विमानस्थलको सुरक्षा अब रोबोटले गर्ने

विमानस्थलको सुरक्षा अब रोबोटले गर्ने


जापानको नारिता विमानस्थलमा सुरक्षाका लागि रोबोटको प्रयोग गरिने भएको छ ।

जापानको चिबा प्रिफेक्चरको छिमेकमा रहेको नारिता विमानस्थल मध्यटोकियोमा पर्दछ । यस विमानस्थलमा सुरक्षा प्रयोजनका लागि रोबोटको प्रयोग गरिने भएको अधिकारीहरूले जनाएका छन् ।

यस प्रयोजनका लागि चारवटा रोबोट परिचालन गरिनेछ । स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार ती रोबोट १.२० मिटर उचाइका छन् । ती रोबोटमा ३६० डिग्रीको हिसाबमा निगरानी गर्ने क्यामेरा जडान गरिनेछ । ती क्यामेराले सुरक्षाको राम्रो निगरानी राख्ने बताइएको छ ।

रोबोटबाट सुरक्षा निगरानी बढाइने यस प्रणाली यही जुन ३ तारिखबाट शुरुआत गरिने उक्त विमानस्थल प्रशासनले बिहीबार विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको हो ।

सन् २०२० मा जापानमा ओलम्पिक खेलकुद हुँदै छ । त्यस समयमा निकै धेरै विदेशीको आगमन हुने र सुरक्षाकर्मीको पनि आवश्यकता हुनेछ । त्यतिन्जेल पनि यस विमानस्थलमा रोबोटकै प्रयोग गरिने अधिकारीहरूले जानकारी दिएका छन् ।

विमानस्थल प्रशासनले दिएको जानकारीअनुसार उक्त विमानस्थलको टर्मिनल १ मा दुईवटा र टर्मिनल २ मा दुईवटा रोबोटको जडान गरिने जनाइएको छ ।
जापानले कामदारहरूको सङ्ख्या कटौती गर्ने नीति लिइरहेको छ । जसका कारण यसअघि पनि जापानका विभिन्न क्षेत्रमा र विशेष गरी सामान ढुवानी र यातायातमा रोबोटको प्रयोग गरिसकिएको छ ।

यसरी कामदार कटौतीको जापानी नीतिलाई अहिलेको रोबोटले पनि प्रवर्धन गर्ने अनुमान गरिएको पनि एक समाचारमा जनाइएको छ ।