राष्ट्रिय टीम तयारी समितिको निर्देशकमा ध्रुव गुरुङ

राष्ट्रिय टीम तयारी समितिको निर्देशकमा ध्रुव गुरुङ


राष्ट्रिय खेलकुद परिषदले तेक्वान्दोका पूर्व मुख्य प्रशिक्षक तथा राष्ट्रिय टीम तयारी समितिका उप–निर्देशक ध्रुवबहादुर गुरुङलाई निर्देशकको जिम्मेवारी दिएको छ ।

राखेपका सदस्यसचिव केशवकुमार विष्टले गुरुङलाई राष्ट्रिय टीम तथा तयारी समितिको जिम्मेवारी दिएका हुन् । आज (जेठ १६) नै गुरुङलाई निर्देशकको जिम्मेवारीको आधिकारिक पत्र दिइएको छ ।

पत्रमा जेठ १४ गते रिक्त भएको निर्देशकको पदमा समान पद तथा श्रेणी कायम रहनेगरी जेठ १७ गते बिहीबारदेखि राष्ट्रिय टीमको तयारी समितिको निर्देशकको जिम्मेवारी तोकिएको व्यहोरा उल्लेख गरिएको छ ।

त्यस्तै, राष्ट्रिय टीम तयारी समितिका निर्देशक अर्जुनबहादुर बिकलाई तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी दिइएको छ । बिकलाई पूर्व तालिम तथा प्रशिक्षण विभाग प्रमुख रिम रानाभाटको स्थानमा पदस्थापन गरिएको हो । रानाभाटले उमेर हदबन्दीका कारण जेठ १४ गते मंगलबार अवकास प्राप्त गरेका थिए ।