाँचपटक विश्वकप जित्ने दाउमा छ । सन् १९७५ र १९७९ मा दुईपटक लगातार विश्वकपको उपाधि जितेको वेस्टइन्डिजले त्यसपछिका कुनै पनि विश्वकप जित्न सकेको छैन । सन् १९८३ मा पहिलोपटक विश्वकपको उपाधि जितेको भारतले सन् १९११ मा दोस्रोपटक जितेको थियो । अहिलेसम्म पाँचवटा राष्ट्रले मात्र विश्वकपको उपाधि जित्न सफल भएकोमा पाकिस्तान र श्रीलंकाले एक–एकपटक विश्वकपलाई चुम्ने अवसर पाएका छन् । पाकिस्तानले सन् १९८२ र श्रीलंकाले सन् १९९६ मा विश्वकपको उपाधि जितेका थिए । विश्वकपको यो १२औँ संस्करण अब कसले हात पार्ला त्यो प्रतीक्षाको विषय बनेको छ ।
विश्वकप क्रिकेटको १२औँ संस्करणमा विश्वका १० टिमका एक सय ५० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यी विभिन्न राष्ट्रका एक सय ५० खेलाडीमा ८१ खेलाडीले पहिलोपटक विश्वकप डेब्यु गर्दै छन् । यी विश्वकपमा डेब्यु गर्ने ८१ खेलाडीमध्ये आठ खेलाडी यस्ता पनि छन् जसलाई १० वटा एकदिवसीय क्रिकेट खेलेको अनुभव पनि छैन । त्यस्तै टिम परेका पाँच खेलाडी यस्ता छन् जुन आफ्नो टिमको लागि ‘तुरूरुे एक्का’ साबित हुने अड्कल काटिएको छ । ती पाँच खेलाडीमा बलिङतर्फ अफगानिस्तानका रासिद खान, भारतका जसप्रीत बुमराह, अस्ट्रेलियाका एड्म जाम्बा, पाकिस्तानका इमाम–उल–हक र इंग्ल्यान्डका ब्याट्सम्यान बेन स्टोक्स रहेका छन् । त्यसैले यी खेलाडीहरू आफ्नो टिमको प्रमुख खेलाडीको रूपमा सामेल छन् । यतिबेला सबै दश टिमले विश्वकपका लागि आफ्नो १५ सदस्यीय टिमको घोषणा गरिसकेका छन् । उक्त टिममा प्रायजसो सबै टिमले युवा खेलाडीलाई विशेष प्राथमिकतामा राखेका छन् ।
अस्ट्रेलियाको तर्फबाट यो विश्वकपमा नौ युवा खेलाडीले डेब्यु गर्दै छन् । जसमा उस्मान ख्वाजा, सेन मार्स, मार्कस स्टोइनिस, झाए रिचर्डसन, एलेक्स केरी, नाथन कुल्टर नाइल, जेसन बेहरेनडोर्फ, एडम जाम्पा र नाथन लायन रहेका छन् । त्यस्तै, भारतले सात युवा खेलाडीलाई विश्वकपको मैदानमा उतारेको छ । जो पहिलोपटक विश्वकप खेल्नेछन् । दिनेश कार्तिक सन् २००७ मा विश्वकपमा छनोट भए पनि उनले एउटै पनि खेल खेल्न पाएका थिएनन् । यो विश्वकपमा भारतको तर्फबाट विजय शंकर, केदार जाधव, हार्दिक पाण्डे, लोकेश राहुल, कुलदीप यादव, जसप्रीत बुहराह र युजबेन्द्र चहल रहेका छन् । यसैगरी दाबेदार तथा आयोजक टिम इंग्ल्यान्डले आठ युवा खेलाडीलाई विश्वकपको मैदानमा उतार्ने निर्णय गरेको छ । यतिबेला एकदिवसीय क्रिकेटको शीर्ष स्थानमा रहेको इंग्ल्यान्डको तर्फबाट जेसन राय, जो डेन्ली, टम कुरेन, डेबिड विली, जानी बेयरस्टो, आदिल राशिद, लियाम प्लन्केट र मार्क वुडले पहिलोपटक विश्वकपमा डेब्यु गर्नेछन् । त्यस्तै वेस्टइन्डिजले विश्वकपको १२औँ संस्करणमा आफ्नो टिमबाट नौ खेलाडीलाई डेब्यु गर्दै छ । जसमा एविन लुइस, सिमरोन हेटमेयर, एस्ले नर्स, फावियन एलेन, कार्लोस ब्रेथवेट, निकोलस पुरन, साई होप, ओसाने थोमस र सेनन ग्रेबियल रहेका छन् ।
यसैगरी, न्युजिल्यान्डले पनि आठ युवा खेलाडीलाई विश्वकपमा डेब्यु गर्दै छ । ती खेलाडीमा कालिन डी ग्रेन्डहोप, कालिन मुनरो, जेम्स निसम, मिसेल सेन्टनर, टम ब्लेन्डेल, हेनरी निकोल्स, लक्की फग्र्युसन र इस सोढी रहेका छन् । त्यस्तै, पाकिस्तानले पनि यो विश्वकपमा १० युवा खेलाडीलाई डेब्यु गर्दै छ । जसमा फखर जमान, इमाम उल हक, बाबर आजम, आविद अलि, सादाब खान, फहिम अशरफ, इमाद वसिम, शाहिन आफ्रिदी, असन अली र मोहम्मद हुसेन छन् । त्यस्तै दक्षिण अफ्रिकाको तर्फबाट सात खेलाडीले विश्वकपमा डेब्यु गर्दै छन् । ती खेलाडीमा एडन मारक्रम, रेसी वान डेर डसेन, एन्दिले फेहलुकवायो, डवेन प्रिटोरियस, लुङ्गी एनगिडी, क्रिस मोरिस र तबरेज सम्सी रहेका छन् । त्यस्तै श्रीलंकाले यो विश्वकपमा सात युवा खेलाडीलाई उतारेको छ । पहिलो विश्वकप खेल्ने यी खेलाडीमा अविष्का फर्नान्डो, धनञ्जय डिसिल्वा, इसुरु उदाना, मिलिन्डा सिरिबर्धन, कुसल मेन्डिस, जेफरी वेन्डरसे र नुवान प्रदीप छन् । यसैगरी बंगलादेशले पनि सात नयाँ खेलाडीलाई विश्वकपमा स्थान दिएको छ । जसमा मोहम्मद सेफद्दीन, मुसादक हुसेन, मेहदी हसन, लिट्टन दास, मोहम्मद मिथुन, मुस्ताफिजु रहमान र अबु जाएद रहेका छन् । त्यस्तै, अफगानिस्तानले पनि यो विश्वकपमा सात नयाँ खेलाडीलाई उतार्दै छ । ती युवा खेलाडीमा मुजिब उर रहमान, रासिद खान, मोहम्मद सहजाद, रहमत साह, हसमतुल्लाह साहिदी, हजरतुल्लाह जजई र नूर अली जादराले पहिलोपटक विश्वकपमा डेब्यु गर्नेछन् ।
यसरी विश्वकपको यो १२औँ संस्करणमा अनुभवी र युवा खेलाडीबीच प्रतिस्पर्धा हुने कुरामा सोझै अनुमान लगाउन सकिन्छ । अब युवा खेलाडीले बाजी मार्छन् की अनुभवीले ? यो अहिले प्रतीक्षाको विषय बनेको छ । अनुभवी र युवा खेलाडीमध्ये कसले कति खेल खेल्न पाउँछन र कस्तो प्रदर्शन गर्छन् त्यसैमा क्रिकेट पण्डितहरूको नजर टेकेको छ । विश्वकपमा प्रतिस्पर्धा गर्न गइरहेका दश टिमले आफ्नो टिममा सातदेखि १० युवा खेलाडीलाई छनोेट गरेकोले यो विश्वकपमा युवा खेलाडी राम्रो अवसर पाउनेछन् । छनोट भएका १५ खेलाडीमध्ये ११ जना खेलाडी प्लेइङ सेटमा पर्ने भएकाले कम्तीमा पनि प्रत्येक टिमबाट चारदेखि पाँच खेलाडीले विश्वकपमा डेब्यु गर्ने अवसर पाउनेछन् । जुन युवा खेलाडीको लागि सुवर्ण अवसर बन्नेछ । यसरी यो विश्वकपमा युवा र अनुभवी खेलाडीबीचको रोचक भिडन्त हेर्न पाइनेछ ।
प्रतिक्रिया